अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्रेको विषयमा धारणा बनाउन अहिले पार्टी कार्यालय, च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।

एमाले सचिव महेश बस्नेतले आज बिहान करिब साढे १० बजे दिएको जानकारीअनुसार बैठकले अध्यक्ष ओली पक्राउ सम्बन्धमा पार्टीको धारणा स्पष्ट गर्दै संघर्षका कार्यक्रम तय गर्नेछ।

जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रहरीले आज बिहानै भक्तपुरको गुण्डुस्थित निवासबाटै गिरफ्तार गरेको हो।
गुन्डुबाट काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएका उनलाई स्वास्थ्य परीक्षणका लागि अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको छ।
ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’काे २७ नम्बर बेडमा राखिएको छ। रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ।
स्वास्थ्य जाँच भइसकेपछि पूर्वप्रधानमन्त्री ओलीलाई कहाँ राख्ने भन्ने टुंगो लाग्ने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।
त्यही अभियोगमा शनिबारै बिहान भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ गरिएका कांग्रेस नेता लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।
तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले २ नम्बर गणमा लगेको हो।
Shares

प्रतिक्रिया