अस्पतालको शल्यक्रिया कक्षमा जडित ठूलो स्क्रिन। शल्यक्रिया गराउन बेहोस बनाएर राखिएको बिरामी। स्क्रिनमा बिरामीको अंग।
चिकित्सक बिरामीभन्दा केही पर एउटा विशेष मेसिन (कन्सोल) मा बस्छन्। चिकित्सक स्क्रिनमा जोडिएका उपकरण चलाउन थाल्छन्। र, उपकरण बिरामीको शरीरमा गएर शल्यक्रिया गर्न थाल्छ। त्यो चिकित्सकको इसाराको चालमा शल्यक्रिया गरिरहेको हुन्छ, एक रोबोटले।
चिकित्सकले आफैँले कुनै औजार प्रयोग नगरी स्क्रिनमा हेरेर रोबोटको सहायताले शल्यक्रिया गर्छन्। चिकित्सकले स्क्रिनमा हेर्दै आफ्नो हात र औँलाको इसाराले रोबोटका मेकानिकल हातहरूलाई नियन्त्रण गर्छन्। रोबोटले शरीरको ठूलो चिरफार बिना स–साना प्वालहरूबाट शल्यक्रिया गर्छ। चिकित्सकको निर्देशनमा बिरामीको शरीरभित्र रहेका रोबोटका औजारहरूले सोही अनुसार काट्ने, सिलाउने वा तन्तुहरू हटाउने काम गर्छ। जसलाई आधुनिक चिकित्सा विज्ञानमा रोबोटिक शल्यक्रिया भनिन्छ।
५६ वर्षअघि अन्तरिक्षमा गएका व्यक्तिहरुको उपचार गर्ने उद्देश्यबाट परिकल्पना गरेर बनाइएको रोबोटिक सर्जरी अहिले चिकित्सा क्षेत्रको अभिन्न अंग बनेको छ।
के हो रोबोटिक शल्यक्रिया?
भारतको दिल्लीस्थित मनिपाल अस्पतालका हेड एन्ड नेक रोबोटिक सर्जन डा विकास गुरुङका अनुसार कम्प्युटरमार्फत रोबोटिक हातलाई नियन्त्रण गरेर गर्ने शल्यक्रिया नै रोबोटिक शल्यक्रिया हो।
शल्यचिकित्सकहरूले रोबोटिक हातहरू कन्ट्रोलर र दृश्य स्क्रिनमार्फत सञ्चालन गर्छन्। चिकित्सकले रोबोटको सहायतामा बिरामीको भित्री अंगहरू हेर्छन्, बुझ्छन्। र, त्यही अनुसार शल्यक्रिया गर्छन्।
रोबोटले स्वतन्त्र रूपमा काम नगरी चिकित्सकको नियन्त्रणमा शल्यक्रिया गर्छ। क्यामेराको माध्यमबाट चिकित्सकले बिरामीको आन्तरिक अंग हेरेर शल्यक्रिया गर्न सक्छन्।
चिकित्सकले बिरामीको शरीरलाई नछोईकन रोबोटिकमार्फत गरिने शल्यक्रिया नै रोबोटिक शल्यक्रिया हो।
शल्यक्रिया गर्दा चिकित्सक बिरामीभन्दा केही मिटर टाढा रहेको कन्ट्रोल कन्सोलमा बस्छन्। जहाँ रोबोटमा कम्प्युटर डिभाइस, सिस्टम र प्रविधि जडान गरिएको हुन्छ। त्यहाँबाट रोबोटिक आर्म (यान्त्रिक हात) लाई कम्प्युटर–पोर्टलबाट चलाउँछन्। त्यही प्रविधिको सहायताले चिकित्सकले शल्यक्रिया गर्छन्।
डा गुरुङका अनुसार रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो। यसमा सबैभन्दा कठिन शल्यक्रिया पनि सजिलै गरिन्छ।
‘शरीरका कतिपय अंगहरू यस्ता हुन्छन्, जसमा पुग्न गाह्रो र खतरनाक हुन्छ। यो शल्यक्रिया क्यान्सर जस्तो खतरनाक रोगमा पनि प्रभावकारी हुन्छ,’ उनले भने।
मस्तिष्कमा भने रोबोटिक शल्यक्रिया गर्न नसकिने डा गुरुङ बताउँछन्।
‘मस्तिष्कको शल्यक्रिया निकै जटिल भएकाले रोबोटबाट गर्न सकिँदैन, मस्तिष्कबाहेकका सबै अंगका रोबोटिक शल्यक्रिया सम्भव छ,’ उनले थपे, ‘क्यान्सरको उपचारमा रोबोटिक शल्यक्रिया निकै प्रभावकारी सावित भएको छ, कठिन स्थानमा रहेको गाँठो वा क्यान्सर कोष सजिलै हटाउन सकिन्छ।’
रोबोटिक शल्यक्रियामा बिरामीको शरीरमा राखिएको विशेष क्यामेराले शल्यक्रिया स्थलको दृश्य देखाउँछ। रोबोटिक उपकरणमा एक विशेष प्रविधि हुन्छ जसलाई ‘इन्डोरिस्ट’ भनिन्छ। यो प्रविधिले एकदमै जटिल शल्यक्रिया पनि सहज र प्रभावकारी तरिकाले गर्ने डा गुरुङ बताउँछन्।
दक्षिण एसियाका प्रख्यात रोबोटिक क्यान्सर सर्जन डा सुरेन्द्रकुमार दबासले रोबोटिक क्यान्सर सर्जरीले उपचार परिणाम सुधार्नुका साथै बिरामीको रिकभरी समय छोट्याउने बताए।
डा गुरुङले रोबोटिक सर्जरी आधुनिक चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको जनाए। उनले रोबोटिक प्रविधिबाट शल्यक्रिया गर्दा संक्रमणको जोखिम घट्ने, बिरामी छिटो निको हुने हुँदा अस्पताल बसाइ कम हुने जनाए।
नेपालका चिकित्सकहरूसँग रोबोटिक शल्यक्रियाको बारेमा अन्तर्क्रिया गर्न नेपाल आएका उनले क्यान्सरका बिरामीका लागि रोबोटिक शल्यक्रिया निकै महत्वपूर्ण भएको बताए।
‘रोबोटिक सर्जरीले क्यान्सर पूर्ण रूपमा निको हुन र सर्जरीपछि दिइने केमोथेरापी वा रेडिएसन समयमै सुरु गर्न सकिन्छ,’ उनले भने, ‘क्यान्सरका सेलहरूको फैलावट हेरी शल्यक्रिया मार्फत हटाउन यो निकै महत्वपूर्ण छ।’
विशेषगरी थाइराइड क्यान्सरमा रोबोटिक सर्जरी गर्दा घाँटीमा दाग नबस्ने भएकाले सौन्दर्य र मानसिक स्वास्थ्य दुवै पक्षमा फाइदा पुग्ने उनले जानकारी दिए। बिरामीको खाना खाने, बोल्ने तथा दैनिक जीवनमा फर्किने क्षमता छिटो सुधार हुने डा दबासले जनाए।
विश्वभर रोबोटिक सर्जरीको प्रयोग तीव्र रूपमा बढिरहेको छ। अमेरिकामा करिब ८० प्रतिशत शल्यक्रिया रोबोटबाट हुने गरेको छ। भारतमा १० देखि १५ प्रतिशत शल्यक्रिया रोबोटिक विधिबाट भइरहेको भन्दै उनले नेपालमा भने अझै यसको प्रयोग सीमित रहेको भन्दै भविष्यमा विस्तार आवश्यक रहेको बताए।
डा दबासले सामान्यदेखि जटिल शल्यक्रियासम्म रोबोटिकमार्फत गर्न सकिने जनाए। उनका अनुसार पित्तथैली, हर्निया र आन्द्रासम्बन्धी शल्यक्रिया, महिलाको पाठेघर निकाल्ने, पाठेघरमा पलाएको मासुको डल्लो मात्र निकाल्ने, क्यान्सर, प्रोस्टेट र मुत्रथैलीको शल्यक्रिया पनि गर्न सकिन्छ।
यस्तै मुटुरोगसम्बन्धी शल्यक्रिया र कोरोनरी नामक धमनी बाइपास एवं यसको ग्राफ्टिङ लगायत जटिल मुटुरोगसम्बन्धी शल्यक्रियाहरू रोबोटिक प्रणालीबाट गर्न सकिन्छ।
विश्वमा कसरी सुरु भयो?
रिमोट सर्जरी वा टेलिसर्जरीको अवधारणा सन् १९७० को दशकमा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) द्वारा अन्वेषण गरिएको थियो। अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्रीहरूको उपचारका लागि यो विधिको खोज गरिएको थियो। यसको मूल अवधारणा भनेको शल्यक्रियाका उपकरणहरू जडान गरिएको एउटा मेसिन अन्तरिक्ष स्टेसनमा रहने र त्यसलाई पृथ्वीबाटै एक शल्यचिकित्सकले नियन्त्रण गर्ने थियो।
यस्तै योजना अमेरिकी रक्षा मन्त्रालयको एजेन्सी डार्पाले पनि बनाएको थियो। डार्पाका अनुसन्धानकर्ताहरूले युद्धको मैदानमा घाइते भएकाहरूको शल्यक्रिया गर्न मिल्ने रिमोट टेलिसर्जरी युनिट विकास गर्ने प्रयास गरेका थिए। यद्यपि यी दुवै योजनाहरू पूर्ण रूपमा सफल हुन सकेनन्।
मानिसमा पहिलो पटक सन् १९८५ मा न्युरोसर्जिकल बायोप्सी गर्न यसको प्रयोग गरिएको थियो। जसलाई प्रोग्रामेबल युनिभर्सल मेसिन फर एसेम्बली २०० भनिन्थ्यो। पछि, इम्पेरियल कलेजको रोबोटिक्स सेन्टरले यस मेसिनलाई सामान्य युरोलोजिक र प्रोस्टेटमा प्रयोग ग¥यो।
सन् १९९२ मा, प्रोस्थेटिक हिप रिप्लेसमेन्ट (कम्मरको जोर्नी प्रत्यारोपण) मा प्रयोग गर्नका लागि ‘रोबोडक’ सर्जिकल सिस्टम नामक इमेज–गाइडेड प्रणाली विकसित गरियो। शल्यचिकित्सकलाई बिरामीको आवश्यकता अनुसार प्रोस्थेसिसको आकार अनुकूलन गर्न अनुमति दिने यो रोबोडक हाल अर्थोपेडिक सर्जरीमा प्रयोगका लागि खाद्य तथा औषधि प्रशासन (एफडीए) द्वारा स्वीकृत एक मात्र सक्रिय रोबोटिक प्रणाली हो।
कम्प्युटेड मोसन नामक कम्पनीले सुरुमा ‘एन्डोस्कोप’ जडान गरिएको आवाजबाट चल्ने रोबोटिक हात विकसित गर्यो।
हाल नयाँ–नयाँ प्रविधि विकास गरी शल्यक्रिया सहज रूपमा गरिन्छ। शरीरको सानो भागमा मात्र प्वाल पारेर शल्यक्रिया गरिन्छ। शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुन्छ। अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुन्छ।
रोबोटिक सर्जरीमा एकदमै अत्याधुनिक कम्प्युटर सिस्टम भएकाले एक जना चिकित्सकले मात्र शल्यक्रिया गर्न सक्छन्।
नेपालमा भने २ वर्षअघि बी एन्ड बी अस्पतालले पहिलो पटक रोबोटिक विधिबाट शल्यक्रिया गरेको थियो। जसमा भारतको एपेक्स अस्पतालले सहयोग गरेको थियो। रोबोटिक शल्यक्रियामा प्रयोग हुने उपकरण महँगो हुने हुँदा नेपालमा विस्तार गर्न नसकिएको चिकित्सकहरू बताउँछन्।
Shares

प्रतिक्रिया