समाज


जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए

जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १५:५४,

बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २२ वर्षे युवा बालगोपाल कोहारलाई आज डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए।

भारतको मुम्बईमा विगत पाँच वर्षदेखि पेन्टरको काम गर्दै आएका कोहार जेठको पहिलोसाता स्वदेश फर्किएका थिए। उनी विगत लामो समयदेखि मधुमेहको बिरामी छन्। घर आएको केही दिनमै स्वास्थ्यमा समस्या देखिएपछि जिल्लास्थित तौलिहवा अस्पतालमा स्वास्थ्य जाचका लागि यही जेठ ७ गते पुगकामा अर्को दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय क्वारेन्टिनमै राख्दा स्वास्थ्य जटिल बन्दै गएपछि उनीलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको हो।

‘अस्पतालमा ल्याउँदा त सुगरको मात्रा उच्च रहेको र अवस्था सारै जटित थियो, हाम्रो स्वास्थ्यकर्मीको टिमले ठूलै प्रयास गरेर भेन्टिलेटरमा राखेर बचाउन सफल भयौँ’, डा खनालले भने, ‘कोरोना सङ्क्रमितको यति जटिल अवस्थाको बिरामी निको भएको सायदै नेपालमा पहिलो हो।’

कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले उनमा मधुमेहको मात्रा उच्च रहेको अवस्थामा कोरोना पोजेटिभ हुँदा स्वासप्रस्वासमै जटिल समस्या देखिएपछि दुई दिनसम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको बताए। स्वास्थ्यमा केही सुधार आएपछि मात्र आइसियूमा सारिएको थियो।

अस्पतालमा १६ दिनसम्मको उपचारमा सुगरको मात्रा स्थिर भएपछि लगातार दुई पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको मेसु खनालले बताए।

अस्पतालबाट निको भएर बिदाइ हुँदा बिरामी कोहारले आफूले नयाँ जीवन पाएको भन्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरे। उनलाई अस्पतालका मेसु खनाल, फोकल पर्सन डा थापालगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीले फूलका गुच्छा र खादा लगाएर बिदाइ गरेका थिए। त्यस अवसरमा स्वास्थ्यकर्मीले अझै पनि स्वास्थ्य अवस्थामा ख्याल राख्न सुझाव दिए। कोरोना नेगेटिभ भएपछि मधुमेहका बिरामीलाई अरुबाट पुनः सङ्क्रमणको खतरा हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन सुझाव दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad