राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाहरूलाई पार्टी सदस्यता वितरण भए/नभएको जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ।
रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको भनी जानकारी प्राप्त भएपछि आयोगले असार १७ मा विस्तृत जानकारी उपलब्ध गराउन पत्र पठाएको हो।
बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
‘पार्टी महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सो पार्टीबाट सदस्यता वितरण गरिएको भए त्यस्तो कार्य प्रचलित नेपाल कानुन र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने हुँदा उनीहरूलाई पार्टी सदस्यता वितरण भए/नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१ (१) अनुसार अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यही असार ९ गते चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रमा तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्ष मुनिका ३५ हजार २ सय ५७ जना बालबालिका समेत पार्टी सदस्य रहेको तथ्य राखेका थिए। सोही प्रतिवेदन महाधिवेशन हलले पारितसमेत गरेको थियो।
Shares

प्रतिक्रिया