राजनीति


नेकपामा नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव: पहिले कति थियो, अब कति पाउलान्?

नेकपामा नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव: पहिले कति थियो, अब कति पाउलान्?

नेपालखबर
असोज ४, २०७७ आइतबार १२:३६,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय सदस्य तथा पूर्णकालीन कार्यकर्ताहरुलाई नियमित तलब दिने प्रस्ताव गरिएको छ।

पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा मासिक तलबको प्रस्ताव आएको हो।

नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी सदस्यहरुलाई नियमित आर्थिक सहयोग गर्नुपर्ने प्रस्ताव आएको जानकारी दिए।

तत्कालीन नेकपा–एमाले र माओवादी पार्टीबीच एकीकरण हुनुअघिसम्म पूर्व एमालेले आफ्ना केन्द्रीय सदस्य तथा पूर्णकालीन सदस्यहरुलाई पकेट खर्च भनी नियमित तलब दिने गरेको थियो।

एकीकरण अघिसम्म एमालेले केन्द्रीय सदस्यलाई १० हजार र स्थायी कमिटी सदस्यलाई १५ हजार रुपैया दिने गरेको थियो।

नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पकेट खर्चको रुपमा केन्द्रीय सदस्य र पूर्णकालीन सदस्यहरुलाई महिनावारी खर्च दिने चलन नयाँ नभएको बताए।

‘पार्टीले पकेट खर्चका लागि भनी नियमितरुपमा रकम दिने गरेको थियो। एकीकरण भएपछि त्यो रकम दिन रोकिएको छ,’ ज्ञवालीले भने, ‘यो पञ्चायतकाल देखिकै चलन हो। आर्थिक उपार्जनका पेशा व्यवसाय छाडेर पार्टीका लागि हिड्ने कार्यकर्तालाई यस्तो आर्थिक सहयोग गर्ने चलन हो। बहुदल आएपछि पनि यो निरन्तर रुपमा रह्यो।’

पूर्व माओवादीका नेता तथा अहिले केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले भने माओवादीतर्फ बिरामी पर्दा वा अन्य समस्या पर्दा सहयोग गरेको भएपनि मासिक खर्च भनेर नतोकिएको बताए।

‘नियमित रुपमा दिने चलन थिएन तर बिरामी हुँदा उपचार खर्च र अन्य आपतकालीन अवस्थाका लागि रकम दिने गरिएको थियो,’ ढकालले भने।

२०४६ सालमा बहुदल स्थापना हुने बित्तिकै तत्कालीन नेकपा–मालेले केन्द्रीय सदस्यहरुलाई मासिक एक हजार रुपैया दिने गरेको थियो।

त्यो क्रमश बढ्दै १० हजार रुपैया पुगेको हो।

एकीकरण नहुँदै एमालेमा मासिक रुपमा पार्टीले दिने रकम कम भएको विषय उठ्ने गरेको थियो।

एक सचिवालय सदस्यकाअनुसार बैठकमा कति दिने भन्ने विषयमा नतोकिए पनि अहिले दिँदै आएको भन्दा बढी नै रकम दिनुपर्छ भन्ने प्रस्ताव आएको बताए।

पार्टीहरुले सांसद तथा मन्त्रीसहित राजनीतिक नियुक्ति पाउने व्यक्तिहरुबाट नियमित रुपमा आम्दानीको निश्चित प्रतिशत रकम लेभीको रुपमा उठाउँदै आएको छ।

तत्कालीन एमालेमा सोलोडोलो सबैलाई नभै आवश्यक रहेका नेता तथा कार्यकर्तालाई रकम बढाएर दिनुपर्ने विषय पनि आएको थियो।

‘राजकीय पदमा गएर कमाउनेहरुको फरक कुरा होला। त्यो संख्या निकै कम छ तर अहिले पनि पार्टीबाट प्राप्त रकमबाट आफ्नो खर्च चलाउने पनि छन्,’ ज्ञवालीले भने।

नेकपामा अहिले ४ सय ४१ जना केन्द्रीय सदस्य छन् भने स्थायी समितिमा ४५ जना छन्। पार्टीले पोलिटब्युरो भने गठन गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad