नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन्।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
एमाले पूर्वउपाध्यक्ष ज्ञवालीले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गरे।
उनले सत्तारुढ दलले संघीयता खारेज गर्ने दस्तावेज पारित गरेको भन्दै सरकारको नियत संविधान नै समाप्त पार्ने हो कि भन्ने आशंका बलियो हुँदै गएको बताए। उनले प्रधानमन्त्री र सरकारले आफूखुशी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक चेतावनी समेत दिए।
उनले भनेयो, ‘अहिले हामी संघीयता खारेज गर्ने कुरा सुनिरहेका छौँ। सरकारले यस्तै गरेर जाने हो भने यो संविधानलाई नै समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका बढिरहेको छ। अनि सरकार र प्रधानमन्त्रीले मनपरी गर्न पाउने भन्ने जुन कन्सेप्ट उहाँहरूमा विकास भइरहेको छ त्यो अत्यन्त खतरनाक छ। कतै निर्वाचित तानाशाहको उदय त हुने होइन? यो प्रश्न उठिरहेको छ।’
नेता ज्ञवालीले मुलुक निर्वाचित तानाशाहीतर्फ उन्मुख हुन सक्ने प्रश्न उठ्न थालेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया