राजनीति


कान्छी सांसद रुबी ठाकुरको कथा: गरिबी र विभेदका पर्खाल नाघेर संसदको रोस्ट्रमतर्फ

रास्वपामा भुइँमान्छेका लागि ठाउँ नदेखेपछि श्रम संस्कृति बन्यो उनको रोजाइ
कान्छी सांसद रुबी ठाकुरको कथा: गरिबी र विभेदका पर्खाल नाघेर संसदको रोस्ट्रमतर्फ

नवनिर्वाचित सांसद रुबीकुमारी ठाकुर। सबै तस्बिर: सरोज नेपाल/नेपालखबर


आयुषा ढकाल
चैत ७, २०८२ शनिबार २१:०, काठमाडौँ

२५ वर्षीया रुबीकुमारी ठाकुरको अहिलेसम्मको जिन्दगी अभाव र कठोर संघर्षमा बित्यो। धनुषाको मुजेलियाकी उनी कुनै दिन फाटेको युनिफर्म लगाएका कारण शिक्षकको गाली खान्थिन्। 

तर, उनी इतिहास रच्दै प्रतिनिधिसभा सदस्य बनेकी छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट संसद् छिरेकी उनी आज देशकै कान्छी सांसद हुन्।

रुबीका बुवा छोराछोरीको भविष्य सुधार्न विगत १० वर्षदेखि साउदी अरबमा पसिना बगाइरहेका छन्। नेपालमै हुँदा पनि घरमा बिहान-बेलुकाको छाक टार्न र ६ जना छोराछोरी (४ छोरी र २ छोरा) पढाउन उनले खुब मेहनत गर्नुपरेको थियो। कहिले इँटा भट्टामा काम गरे, कहिले कपाल काट्ने काम गरे। तर, कमाइले नधानेपछि उनी साउदी गए।

यता जनकपुरमा रुबीकी आमा अरूको जग्गा भाडामा लिएर खेतीपाती र भैँसीपालन गरिरहेकी छन्। परिवारमा अभाव यस्तो थियो कि सबै छोराछोरीलाई एकैपटक कापी-किताब किन्ने पैसा हुँदैनथ्यो। 

‘च्यातिएको सर्ट लगाएर स्कुल जाँदा सरले गाली गर्नुहुन्थ्यो, तर नयाँ किन्ने पैसा थिएन। विपन्न भएर पनि कहिल्यै छात्रवृत्ति र साइकल पाइएन,’ रुबी सुनाउँछिन्।

मधेसमा जरा गाडेको दाइजो प्रथाबाट पनि उनको परिवार पीडित थियो। एउटी दिदीको विवाहका लागि बुवाले ऋण खोजेर दाइजो दिनुपर्‍यो र त्यही ऋण तिर्न उनी फेरि विदेशिन बाध्य भए। बुवाको कालो केस सेतो भएर झरिसकेको छ। तर, उनको परिवारले एकैसाथ बसेर आनन्दको सास अझै फेर्न पाएको छैन। अर्की दिदीको बिहे भने कम खर्चमै टरेको रुबी बताउँछिन्।

‘एउटा मोटरसाइकल मात्र दिएर बिहे टार्‍यौँ,’ उनी भन्छिन्।

भाइबहिनी हुर्काउन रुबीकी ठूली दिदीले ७ कक्षामै आफ्नो पढाइ छोड्नुपर्‍यो।

रुबी भने अहिले इन्जिनियरिङ दोस्रो सेमेस्टरमा पढ्दैछिन्। एक बहिनी र दुई भाइ पनि पढ्दै छन्।

जेनजी आन्दोलनपछि रुबीको राजनीतिक उदय
राजनीति रुबीको पहिलो रोजाइ थिएन। तर जेनजी आन्दोलनले देशप्रतिको चासो जगाइदियो। राजनीति त गर्ने तर कसरी?

धेरैजसोको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परिरहेको थियो। तर, रुबीलाई लाग्यो, त्यो पार्टीमा भुइँमान्छेका लागि ठाउँ छैन।

‘त्यहाँ ठूला-ठूला मान्छे हुनुहुन्छ,’ रुबीले भनिन्, ‘हामीलाई त त्यहाँ ठाउँ पनि दिँदैन।’

त्यसैले उनी श्रम संस्कृति पार्टीमा आबद्ध भइन्। हर्क साम्पाङको विचार र कार्यशैलीबाट प्रभावित भएको रुबीको भनाइ छ।

र, श्रम संस्कृतिले आफूहरू जस्तै भुइँमान्छेलाई पनि समेटेकोमा उनी निकै खुसी छिन्।

‘म भाग्यमानी रहेछु, मेरो नाम समानुपातिक सूचीबाट आयो र म २५ वर्षको उमेरमै संसद् छिर्ने अवसर पाउँदैछु,’ रुबी उत्साहका साथ भन्छिन्।

रुबीका लागि संसद् एउटा पद होइन, यो ती लाखौँ परिवारको प्रतिनिधि बन्ने माध्यम हो, जो आज पनि दाइजो, बेरोजगारी र गरिबीको चक्रमा फसेका छन्। त्यसैले रुबी दाइजो र भ्रूण हत्याको विरुद्ध आवाज उठाउने बताउँछिन्।

पहुँचवालाले मात्र पाउने छात्रवृत्ति र सुविधा वास्तविक विपन्नसम्म पुर्‍याउने र बलात्कार, बालविवाह र बेरोजगारीजस्ता मुद्दा उठान गर्ने रुबीले बताइन्।

तर, छोरी राजनीतिमा लागेपछि उनकी आमालाई अर्कै पीर परेको छ। आमाले त उनलाई रोक्न पनि खोजेकी थिइन्।

आफन्तले अझ डर देखाएका थिए, ‘बिहे हुँदैन, राजनीति नगर।’

तर, रुबी आफ्नो निर्णयमा अटल रहिन्।

रुबीका बुवा आज छोरी देशकी कान्छी महिला सांसद भएको खुसीले गद्गद् भएका छन्। साउदीबाटै छोरीलाई भने- ‘मेरी बेटीले अब देशको सेवा गर्छे।’

वर्षौँदेखि बुवासँग एउटै आँगनमा बसेर रमाउन नपाउँदा बिझाएको मन अझै शान्त भएको छैन।

उनी भन्छिन्, ‘म मधेसकी छोरीहरू पनि केही गर्न सक्छन् भनेर देखाउनेछु। हाम्रो पार्टीका सांसदहरूले संसदमा भुइँमान्छेको मुद्दा जोडतोडका साथ उठाउनेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad