श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने बताएका छन्।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताए।
त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उनले बताए। सुरुमा दैनिक ५ सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि ८ सय ल्याउने व्यवस्था गरिएको र त्यो संख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताए।
सोही अनुसार भदौ २६ गते ८ सय ३६ जना, भदौ २७ गते ८ सय ८० जना र भदौ २८ गते ८ सय ९० जना नेपालीलाई उद्दार गरी नेपाल ल्याइएको पनि मन्त्री यादवले बताए। उनले पहिलो प्राथमिकतामा कम्पनी बन्द हुन लागेका श्रमिकहरु जसलाई कम्पनीले नै टिकट दिएको छ उनीहरुलाई र रोजगारी गुमाएर बेखर्ची भई बसेकालाई ल्याउने व्यवस्था मिलाइएको बताए।
आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नव्यहोर्नेलाई घरसम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोककल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उनले बताए। देशभित्र बेरोजगार भई बसेका श्रमिकहरुको उद्दारका लागि कुनै तथ्यांक नहुँदा समस्या भएको पनि उनले बताए।
कोभिड सुरु भएसँगै राज्यले अर्बौं रुपैयाँको राहत वितरण गरेको तर त्यसको तथ्यांक नराखिएकाले अहिले फेरि समस्या आएको गुनासो मन्त्री यादवको छ। राहत वितरण गर्दा पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने हुँदा तथ्यांक नराखिएको हुनसक्ने बताए। यस्तो कुरा गर्नुपर्दा आफूलाई अप्ठेरो लगिरहेको गुनासो समेत मन्त्री यादवको छ।
बैठकमा सांसदहरुले विदेशमा अलपत्र परेका नेपालीहरुलाई छिटो भन्दा छिटो ल्याउन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रश्न गरेका थिए। सांसदहरुले अलपत्र व्यक्तिलाई ल्याउने समबन्धमा सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा विदेशमा काम गर्ने श्रमिकहरुले दुःख पाइरहेको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिनुपर्ने बताए।
समितिले विदेशमा अलपत्र सबै नेपाली श्रमिकलाई एक महिना भित्रै उद्दार गरी नेपाल ल्याइसक्ने व्यवस्था मिलाउन यादवलाई निर्देशन दिएको छ।

प्रतिक्रिया