राजनीति


सहकारीमाथि सरकारको निगरानी, कार्ययोजना कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई पत्राचार

सहकारीमाथि सरकारको निगरानी, कार्ययोजना कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई पत्राचार

नेपालखबर
असार ४, २०८३ बिहिबार १८:१५, काठमाडौँ

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका समस्या समाधानका लागि १० बुँदे कार्ययोजना ल्याएको छ। सहकारी देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न कार्ययोजना ल्याएको हो। 

मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरूलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरेको छ। मन्त्रालयका अनुसार देशभर कानुनविपरीत सञ्चालन भएका सहकारी संस्थामाथि निगरानी बढाउन तथा निष्क्रिय सहकारीहरूको वास्तविक अवस्था पहिचान गर्न कार्ययोजना ल्याइएको बताएको छ। 

सबै सहकारी संस्थालाई अनिवार्यरूपमा कोपोमिस प्रणालीमा आबद्ध गराइने र सहकारी ऐनअनुसार संस्थाहरूको विवरण तथा अभिलेख अद्यावधिक गर्ने कामलाई तीव्रता दिइने कार्ययोजनामा उल्लेख छ। 

मन्त्रालयले दुई वर्षभन्दा बढी समयदेखि साधारण सभा नगरेका, लेखापरीक्षण नगरेका तथा कोपोमिसमा आबद्ध नभएका सहकारी संस्थाको नामावली तयार गरी विस्तृत विवरण संकलन गर्न समेत निर्देशन दिएको छ। यसबाट निष्क्रिय तथा जोखिमयुक्त सहकारी संस्थाको पहिचान गरी आवश्यक कारबाहीको बाटो खुल्ने मन्त्रालयको भनाइ छ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले वित्तीय कारोबार सञ्चालनका लागि आवश्यक इजाजतपत्र प्राप्त गरे/नगरेको यकिन गर्न तथा त्यसका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँग समन्वय गर्न पनि मन्त्रालयले भनेको छ।

अनुगमनपछि जारी भएका आदेश, निर्देशन, जरिबाना तथा अन्य कारबाहीको अभिलेख अद्यावधिक राख्ने, वित्तीय जोखिम देखिएका संस्थामाथि थप निगरानी तथा सुपरीवेक्षण गर्ने व्यवस्था पनि कार्ययोजनामा समावेश गरिएको छ।

यस्तै सहकारी प्रशासन, दर्ता, नियमन, अनुगमन तथा खारेजी प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी सुधारका लागि प्रदेश र स्थानीय तहबाट सुझाव मागिएको छ। मन्त्रालयले १५ दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad