सरकारले श्रमिकलाई न्युनतम ज्याला नदिने रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिने रोजगारदातालाई सरकारले कडा कारबाही गर्ने बताए। बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै सचिव डा. काफ्लेले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी सरकारले मापदण्ड नै बनाएको उल्लेख गरे।
‘न्युनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्दछ। त्यसैले नेपाल सरकारले न्युनतम ज्यालाको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको कानून विपरित हुन्छ’ उनले भने, ‘त्यसमा कानुनका विभिन्न बुँदाहरु आकर्षित हुने सम्भावनाहरु हुन्छ।’
श्रमिकको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम भइरहेको उनको भनाइ थियो। शारीरिक र मानसिक रुपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आवद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिए।
‘एउटा श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्दछ। उसले श्रममा रहुन्जेलसम्म पनि आफनो व्यवसाय, आफनो श्रमको सुरक्षा, व्यवसायको सुरक्षाको कुरा हुन्छ,’ उनले भने, ‘आफनो जीवन पछि पनि त्यो श्रमबाट ऊ बाहिर निस्कीसकेपछि अथवा शारीरिक र मानसिक हिसावमा थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि ऊसको जीवन रक्षाका लागि श्रममा आवद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ।’
सचिव काफ्लेले श्रमका लागि बाहिर गएका नागरिकको पनि मानव अधिकार हनन हुन नदिन सरकार प्रतिवद्ध भएर लागि परेको बताए।
Shares

प्रतिक्रिया