साहित्य


कक्षाकोठा संवादले भरिएका, अर्थ–प्रवाहित र मानव उपस्थितिले ऊर्जाशील बन्नुपर्छ

कक्षाकोठा संवादले भरिएका, अर्थ–प्रवाहित र मानव उपस्थितिले ऊर्जाशील बन्नुपर्छ

मीनबहादुर विष्ट
असार २६, २०८३ शुक्रबार १४:४, काठमाडौँ

सञ्चारशास्त्री रघु मैनालीद्वारा लिखित ‘सञ्चारशील कक्षाकोठा : रूपान्तरणकारी पठन–पाठनको आधारशिला’ पुस्तक पढुन्जेल र पढिसकेपछि पनि मलाई ताजा हावाको झोक्काले छोएजस्तो अनुभव भइरह्यो, भइरहेको छ।

यो कृतिले शिक्षाशास्त्रको विस्तृत परम्परामाझ अर्को एउटा शिक्षण विधिका रूपमा मात्र होइन, प्रचलित सिकाइ विधि वा पद्धतिबारे सोच्न र शिक्षण क्रियाकलापको अस्तित्वगत आधारबारे नै पुनर्विचार गर्न आमन्त्रण गर्छ।

यसको गहिराइ विधिमा होइन, दृष्टिमा छ, यसको शक्ति समाधानमा होइन, प्रश्नमा छ। यतिखेर तपाईँको हातमा भएको यो पुस्तक न त सञ्चार प्रविधिहरूको कुनै प्राविधिक सूचीकरण हो, न सहभागितामूलक शिक्षणका नाममा शिक्षण संस्थाका कक्षाकोठाहरूमा हुने अन्तरक्रियाको सतही प्रदर्शनलाई महत्त्व दिने प्रस्तुति।

यो एक गहिरो बौद्धिक अन्वेषण हो, जसले सञ्चारलाई शिक्षणको व्याकरण तथा सिकाइको जीवनशक्तिको सह–निर्माणकर्ता ठान्दै शिक्षा स्वयं कसरी संवाद–निर्मित अस्तित्वगत प्रक्रिया हो भन्ने कुरा उजागर गर्छ।

यस पुस्तकको एउटा प्रमुख विशेषता के हो भने, सञ्चार कुनै एकल सिप होइन, यो त आपसमा गाँसिएका दक्षताहरूको समग्र संरचना हो। मौखिक सञ्चारले विचारलाई व्यवस्थित र बोधगम्य बनाउँछ, गैरमौखिक सञ्चारले (जस्तै स्वर, ताल, हाउभाउ र मुद्रा आदि) भावनात्मक अर्थ र सम्बन्धगत न्यानोपन व्यक्त गर्छ।

प्रतीकात्मक सञ्चारले सांस्कृतिक संकेतहरू र प्रासंगिक अर्थहरू खुलाउँछ, जसले विद्यार्थीले पाठ, शिक्षकको अपेक्षा र कक्षाकोठामा आफ्नो भूमिकालाई कसरी बुझ्छन् भन्ने कुरा निर्धारण गर्छ।

सम्बन्धगत सञ्चारले विश्वास, मनोवैज्ञानिक सुरक्षा र बौद्धिक साहसको वातावरण निर्माण गर्छ, जसको अभावमा कुनै पनि विद्यार्थीले जोखिम लिएर सिक्न सक्दैन। यी सबै तह मिलेर एक संवाद–सम्पन्न, अन्तरक्रियात्मक कक्षा बनाउँछन्, जहाँ विद्यार्थी ज्ञानको सह–निर्माणमा सहभागी बन्न सक्छन्।

कक्षाकोठा आफूभित्रै एउटा सम्पूर्ण संसार हो। जब शिक्षक र विद्यार्थी कक्षाकोठाको जीवित संसारभित्र प्रवेश गर्छन्, त्यहाँ वास्तवमा कुन प्रकारको मानवीय अनुभव जन्मिन्छ र त्यस अनुभवलाई हामी कस्तो स्वरूप दिन चाहन्छौँ जसबाट सिकाइ सहज र सम्भव बनोस्।

यो पुस्तकले के कुरा देखाउँछ भने कक्षाकोठा भौतिक संरचनाभन्दा पहिले एक संवादात्मक जगत् हो जहाँ आवाज, मौनता, संकेत, दृष्टि, आशा, त्रास, जिज्ञासा र व्याख्या निरन्तर एकअर्कासँग अन्तरक्रियामा रहन्छन्।

औपचारिक रूपमा शिक्षा प्रायः नीति, संरचना, व्यवस्थापन, पाठ्यक्रम, मूल्यांकन र अनुगमनको भाषामा बोलिन्छ, तर सिकाइको जीवात्मा भने कक्षाकोठामा हरेक क्षणमा घटिरहने संवादमै रहेको हुन्छ। त्यसैले के भन्ने गरिन्छ भने जब संवाद रहँदैन, धेरैजसो शिक्षा सुधारका योजनाको मृत्यु कक्षाकोठामा नै हुने गर्छ।

मानवले संसारलाई बुझ्ने प्रक्रिया शब्दबाट सुरु हुँदैन, किनभने शब्द त पछि आउने माध्यम मात्र हो। पहिलो चरणमा मानिसहरूले एकअर्काको उपस्थितिलाई महसुस गर्छन्, भावनालाई पढ्छन्, अनुभवलाई साझा गर्छन् र परस्पर चेतनाहरूबीच एक प्रकारको प्रतिध्वनि सिर्जना हुन्छ।

जन्मिँदा हामीसँग भाषा हुँदैन तर हामी चिनिन्छौँ र चिन्छौँ, आमाको स्वर, स्पर्श, दृष्टि, मुस्कान, तालमेल यी सबैले जगत्‌लाई बुझ्ने आधार बनाउँछन्। अर्थनिर्माण (कसैसँग मिलेर संसारलाई व्याख्या गर्ने प्रक्रिया) यही आपसी सम्बन्ध र स्वीकृतिबाट सुरु हुन्छ। भाषा त्यसपछि आउँछ, अर्थलाई आकार दिन, संरचना दिन, स्थिरता दिन।

यसैले शिक्षणको पहिलो आधार संवाद हो। संवाद भनेको शब्द साटासाट मात्र होइन, एकअर्कालाई सुन्ने, महसुस गर्ने, बुझ्ने र साझा अर्थ निर्माण गर्ने प्रक्रिया हो। जब शिक्षक–विद्यार्थीबीच यस्तो संवाद हुन्छ, ज्ञान ‘थोपर्ने’ होइन, दुवैले मिलेर अर्थ निर्माण गर्ने यात्रामा रूपान्तरण हुन्छ।

यदि संवाद छैन भने शिक्षा केवल नियम, समयतालिका, परीक्षा र प्रशासनिक संरचनामा सीमित बन्छ, व्यवस्थापन त हुन्छ, तर वास्तविक सिकाइ हुँदैन। संवादविनाको ज्ञान अन्ततः यान्त्रिक वा अर्थहीन बन्न पुग्छ।

संवादको अस्तित्वगत भूमिका
शिक्षणमा विषयवस्तु (सामग्री) र सञ्चारलाई छुट्ट्याउने प्रवृत्ति मूलतः शिक्षा–दर्शनको गहिरो सत्यलाई अस्वीकार गर्ने एक स्थूल सरलीकरण हो, किनकि ज्ञान कुनै निष्क्रिय वस्तु होइन, जसलाई शिक्षकले विद्यार्थीमा हस्तान्तरण गर्छन्।

ज्ञान त चेतनाहरूबीच उत्पन्न हुने अर्थ हो, र अर्थ सधैँ संवादको जीवित क्षणमै जन्मिन्छ, जहाँ दुई वा धेरै चेतनाहरू एकअर्कामा प्रतिध्वनित हुन्छन्, पारस्परिक मान्यता र सह–अस्तित्वको भित्रिँदो संवेदनामा बाँधिन्छन्।

त्यही संवादात्मक क्षणले ‘सिकाइ’लाई यान्त्रिक प्रक्रिया होइन, एउटा अस्तित्वगत घटना बनाउँछ। यो एक यस्तो घटना हो, जसले शिक्षक र विद्यार्थी दुवैलाई बदल्छ, नयाँ सम्भावनाको क्षितिज उघार्छ र ज्ञानलाई स्थिर संरचना होइन, निरन्तर पुनसिर्जन र सह–निर्माणको प्रक्रियाका रूपमा प्रत्यक्ष अनुभूत गराउँछ।

पाउलो फ्रेरेले के चेतावनी दिएका थिए भने शिक्षा संवादविहीन बन्दै जाँदा मानव स्वतन्त्र चेतनाबाट क्रमशः विच्छिन्न हुन्छ, किनकि शिक्षण उनको दृष्टिमा ‘मुक्तिदायी संवाद’ थियो। यो एक यस्तो प्रक्रिया हो जहाँ शिक्षक र विद्यार्थी दुवै अर्थका सह–निर्माता बनेर पुनर्मानवीकरणको यात्रामा सहभागी हुन्छन्। 

यस्तै, योगर्न हाबर्मासको सञ्चारशील कार्यले बुझाइलाई केवल जानकारी आदान–प्रदानको क्रिया होइन, बरु अन्तर–वैयक्तिक (परस्पर बोध) जगत् निर्माणको प्रक्रियाका रूपमा व्याख्या गर्छ। यो प्रक्रियामा सहभागीहरू तर्क, कारण र पारस्परिक सम्मानको आधारमा एकअर्कासँग सम्बन्धित हुँदै सत्यका दाबीहरू जाँच्छन्, सहमति निर्माण गर्छन् र सामाजिक तथा नैतिक जगत्‌लाई निरन्तर पुनःसंरचना गर्छन्।

यस पुस्तकले यी बौद्धिक परम्परालाई जटिल भाषिक वजनका माध्यमबाट होइन, सूक्ष्म तर गहिरो आत्मसात् र प्रस्तुतीकरणमार्फत उजागर गर्छ। पुस्तकले शिक्षा भन्ने क्रियालाई मूलतः संवादको घटनाका रूपमा देखाउँछ, जहाँ दुई चेतनाहरूको भेट केवल जानकारी आदान–प्रदान मात्र होइन, रूपान्तरणको सम्भावनामा रहन्छ। यस्तो भेटमा उत्पन्न संवादले शिक्षक र विद्यार्थी दुवैलाई बदल्छ, उनीहरूलाई नयाँ अर्थ, नयाँ दृष्टि र नयाँ मानवीय सम्भावनाको दिशातिर अघि बढाउँछ।

जीवनजगत्, व्याख्या र कक्षाकोठा
पुस्तकको अर्को गहिरो योगदान यसको जीवनजगत्‌को सूक्ष्म र संवेदनशील व्याख्या हो। कक्षामा उपस्थित विद्यार्थी शरीर मात्र होइनन्, उनीहरू आफ्ना व्यक्तिगत इतिहास, चाहना, त्रास, भावनात्मक छाप, पारिवारिक पृष्ठभूमि, भाषिक अभ्यास र सांस्कृतिक चिनारीहरूको ‘ब्यागेज’ लिएर प्रवेश गर्छन्।

यी अनुभव कति साझा हुन्छन् भन्ने कुरा कक्षामा संवादलाई कुन रूपमा सम्भव बनाइएको छ त्यस कुरामा निर्भर गर्दछ। सञ्चारलाई राम्रोसँग आत्मसात् नगरिएको, नदेखिएको, नबुझेको कक्षामा यी अनुभव सतही रूपमा प्रस्तुत हुन्छन्। देखिएको र मान्यता दिइएको कक्षामा संवाद गहिरिन थाल्छ र पूर्ण रूपमा बुझिएको वा परिपक्क संवादको अवस्थामा सिकाइ नै रूपान्तरणकारी प्रक्रियामा परिणत हुन्छ।

यसरी कक्षाकोठा सार्वजनिक स्थलका रूपमा उदय हुन्छ, जहाँ विद्यार्थी केवल पुस्तकका वाक्यहरूको अर्थ मात्र खोज्दैन, जीवनका वाक्य, आफ्ना र अरूका अनुभव बुझ्ने, जाँच्ने र पुनःसंरचना गर्ने अभ्यासमा प्रविष्ट हुन्छ। यही क्षणमा शिक्षा केवल शैक्षिक कार्य होइन, मानवीय प्रक्रिया बन्छ, चेतनाहरूको भेट, जगत्‌हरूको आदान–प्रदान र अर्थहरूको सह–निर्माण गरेको एउटा जीवित, विस्तारित जीवनजगत्।

हाबर्मासले प्रस्तुत गरेको ‘जीवनजगत्’ र ‘प्रणाली’ बीचको विभाजन शिक्षा सन्दर्भमा विशेष महत्त्व राख्छ। जीवनजगत् भन्नाले विद्यार्थी र शिक्षकले बोकेर ल्याउने साझा सांस्कृतिक अर्थ, अनुभव, भाषा र दैनिक जीवनका मूल्यलाई जनाउँछ जबकि प्रणाली भनेको विद्यालयले अवलम्बन गर्ने संस्थागत संरचना, नियम, पाठ्यक्रम, मूल्यांकन र प्रशासनिक अपेक्षाहरूको जटिल संसार हो। शिक्षकहरू यिनै दुई क्षेत्रको संगमविन्दुमा उभिन्छन्। एकातिर उनीहरूले विद्यार्थीका जीवन–अनुभव र सांस्कृतिक पृष्ठभूमिलाई कक्षाकोठाको अर्थ–निर्माणमा समाहित गर्नुपर्छ, अर्कोतिर तिनै अनुभवलाई नथिच्ने गरी पाठ्यक्रम र नीतिगत नियमहरू पूरा गर्नु आवश्यक हुन्छ।

यही ठाउँमा शिक्षकको संवाद–केन्द्रित भूमिका अत्यन्त महत्त्वपूर्ण बन्छ। संवाद, व्याख्या र सहभागिताका माध्यमबाट शिक्षकले प्रणाली र जीवनजगत्‌बीच पुल निर्माण गर्छन्, ताकि संस्थागत नियमको कठोरताले विद्यार्थीको वास्तविक आवाज र अनुभवमाथि प्रभुत्व नजमाओस्।

यसरी शिक्षकहरू शिक्षणलाई केवल ज्ञान–हस्तान्तरणको प्रक्रियामा सीमित नराखी, लोकतान्त्रिक संवाद, सह–अर्थनिर्माण र साझा बुझाइको रूपान्तरणकारी अभ्यासमा परिणत गर्छन्।

नेपालको सांस्कृतिक सन्दर्भमा यसको अर्थ
नेपालको शैक्षिक संस्कृतिमा ज्ञान प्रायः ‘स्थानान्तरण योग्य वस्तु’को रूपमा बुझिन्छ, जहाँ शिक्षक संरक्षक र अन्तिम व्याख्याकार मानिन्छन् र विद्यार्थी ग्राहक मात्र, प्रश्नकर्ता होइनन्। यस संरचनाले अनुशासन, सम्मान र परम्परागत मूल्यहरू सुनिश्चित गर्छ, तर सँगसँगै विद्यार्थीको आवाज, जिज्ञासा र आलोचनात्मक चेतनालाई दबाउने जोखिम पनि बोकेको हुन्छ।

यही परिप्रेक्ष्यमा यो पुस्तक नेपालका लागि विशेष महत्त्वपूर्ण बनेको छ। यसले परम्परालाई अस्वीकार नगरी, उच्चस्तरमा पुनर्व्याख्या गर्छ– शिक्षकप्रतिको सम्मान र विद्यार्थीको सक्रियता परस्पर विरोधी होइनन्, अनुशासन र जिज्ञासा सहअस्तित्वमा रहन सक्छन्, प्रश्नले ज्ञानलाई कमजोर पार्दैन, बरु त्यसलाई गहिरो बनाउँछ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुअनुभूतिको समाज हो। यहाँ संवाद केवल विधि होइन, सांस्कृतिक आवश्यकता हो। विद्यार्थीले आफ्ना जीवनजगत्, अनुभव, भाषा, परिवार र समुदायका कथाहरू कक्षामा ल्याउँछन्।

संवादयुक्त कक्षा ती कथाहरूलाई साझा अर्थ र गहिरो बुझाइमा रूपान्तरण गर्ने एउटा जीवित, धड्कनस्थल बन्न पुग्छन्। यस दृष्टिकोणअनुसार शिक्षाले व्यवस्थापन र सामग्री हस्तान्तरणमा मात्र सीमित नरही विद्यार्थी र शिक्षक दुवैको चेतना र अनुभवलाई सक्रिय बनाउने शक्ति राख्छ।

प्रविधि र एआईको युगमा संवादको स्थान
एआई (बौद्धिक कृत्रिमता) को प्रसारसँगै शिक्षण–शास्त्र र सञ्चारलाई नयाँ सन्दर्भमा हेर्न आवश्यक छ, किनकि एल्गोरिदमिक प्रणालीहरूको उदयले सिकाइ कसरी हुन्छ, कसले पढाउँछ र ‘बुझाइ’ भन्नाले के अर्थ राख्छ भन्ने पुराना धारणालाई नै चुनौती दिएको छ।

एआईले अध्यापनको अनुकरण गर्न सक्छ, विषयवस्तु वैयक्तीकरण गर्न सक्छ, छिटो प्रतिक्रिया दिन सक्छ, तर यस्तो ‘शिक्षण’ मूलतः प्रक्रियात्मक हुन्छ, सम्बन्धात्मक हुन सक्दैन। यसले ‘पैटर्न’ गणना गर्छ, अर्थको संसारमा वास गर्दैन।

यसैले मानव शिक्षणको महत्त्व झनै तीव्र हुन्छ। शिक्षक केवल सूचना–वाहक होइनन् उनीहरू व्याख्याकार, नैतिक मार्गदर्शक र विद्यार्थीसँग मिलेर अर्थ सह–निर्माण गर्ने सहभागी हुन्। शिक्षकको स्थान कुनै प्रविधिले लिन सक्दैन। यसरी हेर्दा एआई, शिक्षक र विद्यार्थी बीचको सम्बन्ध प्रतिस्थापनको होइन, पुनःसन्तुलनको हो।

यस परिदृश्यमा विद्यार्थीको भूमिका समेत रूपान्तरण हुँदै गएको छ। उनीहरूले अब एल्गोरिदमिक उत्तरहरू ग्रहण मात्र गर्ने होइन, तिनको आलोचनात्मक मूल्याङ्कन गर्ने, सन्दर्भको खोजी गर्ने र सिकाइको अर्थ आफैँ निर्माण गर्ने सक्रिय चेतनाका रूपमा उभिनुपर्ने हुन्छ।

अन्ततः, एआई नयाँ युगको शिक्षण प्रतिस्थापनको परियोजना होइन, यो सञ्चारलाई पुनर्परिकल्पना गर्ने प्रक्रिया हो, जहाँ प्रविधिले माध्यम विस्तार गर्न सक्छ, तर बुझाइको गहिराइ, मौनताको वजन र संवादको रूपान्तरणकारी शक्ति अझै पनि मानव अनुभवमै निहित रहन्छ। भविष्यको कक्षा प्रविधि–समृद्ध अवश्य हुनेछ, तर शिक्षणको केन्द्र मानिसकै चेतना, जिज्ञासा, संवेदना र संवादले नै निर्धारण गर्नेछ।

शिक्षण : एक संवादात्मक कला
यस पुस्तकले शिक्षणलाई केवल विधि, प्रविधि वा अभ्यासको समष्टि होइन, मानवीय अस्तित्वसँग गहिरोसँग गाँसिएको ‘अस्तित्वगत कला’का रूपमा प्रस्तुत गर्छ। यहाँ शिक्षकको प्रभाव शब्दमा सीमित हुँदैन।

शिक्षकको उपस्थितिमा निहित ऊर्जा, सहानुभूतिको सूक्ष्म स्पर्श, मौनताभित्रको अर्थ, अपेक्षामा अटल विश्वास र कक्षामा प्रत्येक क्षणलाई व्याख्या गर्ने संवेदनशीलताले सिकाइलाई आकार दिन्छ। यथार्थमा उत्कृष्ट शिक्षक अर्थ, अनुभूति र चेतनाको तहमा काम गर्ने व्याख्याकार हुन्।

उनी विद्यार्थीको बौद्धिक यात्रामा परीक्षक वा निर्देशक भएर होइन, सहयात्री भएर प्रवेश गर्छन्, जसले सिकाइलाई बाहिरी उद्देश्य प्राप्तिका लागि होइन, भित्री रूपान्तरणतर्फ मोडिदिन्छ।

कक्षामा सिकाइको गहिराइ त्यसवेला सम्भव हुन्छ जब शिक्षक–विद्यार्थीबीचको सम्बन्ध अनुशासन, अधिकार वा औपचारिक भूमिकाको संरचनाभन्दा पर, खुला संवाद, आपसी विश्वास र बौद्धिक सह–निर्माणमा आधारित हुन्छ।

यस्तो सम्बन्धमा शिक्षक संवादको उत्प्रेरक बन्छन् विद्यार्थी अर्थ–निर्माणको सक्रिय सहभागी बन्ने अवसर पाउँछन्। यही संवादात्मक क्षणमा सिकाइ केवल अनुशासन होइन, सक्रिय खोजको प्रक्रिया हो, केवल व्यवस्थापन होइन, अनुभव र अनुभूतिको गहिरो सञ्चार हो र पाठ्यवस्तुको यथावत् पुनरावृत्ति होइन, विद्यार्थीको चेतना र जिज्ञासालाई जगाउने बौद्धिक स्पर्श र मन्थन हो।

अन्त्यमा,
‘सञ्चारशील कक्षाकोठा’ केवल शिक्षाशास्त्रको सैद्धान्तिक पुस्तक होइन जहाँ शिक्षक र विद्यार्थीले संवाद र संवेदनशीलताका माध्यमद्वारा अर्थ र ज्ञानको जटिल सञ्जाललाई सम्झने प्रयास गर्छन्। यसले हामीलाई के स्मरण गराउँछ भने शिक्षण मानव चेतनाको मिलन प्रक्रिया हो जहाँ दुई वा दुईभन्दा बढी जीवनजगत्‌हरू संवादमार्फत साझा अर्थमा रूपान्तरित हुन्छन्।

यसको सन्देश सरल छ, तर गहिरो– जहाँ संवाद जीवित हुन्छ, त्यहाँ मात्र शिक्षा वास्तवमै जीवित हुन्छ। संवाद केवल शब्दको आदान–प्रदान होइन, यसले मौनता, उपस्थिति, भावनात्मक स्पष्टता र व्याख्यात्मक संवेदनशीलतासँग मिलेर सिकाइको जीवनशक्ति निर्माण गर्छ।

नेपाल जस्तो परिवर्तनशील, बहुभाषिक, बहुसांस्कृतिक र बहुआयामिक समाजमा यस्तो पुस्तक केवल विलासिता होइन यो आवश्यकतालाई सम्बोधन गर्ने कोसेढुंगा हो। यसले शिक्षक, विद्यार्थी र नीति–निर्मातालाई कक्षाकोठाको पुनःसंरचना गर्न, शिक्षणको परिभाषा पुनर्विचार गर्न र सिकाइलाई जीवन–अनुभूति र अर्थको रूपान्तरणको रूपमा पुनर्जीवित गर्न प्रेरित गर्छ। 

यो पुस्तक शैक्षिक इतिहासको एक महत्त्वपूर्ण क्षणमा आएको छ। समाजले प्राविधिक उथलपुथल, ध्रुवीकरण, सांस्कृतिक विखण्डन र शिक्षाप्रति परिवर्तनशील अपेक्षाहरू जस्ता चुनौतीसँग जुधिरहेको वेला, विद्यालयहरूले आफ्ना सिकारुलाई जटिलतासँग सामना गर्न, भिन्नताहरू छिचोलेर सहकार्य गर्न र वरपरको संसारबारे आलोचनात्मक दृष्टिकोण विकास गर्न सक्षम बनाउनुपर्छ।

यी दक्षताको विकास निष्क्रिय सिकाइबाट हुँदैन, त्यसका लागि संवादात्मक चिन्तन, अन्वेषण र अन्तरक्रियात्मक संलग्नता आवश्यक पर्छ। यसैले, यो पुस्तकले शैक्षिक योगदान मात्र पुर्‍याउँदैन, शिक्षाको भविष्यका लागि समेत स्पष्ट मार्गचित्र प्रस्तुत गर्छ।

यस पुस्तकले मलाई पारेको प्रभावलाई ध्यानमा राख्दै म के कुरामा आशावादी छु भने, आगामी वर्षमा नेपाली कक्षाहरू – जुनसुकै तहमा किन नहुन् – केवल ज्ञानको भण्डार होइन, संवादले भरिएका, अर्थ–प्रवाहित र मानव उपस्थितिले ऊर्जाशील बनेका जीवन्त स्थलका रूपमा उभिनेछन्। शिक्षक र विद्यार्थी समान रूपले अर्थ–निर्माणका सह–सहभागी बनून् र सिकाइ आफैँ एक साझा, संवेदनशील र रूपान्तरणकारी अनुभव बन्न पुगोस्।

यो पुस्तकबाट प्रत्येक शिक्षक र प्राध्यापकले लाभ लिनुपर्छ र शिक्षक प्रशिक्षणको अभिभारा लिएका संस्थाहरूले सबै भावी शिक्षकलाई संवादात्मक शिक्षाशास्त्रमा दक्ष शिक्षक बन्नुको अर्थ के हो भन्ने कुराबारे अवश्य परिचित गराउनुपर्छ।

यस पुस्तकलाई परिचय गराउन पाउँदा म लेखकको बौद्धिकता र श्रमप्रति सम्मान र भविष्यका कक्षाहरूको सम्भावनाप्रति आशावाद दुवै प्रकट गर्न चाहन्छु।

(डा. मीनबहादुर विष्ट, त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायका सेवा–निवृत्त प्राध्यापक हुन्। सिकाइ समूहद्वारा प्रकाशित, शुक्रबार विमोचन हुन लागेको पुस्तक ‘सञ्चारशील कक्षाकोठा : रूपान्तरणकारी पठन–पाठनको आधारशिला’ बाट।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad