राजनीति


‘सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ’

‘सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ’

नेपालखबर
असार २६, २०८३ शुक्रबार १४:५७, काठमाडौँ

गणेश नेपालीको मृत्युलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सरकारको आलोचना गरेका छन्। उनीहरूले मान्छेको ज्यानभन्दा सरकार जोगाउन आवश्यक नभएको बताएका छन्। 

रास्वपा सांसद गणेश कार्कीले सामाजिक सञ्जालमार्फत मान्छेलाई गाह्रो हुने नियम आवश्यक नभएको बताएका छन्। ‘नियम मान्छेका लागि हो। एउटा मान्छेले नियम नमान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको हो,’ कार्कीले भनेका छन्, ‘नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नुभन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढि मिहिनेत गर्नु पर्छ।’

उनले नियम कार्यान्वयनभन्दा मान्छेको ज्यान ठूलो हुने स्मरण गराएका छन्। रास्वपा कार्यकर्तालाई गणेशको मृत्युका विपक्षमा नबोल्न सचेत गराएका छन्। कार्कीले भनेका छन्, ‘प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल।’

त्यस्तै, रास्वपा सांसद रञ्जु दर्शनाले गणेश नेपाली आत्महद गर्ने अवस्थामा पुग्ने कारण खोजिनुपर्ने बताएकी छन्। ‘गणेश नेपाली आफैलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ,’ दर्शनाले भनेकी छन्। 

यस घटनाबाट अन्य युवालाई सहज हुने नीति बनाउनुपर्नेमा उनले जोड दिएकी छन्। ‘एक गणेशले त भौतिक रूपमै आफुलाई जलाए तर दैनिक मैले सकिन, मरौं कि क्या हो भन्ने सोच आउने लाखौं युवाको लागि जीवन केहि भए पनि सहज हुने नीति सरकारबाट चाहिन्छ,’ उनले भनेकी छन्। 

कुनै पनि मान्छेमा ‘मैले सकिन’ भन्ने अवस्था आउन नदिन सरकारले कदम चाल्नुपर्ने उनको भनाइ छ। यसका लागि आधारभूत आवश्यकता पूरा हुनुपर्ने उनले बताएकी छन्। 

‘मैले सकिन भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नु सम्म ठेले पछि यथार्थ बाट आएको हुन्छ,’ उनले भनेकी छन्, ‘मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होईन। जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको ठूलो सुरक्षा हुन्छ।’

सय दिनमा सबैलाई खुशी पार्न नसकिए पनि गरिब नागरिकलाई सरकारले हेर्नुपर्ने उनले स्मरण गराएकी छन्। ‘सबैलाई एकैपटक खुशी बनाउन पनि सकिँदैन तर पिँधमा रहेका श्रमजीवि, गरीबहरूको रोदन भने रोक्न सकिन्छ। सरकारको ध्यान जाओस्,’ दर्शनाले भनेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad