राजनीति


देउवाले गठन गरेको विभागप्रति १२ नेताको आपत्ति, तत्काल खारेज गर्न माग

देउवाले गठन गरेको विभागप्रति १२ नेताको आपत्ति, तत्काल खारेज गर्न माग

नेपालखबर
साउन २७, २०७७ मंगलबार १०:४१,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको विभाग तत्काल खारेज गर्न १२ नेताहरुले माग गरेका छन्।

मंगलबार सयुंक्त विज्ञप्ति जारी गर्दै १२ युवा नेताले पार्टीका सबै तहको अधिवेशनको मिति तोकिसकेपछि भइरहेका यस्ता नियुक्तिले महाधिवेशनको आचारसंहिताको ठाडो उल्लङ्घन गरेकोले नयाँ नियुक्ति खारेज गर्न माग गरेका हुन्। नेताहरुले पार्टीको विभाग गठन कार्य तत्काल रोक्न समेत सभापति देउवाको ध्यानाकर्षण समेत गराएका छन्।

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले अवैध तरिकाले गठन गरिएको विभागहरुमा नबस्न पनि सबैलाई आह्वान गरेका छन्।

महाधिवेशनलाई प्रभावित पार्ने नियतले विभाग गठन गरिएको भन्दै ती युवाहरुले यसलाई असंवैधानिक कदमको संज्ञा समेत दिएका छन्।

तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको कार्यकालमा पदाधिकारी, समिति र विभाग गठनमा दुई वर्ष मात्र ढिलो हुँदा वर्तमान सभापति देउवाले नै असहमति जनाएकाले तत्कालीन निर्णय फिर्ता लिइएको तर अहिले भने कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी वैधानिक र उपयुक्त हुनसक्छन् भनेर युवा नेताहरुले प्रश्न गरेका छन्।

‘हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भव्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र? हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने? महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ’, नेताहरुले भनेका छन्।

सभापति देउवाले विवादास्पद र अवैधानिक कार्यहरु गरिरहेकाले महाधिवेशन निर्धारित समयमा हुनेमा र निष्पक्ष हुनेमा समेत उनीहरुले आशंका गरेका छन्।

‘अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हरप्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौँ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं’, वक्तव्यमा लेखिएको छ।

पार्टी सभापति विधानको संरक्षक र पालक हुनुका साथै व्यक्ति नभई संस्था भएकाले कांग्रेसको इतिहास, विरासत, परम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा सभापतिलाई नभएको वक्तव्यमा लेखिएको छ।

सभापति देउवाको व्यवहारले गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मूल्यमान्यताको विषयमा बहस गर्ने आफूहरुको नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको युवा नेताहरुको ठहर छ।

केही दिनअघि सभापति देउवाले सयौं जनालाई विभागहरुमा नियुक्त गरेका थिए।

याे पनि: 
देउवाद्वारा पार्टीका १२ विभागमा ४५७ जनालाई मनोनयन (सूचीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad