त्यतिबेला नेपालमा डिपार्टमेन्ट स्टोरको संस्कृति भर्खर बामे सर्न थाल्दै थियो। काठमाडौँ, पोखरालगायत सीमित सहरमा भाटभटेनी, ब्लुबर्ड, सेलवेजजस्ता सुपरस्टोर खुलेका थिए। तर, ती स्टोरमा पनि कम्प्युटराइज्ड बिलिङ थिएनन्।
त्यही अभाव पूर्ति गर्ने सपना देखे राजेन्द्र शाक्य र सगुनबहादुर ताम्राकारले। र, २६ वर्षअघि दुई वटा साना कोठामा दुई वटा पुराना डेस्कटप कम्प्युटर राखेर सुरु गरे– आईएमएस सफ्टवेयर।

कसैले कम्प्युटराइज्ड बिलिङ नदेखेको त्यो समयमा सफ्टेवयर निर्माण गर्दा चल्ने हो कि होइन, कसरी अघि बढ्ने भन्ने संस्थापकहरूले समेत भेउ पाएका थिएनन्। कलिला युवाहरूले बनाएको सफ्टेवयर किनेर व्यवसायीले बिल काट्छन् भन्ने कल्पना सायदै कसैले गरेको थियो।
तर, एकातिर विदेशी पर्यटकहरू क्रमशः बढ्नु, अर्कोतिर प्रविधिको तीव्र विकाससँगै नेपालमा सुपरस्टोर संस्कृति मौलाउनु आईएमएस सफ्टवेयरका लागि वरदान साबित भयो। सबैभन्दा सुरुमा पोखराको सेलवेज आईएमएसको बिलिङ सोलुसन जोड्न सहमत भयो।
‘बार कोडले बिलिङ गर्ने भनेर मान्छेहरू हेर्नै आउँथे। गाउँबाटै मान्छेहरू कम्प्युटरले बिल काट्छ भनेर लाइन लागेरै हेर्न आउँथे। यस्तो अवस्थाबाट हामीले आईएमएस सफ्टवेयर सुरु गरेका थियौँ। एकदमै सानो सुरुआत थियो। हामीलाई थाहै थिएन, सफ्टवेयर चल्छ कि चल्दैन। कसरी अघि बढ्ने पनि थाहा थिएन,’ आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले भने।
तर, आज आईएमएस नेपालका नाम चलेकादेखि विदेशसम्मका दसौँ हजार स्टोरहरूमा प्रयोग हुन्छ।

‘फिंगरप्रिन्ट ज्यान गए दिन्नँ भन्थे’
बिलिङ सफ्टवेयर बेच्ने भन्दै जोसिएको आईएमएसको टोली विद्युतीय हाजिरीतिर पनि मोडियो। यसले उनीहरूको व्यवसायलाई ह्वात्तै माथि ल्याइदियो। किनकि दुवैखाले सफ्टवेयर निर्माण गरिदिन चौतर्फी माग आयो।
त्यो बेला नेपालमा फिंगरप्रिन्ट डिभाइस पनि थिएन। आईएमएसका संस्थापकहरूले पनि यसबारे सुनेका मात्रै थिए।
‘म बेलायत पढेर नेपाल आएको हुँ। मलाई इलेक्ट्रोनिक अटेन्डेन्सबारे थाहा थियो। तर, डिभाइस कहाँबाट ल्याउनेदेखि अरु केही थाहा थिएन,’ सन्तोषले सम्झिए।
यो सफ्टवेयरले कम्पनीको आत्मविश्वासदेखि व्यापार समेत उकास्न निकै मद्दत गर्यो। हाजिरीबारे सोधीखोजी धेरै हुन थालेपछि आईएमएसले कोरियाबाट पहिलोपटक फिंगरप्रिन्ट डिभाइस नेपाल झिकाएको थियो। त्यसपछि डिभाइसलाई सफ्टवेयरमा इन्टिग्रेट गर्ने काम भयो। त्यो काम आईएमएस सफ्टवेयरका अर्का सहसंस्थापक अमितलाल जोशीले गरेका थिए।
सफ्टवेयर त आईएमएस आफैँले बनाइसकेको थियो। तर, इन्टिग्रेसन गर्ने काम चुनौतीपूर्ण थियो। आईएमएसको डेभलपर टिमले करिब ९ महिना इन्टिग्रेसनमा काम गरेको थियो। तर, चुनौती यतिमा मात्रै रोकिएन। मान्छेहरूले अटेन्डेन्स मेसिनका लागि चाहिने फिंगरप्रिन्ट दिनै आनाकानी गरे।
‘अहिले छ्यापछ्याप्ती जता पनि यो डिभाइस देखिन्छ नि, पहिला कहाँ त्यस्तो थियो र!’ सन्तोषले थपे, ‘मान्छेहरू फिंगरप्रिन्ट नै दिन नमान्ने। मैले आफू पढेको स्कुलमा यो डिभाइस जोड्न गएँ। मलाई एकजना नेपाली पढाउने शिक्षकले म ज्यान गए पनि फिंगरप्रिन्ट दिन्नँ भन्नुभएको थियो। ल्याप्चेप्रतिको मनोविज्ञान त्यस्तो थियो।’

आईएमएसले पहिलो क्लाइन्टको रूपमा सीता एयरलाई अटेन्डेन्स डिभाइससहित सफ्टवेयर इन्टिग्रेसन गरेर बेचेको थियो। त्यसपछि सीताराम डेरी, इसिता ट्रेडिङलगायतले चलाएका थिए। यो सँगै कम्पनी आफैँले र समयक्रमले प्रयोगकर्तालाई त्यसमा अभ्यस्त बनाउँदै लग्यो। त्यो समयमा अटेन्डेन्सको माग र आवश्यकता बढी भएकाले त्यो बढी बिक्थ्यो। डिपार्टमेन्ट स्टोर निकै कम भएकाले बिलिङ सोलुसनको बिक्री र माग न्यून थियो।
सन् २००६ तिरको कुरा हो। भेस्पर हाउस रेस्टुरेन्टका सञ्चालकहरूले सन्तोषलाई बारम्बार रेस्टुरेन्टको सफ्टवेयर चाहियो भनिरहन्थे। त्यसपछि आईएमएसले पहिलोपटक रेस्टुरेन्टसम्बन्धी सफ्टवेयर भेस्परको चाहनामा तयार गर्यो।
‘हामी एकदमै विस्तारै अघि बढ्यौँ। सिनेमामा जस्तो आज सफ्टवेयर बनायो, भोलि करोडपति हुने कुरा भएन। हामी एकपछि अर्को कदम चाल्दै अघि बढ्दै आयौँ। कछुवाको चालमा एउटा क्लाइन्टको आवश्यकता पूरा गर्यौँ। त्यतिबेला एउटा क्लाइन्टको आवश्यता पूरा गर्न ६–७ महिना कुरा गर्यो, फेरि कुरा फेर्ने हुन्थ्यो। अहिले महिनामा लगभग ५०–६० नयाँ क्लाइन्टसँग डिल गर्छौं,’ सन्तोषले भने।
सन् २००८ मा आएर आईएमएसले आफ्नो बिलिङ सफ्टवेयरको यात्रामा मुख्य माइलस्टोन हात पार्यो। यसपछि आईएमएसले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेको छैन। भाटभटेनीमा आईएमएसको बिलिङ सफ्टवेयर प्रयोग हुन थालेपछि यसले कम्पनीको यात्रामा नयाँ ढोका खोलिदिएको थियो।

सन्तोषबाहेकका अरु सबै सहसंस्थापकहरू प्रडक्ट बनाउँछन् भने उनी बिक्रीमा पोख्त छन्। सन्तोष र अर्का सहसंस्थापक अमितलाल त आईएमएसमा कर्मचारीको रूपमा भित्रिएका थिए। सन्तोष सेल्स एक्जिक्युटिभ र अमितलाल जुनियर डेभलपरका रूपमा छिरेका थिए। उनीहरूको काम र लगनशीलतालाई देखेर सगुनबहादुर र राजेन्द्रले कम्पनीको हिस्सा दिएर बोर्डमा भित्र्याएका थिए। पछि अमिर श्रेष्ठ पनि बोर्डमा भित्रिए।
हाल आईएमएसमा काम गर्नेमध्ये जेनजी धेरै छना् २५ देखि २८ वर्षका कर्मचारीको बाहुल्य छ। ४० जना डेभलपरसहित अरु सबै क्षेत्र गरेर आईएमएससँग १५० बढी कर्मचारी छन्।

भाटभटेनीदेखि मलेसियाको १८० स्टोरमा आईएमएस
मीनबहादुर गुरुङको भाटभटेनीमा आफ्नो प्ल्याटफर्म प्रयोग हुनुमा भाग्यसँगै नेटवर्किङले काम गरेको सन्तोषको भनाइ छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानुदत्त पौडेल कुनै समय सेलवेजमा थिए। सेलवेजले आईएमएसकै सफ्टवेयर प्रयोग गर्थ्यो। सेलवेज छाडेर पौडेल भाटभटेनी गए।
त्यसपछि पौडेलले आईएमएसलाई बोलाएर बिलिङ सफ्टवेयर बारे चासो राखेका थिए।
‘पानु दाइले हामीलाई बोलाउनु भयो। भाटभटेनीले महाराजगञ्जमा शाखा खोल्दै थियो। पानु दाइसँग पहिल्यै सेलवेजमा काम गरिसकेको भएर उहाँलाई हामीप्रति विश्वास थियो। त्यसपछि हामीले सोलुसन बनाएर सञ्चालनमा ल्यायौँ। अहिले भाटभटेनीका सबै आउटलेटमा आईएमएसकै बिलिङ सफ्टवेयर प्रयोग हुन्छ। कडा मेहनत र भाग्यसँगे नेटवर्किङले काम गर्यो,’ सन्तोषले भने।

डिपार्टमेन्ट स्टोरको बिलिङ सफ्टवेयरमा त्यो बेला अर्याल ब्रदर्सको सोलुसन पनि चलेको थियो। सबै स्टोरमा अर्याल ब्रदर्सकै सफ्टवेयर प्रयोग हुन्थ्यो। उसको वर्चस्वलाई तोड्दै सुपरस्टोर बिलिङ सोलुसनमा आईएमएस हाबी भयो।
आईएमएसले करिब दुई महिनामै भाटभटेनीलाई चाहिने बिलिङ सफ्टवेयर तयार गरेको थियो।
‘त्यतिबेलासम्म हामी धेरै परिष्कृत भइसकेका थियौँ। करिब ३०० जना क्लाइन्टले हाम्रो सफ्टवेयर चलाउन थालिसक्नु भएको थियो। अनुभवदेखि टिम बलियो भइसकेको थियो। त्यतिबेला १९ जनाको टिम बनिसकेको थियो, कम्पनीको सुरुआतमा त जम्मा चारजना न थियौँ,’ सन्तोषले भने।

भाटभटेनीले बिलिङ सफ्टवेयर चलाउन थालेपछि आईएमएस केके मार्टमा पनि प्रवेश गर्यो। केके मार्टको सहायतामा आईएमएस सफ्टवेयर मलेसियासम्म पुगेको हो।
साना स्टोरहरू छन्, मलेसिया आउनुपर्यो भनेपछि आईएमएसको टिम त्यहाँ पुगेको थियो। मलेसियामा भ्याट लगाउने विषय भर्खरै कार्यान्वयनमा आएको थियो। नेपालमा भ्याटसहितको बिलिङ सिस्टममा काम गरिसकेकाले आईएमएसलाई गाह्रो परेन।
‘नेपालबाट म र राजेन्द्र दाइ मलेसिया जाँदा ३–४ वटा स्टोर होला भन्ने लागेको थियो। तर, त्यहाँ पुगेर सोध्दा त १८० वटा भन्ने थाहा भयो। त्यो सुन्नेबित्तिकै म त हिसाबकिताब गर्न थालिहालेँ, त्यत्रो १८० स्टोरमा सफ्टवेयर राख्नुपर्छ भनेर। म राजेन्द्र दाइको मुख हेर्ने, वहाँ मेरो मुख हेर्ने। त्यहाँ जानेबेलासम्म पनि सफ्टवेयर तयार नै भएको थिएन। अन्तर्राष्ट्रिय बजारमा जान हाम्रो सफ्टवेयर तयार नै थिएन,’ सन्तोषले भने।
हाल आईएमएसका डेभलपमेन्ट र सपोर्टतर्फका निर्देशक एवम् सहसंस्थापक राजेन्द्र शाक्य एक महिना मलेसिया बसेर सफ्टवेयर निर्माण गरेका थिए। सन् २०१५ मा आईएमएसले मलेसियाको लागि बिलिङ सोलुसन रोलआउट गरेको थियो। सबै १८० हाराहारी स्टोरमा बिलिङ सफ्टवेयर सञ्चालनमा ल्याउन झण्डै एक वर्ष लागेको थियो।

पतञ्जलीका ४० हजार आउटलेटमा नेपाली सफ्टवेयर
योगगुरु रामदेव र बालकृष्णको प्रख्यात आयुर्वेदिक ब्रान्ड पतञ्जलीले पनि नेपाली सफ्टवेयर आईएमएसकै प्रडक्ट प्रयोग गर्छ। नेपालमा पतञ्जलीले आफ्नो आउटलेट खोल्न लागेकाले त्यहाँ सफ्टवेयर प्रयोग गर्ने विषयमा छलफल हुँदै थियो। आईएमएसको तर्फबाट सगुनबहादुर र राजेन्द्र पतञ्जलीसँग डिल गर्न गएका थिए। तर, फर्किंदा उनीहरूले नेपालको मात्र नभएर पतञ्जलीको भारतको पनि आउटलेटको काम लिएर आए।
पतञ्जलीको अहिले पनि करिब ४० हजार आउटलेट छन्। त्यहाँ अहिले पनि आईएमएसको सफ्टवेयर प्रयोग भइरहेको छ।
‘ठ्याक्कै कोरोना आयो। त्यतिबेला धेरै कम्पनीले कर्मचारी निकालिरहेको थियो। हामी मान्छे लिइरहेका थियौँ। किनभने काम धेरै थियो। कोरोनाअघि ८० देखि ८५ जना थियौँ। तर, कोरोना साम्य भएपछि अफिस फर्किंदा त उभिने ठाउँ पनि थिएन। १५० जनाको टिम भइसकेको रहेछ। पतञ्जलीको कामकै कारण पनि कर्मचारी बढाउन सक्यौँ,’ सन्तोषले भने।
पतञ्जलीपछि आईएमएसले नेपालको नेस्लेमार्फत नयाँ सफ्टवेयर प्रडक्ट विकास गर्यो। नेपालको नेस्लेले आईएमएसकै डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम चलाइरहेको छ। नेपालमा नाम चलेका ब्रान्डहरू नेस्लेसहित डाबर नेपाल, गोर्खा ब्रुअरी, यती ब्रुअरी, जावलाखेल ग्रूप अफ इन्डस्ट्रिज, हिमालयन डिस्टिलरी, सरस बेभरेज, नेपाल ओभरसिज लगायतमा आईएमएसकै सफ्टवेयर चलिरहेको सन्तोषले जानकारी दिए।
आईएमएसको रेस्टुरेन्टसम्बन्धी सफ्टवेयरलाई परिस्कृत गराउन हिमालयन जाभाले ठूलो भूमिका खेल्यो।
‘सन् २००८ देखि म सफ्टवेयर राख्नुपर्यो भनेर पछि लागेँ। सन् २०१० मा आएर जाभाका संस्थापक गगन राजी हुनुभयो। यसले पनि हामीलाई धेरै साथ थियो। रिटेलमा भाटभटेनी, रेस्टुरेन्टमा हिमालयन जाभाले ठूलो साथ दियो,’ सन्तोषले सुनाए।
नेपालभर सञ्चालन भइरहेका झण्डै १९०० रेस्टुरेन्टहरूमा आईएमएसकै सफ्टवेयर चलिरहेको छ।
अब फिनटेकमा चाल्दैछ पाइला
आईएमएस सफ्टवेयरले अब आफ्नो रणनीति फेर्दैछ। ठूला व्यवसायभन्दा पनि साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आईएमएस सफ्टवेयर अब फिनटेक प्रडक्ट बनाउने दिशामा अघि बढेको छ। जसको एउटा वा दुई वटा स्टोर छ वा साना व्यवसायमा छन्, त्यस्ता क्लाइन्टलाई लक्षित गर्दै आईएमएस सफ्टवेयर वित्तीय पहुँच पुर्याउन केन्द्रित हुने भएको छ।
‘म अमेरिका जान्छु भन्यो भने परिवारले १० लाख रूपैयाँ दिने, म नेपालमै व्यापार गर्छु भन्यो भने त्यो पनि नदिने। नेपालमा यस्तो कल्चर छ। हामी धेरै बैंकहरूमा पनि गयौँ। काम गरिरहेको छ, तर ऋण लिन धितो छैन। जसका कारण बैंकबाट पैसा पाएन,’ सन्तोषले थपे, ‘हामीले अब त्यो व्यवसायले गरिरहेको काम देखाएर त्यही डेटाको आधारमा ऋण दिन सहजीकरण गर्दैछौँ। गत हप्ता मात्रै कुमारी बैंकबाट यो सेवा लाइभ भएको छ। सिद्धार्थ र लक्ष्मी बैंकसँग पनि सम्झौता गरिसकेका छौँ।’

नयाँ पुस्ताका उद्यमीहरू जसले आफ्नो व्यापार व्यवसायको हिसाबकिताब (बुक) राम्रोसँग राखेको छ, उनीहरूलाई आईएमएसले वित्तीय पहुँचमा सघाउन खोजेको छ। यसका लागि आईएमएस सफ्टवेयर नै खरिद भने गर्नुनपर्ने सन्तोषले जानकारी दिए।
‘आईएमएस सफ्टवेयर नभएकाले पनि यो सुविधा पाउँछन्। हामीले लेन्डिङको जुन इन्जिन बनाएका छौँ, त्यो हामी खुला राख्दैछौँ। तेस्रो पक्षले पनि प्रयोग गर्न सक्छ। अरु सफ्टवेयर कम्पनी आएर पनि त्यसैमार्फत ऋणका लागि आवेदन दिन सक्छ,’ सन्तोषले भने।
यसका साथै आईएमएसले ग्लोबल आइएमई बैंकसँग मिलेर भाटभटेनी सुपरस्टोरमा किस्ताबन्दीमा सामान बिक्रीको स्किम ल्याइसकेको छ। यही स्किम अन्यमा पनि थाल्ने तयारी छ।
Shares

प्रतिक्रिया