राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले इन्धन लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पेट्रोलियम पदार्थको मूल्य घटेपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन लुकाएर उपभोक्तालाई सास्ती दिने पेट्रोल पम्पहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन्।
पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट ‘पेट्रोल छैन,’ ‘डिजेल छैन’ भन्दै बिक्री बन्द गरिएको सूचना प्राप्त भएको उनको भनँइ छ। शाहीले मूल्य घटेपछि पुरानो महँगो मूल्यमा खरिद गरिएको इन्धन जोगाएर नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका गरेका छन्।
यस्तो कार्य उपभोक्तामाथिको ठगी मात्र नभई बजार प्रणाली र कानुनी शासनमाथिको चुनौती भएको शाही बताउँछन्।
साथै उनले आमउपभोक्तालाई पनि सचेत रहन अपिल गर्दै आफ्नो क्षेत्रमा मूल्य घटेपछि इन्धन लुकाइएको, ‘स्टक छैन’ भन्दै बिक्री रोकिएको वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएमा सम्बन्धित पेट्रोल पम्पको नाम, ठेगाना, फोटो वा भिडियोसहित प्रमाण उपलब्ध गराइदिन आग्रह गरेका छन्।
प्राप्त प्रमाणका आधारमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्ने शाहीको भनाइ छ।
Shares

प्रतिक्रिया