राजनीति


सरकार नागरिकको जीवन रक्षाभन्दा सामाजिक सञ्जालमा व्यस्त छ: निश्कल राई

सरकार नागरिकको जीवन रक्षाभन्दा सामाजिक सञ्जालमा व्यस्त छ: निश्कल राई

नेपालखबर
असार २६, २०८३ शुक्रबार १७:५०, काठमाडौँ

नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको आरोप लगाएका छन्। 

शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि प्रश्न उठाए। मुगुका गणेश नेपालीको मृत्यु प्रकरणप्रति दुःख व्यक्त गर्दै सचेतक राईले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए। 

‘हामीले बनाउने नीतिले मध्यमवर्गीय र निमुखा नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने हेक्का नहुँदा आज यस्तो दुःखद् स्थिति सिर्जना भएको हो,’ राईले भने, ‘संसद्मा नीति निर्माण गर्दा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर आम नागरिकको हित हेर्न जरुरी छ।’

घटनापछि गृहमन्त्रीको सक्रियताप्रति टिप्पणी गर्दै राईले सरकारमा संवेदनशीलताको कमी देखिएको जिकिर गरे। ‘गृहमन्त्री पीडितकहाँ जानु सकारात्मक भए पनि युट्युबरहरू सँगै लिएर जाने र लाइभ गर्ने कार्यले उहाँको गम्भीरतामाथि प्रश्न उठाएको छ,’ राईले भने, ‘सरकार नागरिकको जीवन रक्षाभन्दा पनि सोसल मिडिया म्यानेजमेन्टमा बढी व्यस्त देखिएको छ।’

यातायात नियमावलीमा जरिवाना वृद्धिको तयारी भइरहेको चर्चाप्रति असन्तुष्टि जनाउँदै राईले पूर्वाधारको विकास नगरी जरिवाना मात्र बढाउनु अव्यावहारिक हुने बताए। एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्तावले विपन्न नागरिकलाई थप मारमा पार्ने उनको तर्क छ। 

राज्यले राजश्व संकलनका लागि प्रत्यक्ष कर र जरिवानालाई मात्र प्राथमिकता दिनुको साटो करको दायरा फराकिलो बनाउनुपर्ने उनले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad