राजनीति


सीसीएमसीले भन्योः कोरोना नियन्त्रण सम्बन्धी हिसाब छिट्टै सार्वजनिक हुन्छ

सीसीएमसीले भन्योः कोरोना नियन्त्रण सम्बन्धी हिसाब छिट्टै सार्वजनिक हुन्छ

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १५:२६,

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले कोरोना उपचारमा सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक हुने बताएको छ।

सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको हो। समितिको बैठकपछि समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको वक्तव्य पढेर सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिन भित्रमै खर्चको हिसाब सार्वजनिक हुने बताए।

उनले भने, ‘कोरोनाको रोकथाम तथा नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न शिर्षकमा निकासा भएको छ। प्रदेश सरकार र स्थानीय तहहरुले पनि आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेका छन्। सरकारबाट समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने छ।’

मन्त्री ज्ञवालीले सरकारले पीसीआर परीक्षणलाई पनि बढाउने निर्णय गरेको जानकारी दिए। उनले दक्षिण एशियाका धेरै मुलुकहरुमा भन्दा नेपालमा सबेभन्दा बढी परीक्षण भएपनि संक्रमणदरलाई हेरेर परीक्षणको दायरा बढाउने निर्णय भएको बताए।

उनले भने, ‘हाल नेपालले गरिरहेको पीसीआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरुको भन्दा अधिक भएपनि सकरारले पीसीआर टेस्टको दायरा थप बढाउने निर्णय गरेको छ। ’

उनले क्वारेन्टिनको गुणस्तरमा समेत सुधार गर्दै जाने बताए। उनले भने, ‘एक महिना यता विदेशबाट नेपालीहरुको संख्या बढेर क्वारेन्टिनहरुको व्यवस्थापनमा केही समस्या देखिएको भएपनि तिनको निरन्तर सुधार गर्दै लैजान सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदछौं ।’

उनले पछिल्लो केही दिन यता विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको समेत बताए।

उनले भने, ‘आफ्ना मागहरु राखि शान्तिपूर्ण रुपमा उपस्थित हुुन पाउनु लोकतान्त्रिक अधिकरको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं।’

उनले शनिबार संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्र समेटिएको नक्सा नेपालको निशान छापमा प्रतिबिम्बित हुने गरी संविधान संशोधन हुने भएकाले सबैलाई एकजुट हुन समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad