कला


मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

नेपालखबर
असोज ४, २०७७ आइतबार १२:४४,

मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेखेको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।

विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो। मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए। तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए।

यसैगरी सभाले गत छ दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्‍याएवापत गायिका तथा संगीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ।

विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो। विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो।

यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो। सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad