प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाह घटनाले स्तब्ध बनाएको बताएका छन्।
मोटरसाइकलका विषयमा नगर प्रहरीसँग विवादपछि बिहीबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको उपचारका क्रममा आज बिहान वीर अस्पतालमा मृत्यु भएको हो।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको कांग्रेस सभापति थापाले उल्लेख गरेका छन्।
गणेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो। यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आआफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।’
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउन आग्रह गर्दै उनले हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्ने भएको बताएका छन्।
उनले अगाडि लेखेका छन्, ‘एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।’
Shares

प्रतिक्रिया