समाज


भेन्टिलेटरमा गणेशको २० घण्टा उपचार, चिकित्सक भन्छन्- दुई पटक सीपीआर दियौँ, बचाउन सकिएन

भेन्टिलेटरमा गणेशको २० घण्टा उपचार, चिकित्सक भन्छन्- दुई पटक सीपीआर दियौँ, बचाउन सकिएन

प्रज्ञा तिम्सिना
असार २६, २०८३ शुक्रबार १३:१६, काठमाडौँ

काठमाडौँको त्रिपुरेश्वरमा बिहीवार दिउँसो २ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ। 

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएर घाइते भएका गणेशलाई बिहीबार दिउँसो २ः२० बजे वीर अस्पताल पुर्‍याइएको थियो। उनको शरीरमा ५५ प्रतिशत जलन भएको थियो। 

वीर अस्तालका अनुसार, टाउको, अनुहार र छातीमा बढी जलन भएको थियो। जसका कारण अस्पताल पुग्दा नै उनको स्वासप्रश्वासमा असर हुन थालिसकेको थियो। त्यस्तै, शरीरमा सुगरको मात्रा बढेर ३१३ पुगिसकेको थियो।

चिकित्सकले अस्पताल पुगे लगतै शरीर चिस्याउने, सफा गर्नेलगायतका उपचार सुरु गरेको थिए। उनलाई ३ बजे सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। 

आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले गणेशको ‘इन्हेलेसन इन्जुरी’ पनि भएको उपचारमा संलग्न डा. पीयूष दाहालले बताए। ‘गणेश अस्पताल पुग्दा केही बोल्दै थिए। बोलिरहे पनि श्वासप्रश्वासमा समस्या हुन थालिसकेको थियो। अक्सिजनको मात्रा घटिसकेको थियो,’ डा. दाहालले भने। 
 
त्यसपछि गणेशलाई भेन्टिलेटरमा राखेर प्लास्टिक सर्जरी, एनेस्थेसिया, क्रिटिकल केयर मेडिसिनको टोली उपचारमा खटिएको थियो। ‘अवस्था चिन्ताजनक भएकाले सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ,’ डा. दाहालले नेपालखबरसँग भने ‘राति ८ बजेसम्म प्रथम चरणको शल्यक्रिया गरिसकेका थियौँ। । तर राति नै गणेशको स्वास्थ्य अवस्था खस्किसकेको थियो।’

उपचारकै क्रममा राति एक पटक उनको स्वास्थ्य जटिल अवस्थामा पुगेको डा. दाहालले बताए। उनलाई राति नै ‘कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर)’ दिइएको थियो। त्यस्तै, जीवनरक्षाको औषधि चलाइएको थियो। त्यो औषधि बिहानसम्म पनि चलाएको डा. दाहालले बताए। पहिलो पटकको सीपीआर गर्दा केही सुधार भएको थियो। 

गणेशको स्वास्थ्य शुक्रबार बिहान फेरि खस्किन थालेको थियो। चिकित्सकले पुनः सीपीआर दिएका थिए। तर, यस पटक बचाउँन सकेनन्। ‘बिहान फेरि सीपीआर दिएका थियौँ, तर बचाउन सकिएनँ,’ डा. दाहालले भने। 
गशेणको शुक्रबार ११ बजेर १९ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। 

भारतका चिकित्सकसँग परामर्श
गणेशको स्वास्थ्य अवस्था बुझ्न बिहीबार राती नै गृहमन्त्री सुदन गुरुङ वीर अस्पताल पुगेका थिए। उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए। 

डा. दाहालको टोलीले भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकसँग परामर्श गरेको थियो। गशेणलाई एम्स लैजाने सल्लाह भएको थियो। तर उनको स्वास्थ्य अवस्था झन खस्किदै गएका कारण चिकित्सक भारत लैजानबाट पछि हटेका थिए। 

‘बिहीबार रातिदेखि नै स्वास्थ्य अवस्था खस्किदै गएको थियो। सीपीआर नै दिनु परेको थियो। त्यस कारण तत्काल दिल्ली लैजानु जोखिमपूर्ण हुने देखेर त्यो निर्णय गर्नबाट पछि हटेका थियौँ,’ डा. दाहालले भने। 

भेन्टिलेटरमा भएको बिरामीलाई तत्काल लैजाँदा स्वास्थ्य अवस्था झन खस्किने जोखिम हुन्छ। त्यही भएर नै तत्काल भारत नलैजाने निर्णय गरेको उनले बताए। 

प्रायः जलनले अनुहार र श्वासप्रश्वासमा असर परेपछि बिरामीलाई बचाउँन निकै कठिन पर्छ। गणेशको पनि टाउको, छाती, अनुहारमा जलन थियो। जसले शरीरको भित्री भागलाई पनि असर गरेको थियो। 

के हो घटना?
राइड–सेयरिङ गर्दै आएका गणेश बिहीबार दिउँसो त्रिपुरेश्वर पुगेका थिए। त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि मोटरसाइकल अड्याएका थिए। तर, काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएको थियो। उनलाई एक हजार रुपैयाँ जरिवाना गरिएको थियो। 

त्यसलाई लिएर केहीबेर नगर प्रहरीसँग विवाद भएको थियो। नगर प्रहरीसँगको विवादकै क्रममा उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्की आगो लगाएका थिए।

त्यही वरपर रहेका प्रहरी र सर्वसाधारणले आगो निभाएका थिए। प्रहरीले उनलाई वीर अस्पताल पुर्‍याएको थियो। आज बिहान उनको उपचारका क्रममा ज्यान गएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad