शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दिएका छन्।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन्।
उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए। ‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु। पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने।
शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रास्वपाका नेता पोखरेल काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद छन्।
उनी हाल सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन्। पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहका सल्लाहकारका रूपमा काम गरेका थिए।
रास्वपाको महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ।
Shares

प्रतिक्रिया