फिफा विश्वकप २०२६ करिब करिब उत्तरार्धतिर छ।
क्वार्टरफाइनल खेल सुरु भइसकेको छ। ४८ बाट छाँटिएर टोलीहरु ७ वटामा झरेका छन्। गएराति मात्रै मोरक्को जारी विश्वकपबाट बाहिरिने अर्को टोली बन्यो भने सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो फ्रान्स।
सेमिफाइनलको होड चलिरहँदा हारजितबाहेक अर्को दौड छ गोल्डेन बुटको। हरेक विश्वकपको सुरुवातमा नै गोल्डेन बुट कुन खेलाडीले जित्छन् भनेर चर्चा हुने गरेको छ।
यो पटक पनि सुरुवातमा नै अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एमबाप्पेलाई गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको थियो। अहिले ठ्याक्कै भएको पनि त्यस्तै छ।
क्वार्टरफाइनलका खेलहरु जारी रहँदा गोल्डेन बुटको दौड रोमाञ्चक बन्दै गएको छ।
विश्वकपको सुरुवातदेखि नै फ्रान्सेली कप्तान एमबाप्पे, अर्जेन्टिनी कप्तान मेस्सी र नर्वेका फरवार्ड एर्लिङ हालान्डबीच रोमाञ्चक स्पर्धा भइरहेको छ।
अहिलेसम्म एमबाप्पे र मेस्सीबीच तीव्र र रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। यी दुई स्टारबीच अहिले खेलमा जितको मात्र हैन गोलको पनि प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म एमबाप्पे र मेस्सी एकअर्कालाई उछिनाउछिनमा छन्।
गोल्डेन बुटको दौडमा अहिले एमबाप्पे शीर्ष स्थानमा छन्। समान ८ गोल गरे पनि उनको असिस्ट धेरै छ। उनी शीर्ष स्थानमा रहँदा मेस्सी दोस्रो स्थानमा छन्। एमबाप्पलेले ३ र मेस्सीले एक असिस्ट मात्र गरेका छन्।
यता नर्वेका हालान्ड ७ गोल गर्दै तेस्रो स्थानमा छन्। ६ गोल गरेका ह्यारी केन सर्वाधिक गोलकर्ताको सूचीमा चाँैथो स्थानमा छन्।
गोल्डेन बुटकै दौडमा फ्रान्सका ओसमान डेम्बेले पनि अन्य खेलाडीलाई पछ्याइरहेका छन्। विश्वकपमा ५ गोल गरेका डेम्बेले सर्वाधिक गोलकर्ताको सूचीम पाँचौँ स्थानमा छन्।
जारी विश्वकपमा उपाधि दाबेदार मानिएको स्पेन अपराजित रहे पनि स्कोरिङ लाइनमा भने केही कमजोर देखिएको छ। स्पेनमा फरवार्ड मिकेल ओयारजवाल ४ गोल र १ असिस्ट गर्दै गोलकर्ताको सूचीमा सातौँ स्थानमा छन्।
सेनेगलका स्माइल सार ४ गोल र एक असिस्ट गर्दै छैटौँ स्थानमा छन्। सेनेगल विश्वकपबाट बाहिरिएपछि उनी पनि गोल्डेन बुटको दौडबाट स्वतः बाहिरिएका छन्।
विश्वकप समापनको चरणमा लम्किँदा गोल्डेन बुटमा बाजी मार्ने खेलाडीको सूची पनि क्रमशः अनुमानयोग्य बन्दै गएको छ। तर विश्वकप फाइनलले नै यसको निर्क्योल गर्न सक्छ।
Shares

प्रतिक्रिया