राजनीति


चिनियाँ दूतावास भन्छ : भवन बनाएको क्षेत्र चीनकै हो, नेपालले थप प्रमाणीकरण गर्न सक्छ

चिनियाँ दूतावास भन्छ : भवन बनाएको क्षेत्र चीनकै हो, नेपालले थप प्रमाणीकरण गर्न सक्छ

नेपालखबर
असोज ७, २०७७ बुधबार २:८,

हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ।

दूतावासका प्रवक्ताले मंगलबार राति पठाएको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको दोहोर्‍याएकाे छ।

यस्तो छ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठ :

‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ। नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ। चीन र नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन्।’

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरी चिनियाँ पक्षसँग छलफल समेत गरेको थियो।

प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले त्यो क्षेत्रमा पुगेर चिनियाँ पक्षसँग छलफल गरेको तर दुवै पक्षले आआफ्नो भूभाग भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मंगलबार बिहान नेपालखबरलाई बताएका थिए।

‘चिनियाँ सेनाले नक्सा नै देखाएर त्यो भाग आफ्नो भएको दाबी गरेको थियो। नेपाली सेनाले पनि नक्सा देखाउँदै त्यो भाग नेपालमा पर्ने दाबी गरेको थियो। तर ११ नम्बर पिलर पत्ता नलागी प्रस्ट हुने अवस्था छैन’, अध्यक्ष तामाङले भने।

अध्यक्ष तामाङले अब ११ नम्बर पिलर खोज्ने र चिनियाँ पक्षसँग छलफल गर्ने काम राज्यको नेतृत्व तहले नै गर्नुपर्ने बताएका थिए।

मंगलबार रातीसम्म यसबारे नेपालको परराष्ट्र मन्त्रालयले केही बोलेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad