सात महिनादेखि बागमती प्रदेश सभाको बैठक बस्न सकेको छैन। झन गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी भएपछि अन्योल थपिएको छ।
प्रायः सरकारलाई काम परेपछि मात्रै बागमती प्रदेश सभाको बैठक बोलाउने गरिएको छ। गत साउन २७ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो। त्यसयता प्रदेश सभा बैठक बसेको छैन। गत भदौ २४ गते जेनजी आन्दोलनकारीले प्रदेश सभाका दुवै भवन जलाएपछि अन्योल थपिएको छ।
जेनजी आन्दोलनपछि बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका थिए। पाठकको राजीनामा स्वीकृत गर्न पनि सदनमा उपसभामुख अप्सरा चापागाईले राजीनामा पत्र पढेर सुनाउन पर्ने हुन्छ। त्यसपछि मात्रै नयाँ सभामुख चयनको बाटो खुल्नेछ। तर सभामुखकै विषयमा सत्तारुढ दलबीच सहमति नजुटेपछि प्रदेश सभा बैठक बोलाइएको छैन।
प्रदेश सभाको बैठकका लागि संसद् सचिवालयले अस्थायी रुपमा हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा रहेको सभाहल मर्मत गरिसकिएको जनाएको छ। सभाहलमा टेबल, कुर्सी राखेर बैठक बस्न सकिने गरी तयारी अवस्थामा रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेल बताउँछन्। तर प्रदेश सभा बैठक बोलाउन सरकारमा रहेका दलहरू नै तयार नदेखिएको प्रदेश सभा सचिवालयका कर्मचारी बताउँछन्।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) सभामुखका लागि प्रयासरत छन्। हाल एमालेको तर्फबाट चापागाईँ उपसभामुख छिन्। बागमती सरकारमा कांग्रेसभन्दा ३ मन्त्रालय कम लिएको एमालेले शक्ति सन्तुलन कायम राख्न सभामुख आफ्नो तर्फबाट हुनुपर्ने अडान राखेको छ। एमालेको भागमा उपसभामुख रहेको भन्दै सभामुख आफ्नै दलले पाउनुपर्ने मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि अडान लिएका छन्।
यसरी दुई दलबीच सभामुखलाई लिएर खिचातानी हुँदा प्रदेश सभा बैठक नै अन्योलमा परेको विपक्षी दलको आरोप छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेश सभाको बैठक तत्काल बोलाउनु पर्ने बताउँछन्। लामो समयदेखि प्रदेश सभाको बैठक बस्न नसक्दा जनताका मुद्दा ओझेलमा परेको थपलियाको भनाइ छ। सरकारले भौतिक पूर्वाधारको समस्या देखाएर संसद् बैठक पन्छाउन नहुने उनको तर्क छ।
तर, मुख्यमन्त्रीले संघीय सरकारको गठन प्रक्रियालाई कुरेका कारण प्रदेश सभाको बैठकमा ढिलाइ भएको हुनसक्ने उनको आकलन छ। ‘संसद् चाँडो बोलाउनुपर्छ भन्ने हाम्रो निरन्तर दबाब छ। हामी छलफलमा पनि छौँ। सरकारमा रहेका साथीहरूले हल तथा समयको समस्या देखाएर बैठक बोलाउन कठिन भएको भन्नु भएको छ, तर जनताका समस्या र सांसदहरूले आफ्ना क्षेत्रका कुरा राख्ने मञ्चलाई यसरी अवरुद्ध गर्नु हुँदैन,’ थपलिया भन्छन्।
सभामुख चयनको विषयमा सत्ता साझदार दलबीच कुनै समस्या नरहेको थपलियाको दाबी छ। शक्ति सन्तुलनको आधारमा मुख्यमन्त्री जुन दलको हुन्छ, सभामुख अर्को दलले पाउने प्रष्ट व्यवस्था रहेको उनी बताउँछन्।
सभामुख पदका लागि प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि दाबी गरिरहेको छ। माओवादी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल सभामुख पदमा आफ्नो दलको पनि दाबी रहने बताउँछन्।
हाल बागमती प्रदेश सभामा सात राजनीतिक दलबाट १०५ सदस्यको प्रतिनिधित्व रहेको छ। जसमा कांग्रेसका ३७, एमालेका २५, नेकपाका २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टी (हानेपा) को २ सांसद छन्।
Shares

प्रतिक्रिया