पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ स्थित सीता गुफानजिकै उखेलिएको अवस्थामा फेला परेको नेपाल -भारत सीमास्तभ पुनः गाडिएको छ।
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले आइतबार बिहान नेपालखबरलाई दिएको जानकारी अनुसार नेपाल र भारत दुवै पक्षका प्रहरी तथा स्थानीय जनप्रतिनिधि बसेर आइतबार राति ८ बजेतिर सीमा स्तम्भ पुनः गाडिएको हो।
त्यस क्रममा नेपाली र भारतीय नागरिकबीच झन्डै झडपको स्थिति आएको उनले बताए। ‘दुवैतर्फ दुई–तीन सय दुई–तीन सय मानिस जम्मा भएका थिए, ढुंगा हानाहान होलाजस्तो भइसकेको थियो,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले सुनाए, ‘तर यताको म (गाउँपालिका अध्यक्ष) र उता भारतको धमौरा पञ्चायतका प्रमुख रामबिहारी महतोले आआफ्नातर्फका मानिसलाई सम्झाईबुझाई गर्याै र झडप हुन दिएनौं।’
उनका अनुसार शनिबार दिउँसो २–३ बजेतिर पातलो खालको त्यो सीमास्तम्भ लडेको अवस्थामा फेला परेको थियो। ‘वर्षाले गर्दा त्यो पहिलेदेखि हल्लिएको अवस्थामा थियो,’ उनले भने, ‘कसले ठेलेर लडाइदियो थाहा भएन।’
त्यसपछि आइतबार राति दुवै पक्षका स्थानीय तह प्रमुख, सुरक्षाकर्मी र स्थानीयबीच बसेर छलफल गरिएकाे र सीमास्तम्भ पहिले जुन अवस्थामा थियो, त्यही अवस्थामा राख्ने सहमति भएकाे अध्यक्ष श्रेष्ठले बताए। नेपालखबरसँग उनले भने, ‘अनि खाल्डो खनेर सीमास्तम्भलाई पुनः गाड्यौं।’
याे पनि: रामको जन्मभूमि विवाद : सीता गुफा नजिकैको सीमा स्तम्भ उखेलियाे
Shares

प्रतिक्रिया