फिफा विश्वकप २०२६ मा समूहका दोस्रो चरणका खेलबाट नकआउट पुग्ने ७ टोलीको टुंगो लागेको छ भने बाहिरिने ७ टोलीको पनि निश्चित भएको छ।
योसँगै बुधबार रातिबाट अन्तिम चरणका खेल सुरु हुँदै छन्। हरेक समूहका खेल एकै समयमा हुने भएकाले एउटै समयमा दुई खेल हुनेछन्।
तेस्रो चरणबाट २५ टोलीले अन्तिम ३२ मा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। अब ३४ टोलीले नकआउटमा स्थान बनाउन स्पर्धा गर्नेछन्। तीमध्ये ९ टोली समूह चरणबाटै घर फर्कनेछन्।
नकआउट चरणको दौडबाट समूह सीको हाइटी, ‘डी’को टर्की, ‘एफ’को ट्युनिसिया, ‘आई’बाट सेनेगल र इराक, ‘जे’को जोर्डन, ‘के’को उज्वेकिस्तान र समूह ‘एल’को पानामा बाहिरिसकेका छन्।
दोस्रो चरण सकिँदा मेक्सिको, अमेरिका, जर्मनी, फ्रान्स, नर्वे, अर्जेन्टिना, कोलम्बियाले लगातार दोस्रो जित निकाल्दै नकआउटमा पुगेका छन्।
समूह चरणको तेस्रो चरण अझ रोमाञ्चक हुनेछ। किन कि हरेक समूहका शीर्ष २ टोलीले नकआउटमा स्थान बनाउँछन् भने ८ वटा समूहका तेस्रो हुने उत्कृष्ट ८ टोली पनि नकआउटमा पुग्नेछन्। अहिलेसम्म १ अंक मात्रै जोड्ने टोलीलाई पनि उत्कृष्ट तेस्रो टोली बन्दै नकआउट पुग्ने सम्भावना कायम रहेकाले प्रतिस्पर्धा थप रोचक बन्नेछ।
३४ टोलीले तेस्रो चरणमा नकआउटका लागि प्रतिस्पर्धा गर्दा बाहिरिने निश्चित भइसकेका ७ टोली पनि अंक जोड्दै विश्वकप यात्रालाई यादगार बनाउन चाहान्छन्। त्यसैले अबको राउन्ड नकआउटका लागि मात्र हैन, अंकका लागि पनि उत्तिकै प्रतिस्पर्धात्मक हुनेछ।

गएराति भएको खेलमा पोर्चुगलले नवप्रवेशी उज्वेकिस्तानलाई ५–० को फराकिलो अन्तरले हरायो। पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। योसँगै विश्वकपका ६ संस्करणमा लगातार गोल गर्ने कीर्तिमान रोनाल्डोले आफ्नो नाममा गरे।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका रोनाल्डोले २०१०, २०१४, २०१८, २०२२, र २०२६ को संस्करणमा लगातार गोल गरे। उज्वेकिस्तानविरुद्ध गोल गरेपछि रोनाल्डोले विश्वकपमा आफ्नो गोल संख्या १० पु¥याएका छन्।
रोनाल्डोले सन् २००६, २०१०, २०१४ मा एक–एक गोल गरे। सन् २०१८ मा ४ गोल गरेका रोनाल्डोले २०२२ को विश्वकपमा एक गोल मात्र गरेका थिए।
जारी संस्करण पहिलो खेलमा गोल गर्न नसकेका रोनाल्डोले उज्वेकिस्तानविरुद्ध भने पहिलो हाफमा नै २ गोल गरे। ह्याट्रिकका लागि रोनाल्डोसामु थुप्रै अवसर बने। तर पूरै समय मैदानमा रहे पनि सफल हुन सकेनन्।
पहिलो खेलमा डीआर कंगोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न नसकेका रोनाल्डोको सामाजिक सञ्जालमा आलोचना भएको थियो। उनका प्रतिस्पर्धी अर्जेन्टिनी कप्तान, लियोनल मेस्सी, फ्रान्सका कप्तान केलियन एमबाप्पे, नर्वेका फरवार्ड एर्लिङ हालान्ड विश्वकपको पहिलो खेलबाट नै चम्किए।
मेस्सीसहित युवा फरवार्डको प्रदर्शन उच्च हुँदा रोनाल्डोमाथि दबाब परेको थियो। तर उज्वेकिस्तानको खेलपछि भने रोनाल्डो लयमा फर्किएको आशा गरिएको छ।
पोर्चुगलका लागि रोनाल्डोले १० खेलपछि मात्र गोल गरे। उज्वेकिस्तानअघिको खेलमा उनले युरोसहितका १० खेलमा एउटा गोलका लागि असिस्ट गरे पनि गोल गर्न असफल थिए।
सन् २००३ देखि पोर्चुगिज टोलीमा रहेका रोनाल्डोले २ सय ३० खेलमा १ सय ४५ गोल गरेका छन्।
उज्वेकिस्तानविरुद्ध गोल गरेपछि रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो पाका खेलाडी समेत बने।
यसअघि क्यामरुनका रोगेर मिलाले सन् १९९४ को विश्वकपमा रसियाविरुद्ध गोल गरेका थिए। त्यतिबेला मिल्ला ४२ वर्ष ३९ दिनका थिए।
रोनाल्डोपछि पोर्चुगलकै पेपे सबैभन्दा पाको उमेरमा गोल गर्ने खेलाडीको तेस्रो स्थानमा छन्। पेपेले २०२२ को कतार विश्वकपमा स्विट्जरल्यान्डविरुद्ध गोल गर्दा ३९ वर्ष २ सय ८३ दिनका थिए।

इंग्ल्यान्ड घानासँग रोकियो, क्रोएसियाले पानामालाई हरायो
गएराति नै भएको खेलमा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड घानासँग गोलरहित बराबरीमा रोकियो। लुका मोड्रिच नेतृत्वको क्रोएसियाले भने पानामालाई १–० ले हराउँदा बुधबार बिहान नै भएको अर्को खेलमा कोलम्बियाले डीआर कंगोलाई १–० ले हरायो।
विश्वकपमा आज बुधबार मध्यरातिदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदै छन्। समूह चरणको अन्तिम खेलमा मैदान उत्रिनुअघि सबै टोली दबाबमा छन्। यसअघि नै नकआउट पुगिसकेका चार टोली समूह विजेता बनिसकेका छन् भने तीन टोलीमाथि समूह विजेता बन्ने दबाब छ। अन्य टोली अन्तिम ३२ को प्रतिस्पर्धामा छन्।
बुधबार राति पौने १ बजे हुने समूह ‘बी’को खेलमा स्विटजरल्यान्ड र विश्वकप आयोजक क्यानडा खेल्दै छन्। यो समूहमा क्यानडा र स्विटजरल्यान्डको समान ४ अंक छ। त्यसैले समूह विजेताको रुपमा नकआउट पुग्न यी टोलीमाथि जित्नैपर्ने दबाब छ। क्यानडा घरेलु मैदानमा समर्थकको साथमा हुँदा स्विट्जरल्यान्ड घरेलु टोलीलाई निराश बनाउने रणनीतिमा हुनेछ।
समूह ‘बी’कै अर्को खेलमा सोही समयमा बोस्निया एन्ड हर्जगोभिना र कतार खेल्नेछन्। एक खेलमा हार र अर्को खेलमा बराबरी गरेका यी टोली जित निकाल्दै चार अंक जोड्ने प्रयासमा हुनेछन्। किन कि विश्वकपमा समूहका शीर्ष २ सँगै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीले पनि नकआउटमा स्थान बनाउनेछन्।

बिहान पौने ४ बजे समूह ‘सी’का खेल हुनेछन्। समूह ‘सी’को खेलमा मोरक्को र हाइटी तथा स्कटल्यान्ड र ब्राजिल खेल्नेछन्।
समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध मैदान उत्रिँदा फुटबल समर्थक ब्राजिलियन स्टार नेयमारको प्रतीक्षा हुनेछन्। चोटका कारण सुरुवाती २ खेल गुमाएका नेयमार स्कटल्यान्डविरुद्ध मैदानमा देख्न पाइने आशामा समर्थक छन्।
प्रशिक्षक एन्सोलोटीले पनि समूह चरणको अन्तिम खेलमा नेयमारलाई मैदान उतार्ने संकेत गरेका थिए। त्यसैले उनको खेल कौशलको प्रतीक्षामा ब्राजिलियन समर्थक छन्।
टोलीका अर्का स्टार राफिन्हा घाइते भएका कारण पनि उनको स्थानमा नेयमार फर्किने सम्भावना बढी छ। हाइटीसँगको खेलमा घाइते भएपछि राफिन्हाले ४०औँ मिनेटमा मैदान छाडेका थिए। उनी सम्भवत नकआउट चरणको खेलमा उपलब्ध हुनेछन्।
समूह ‘सी’मा ब्राजिल र मोरक्कोको समान ४ अंक छ। स्कटल्यान्डसँग ३ अंक छ। त्यसैले स्कटल्यान्डको नजर नकआउटमा हुँदा ब्राजिल समूह विजेता बन्ने लक्ष्यमा हुनेछ।
अघिल्लो संस्करणमा सेमिफाइनल खेलेको मोरक्कोले नकआउटको दौडबाट बाहिरिसकेको हाइटीसँग खेल्नेछ। मोरक्को ६ अंक जोडेर समूह उपविजेता बन्ने होडमा रहँदा हाइटी अन्तिम खेलमा अंक जोड्दै विश्वकपबाट सुखद विदाइ चाहन्छ।
Shares

प्रतिक्रिया