राजनीति


भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौँः मन्त्री अर्याल

भूमि फिर्ताका लागि द्विपक्षीय वार्तालाई महत्व दिएका छौँः मन्त्री अर्याल

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १५:१८,

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हालै नेपाली नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको अतिक्रमित भूमिलाई फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समितिले जुम अनलाइनका माध्यमबाट आयोजना गरेको शिक्षक तालीमको आज समापन सत्रमा उनले सरकारले तथ्य र प्रमाणका आधारमा नक्सा जारी गरिसकेकाले भारतीय पक्षबाट भोगचलन भएको सो भूमिलाई फिर्ता ल्याएर नेपालको हो भनेर पूर्जासहित प्रमाणित गरिने स्पष्ट पारिन्।

कूटनीतिक र द्विपक्षीय वार्तालाई सरकारले महत्व दिएकाले वार्ताबाट नै समस्या समाधान गर्न सक्छौँ भन्ने दृढ विश्वासका साथ सरकार अघि बढेको मन्त्री अर्यालले बताइन्। कोरोनाका कारणले अन्य सबै क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि ठूलो असर पारेको बताउँदै मन्त्री अर्यालले विद्यमान अवस्थामा शिक्षक, विद्यार्थी र अभिभावकलाई जोड्नका लागि अनलाइन प्रविधि महत्वपूर्ण उल्लेख गरिन्।

हालको विषम परिस्थितिमा समेत इन्टरनेट साक्षरताले बढावा आएको बताउँदै उनले अध्ययन/अध्यापनमा सबैलाई जोड्न सकिने माध्यमको खोजीका लागि सरकारले शिक्षा मन्त्रालयमार्फत योजना बनाउने जानकारी दिइन्। बालबालिकालाई विद्यालयमा ल्याऔँ र पढाइमा टिकाउँ भन्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री अर्यालले सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाइने र सार्वजनिक विद्यालय सुधारका लागि विसं २०७६ देखि २०८५ सम्म सवलीकरण दशक शुरु गरिएको स्पष्ट पारिन्।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले सहकारी अर्थव्यवस्थालाई बलियो बनाउन माध्यमिक विद्यालय तहदेखिनै अर्थशास्त्रको प्राविधिक ज्ञान दिइनुपर्नेमा जोड दिए। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा जगमान गुरुङले संस्कार र संस्कृतिप्रति शिक्षकमा गहिरो अध्ययन आवश्यक पर्ने बताए।

संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले शिक्षकका अधिकार र हितका सवालमा जारी बन्दाबन्दीका अवधिमा समेत अनलाइनका माध्यमबाट शिक्षा मन्त्रालयसँग वकालत गरिरहेको उल्लेख गरे। उनले सूचना प्रविधिका बारेमा आधारभूत ज्ञान भएका शिक्षकको सर्टिफिकेशन गर्ने योजना रहेको सुनाए।

संगठनका गण्डकी प्रदेश अध्यक्ष राम पोखरेलले शिक्षकलाई बन्दाबन्दीमा समेत गुणस्तरीय शिक्षालगायतका विभिन्न विषयमा विषय विज्ञबाट सैद्धान्तिक ज्ञानसहित सूचना प्रविधिका माध्यमबाट विद्यार्थी र शिक्षकलाई कसरी जोड्न सकिन्छ भन्ने बारेमा चार दिनको तालीममा ज्ञान दिइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad