राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चितवनलाई पर्यटन प्रबद्र्धनबारे सिकाउन नपर्ने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनबाट सारा देशले पर्यटन प्रवद्र्धनबारे सिक्नुपर्ने बताए। यसअघि देशका विभिन्न स्थानमा आयोजित चुनावी सभामा उनले सम्बन्धित ठाउँका पर्यटकीय गन्तव्यको वर्णन गरेका थिए।
त्यसलाई लिएर चितवनका विषयमा पनि बोल्न एक जनाले आग्रह गरेको उनले सुनाए। ‘अघि प्लेनबाट जर्दै गर्दा एक जना भाइले भन्नु भयो- दाइ, जसरी देशभरी टुरिज्म प्रमोसन गर्नुभयो, त्यसरी चितवनको पनि टुरिज्म प्रमोसन गरिदिनुहोला,’ शाहले भने, ‘मैले भने मेसीलाई फुटबल खेल्न सिकाउनुपर्छ? रोनाल्डोलाई फुटबल खेल्न सिकाउँनुपर्छ?’
उनले चितवनबाट देशले नै पर्यटन प्रवद्र्धनबारे सिक्नुपर्ने जिकिर गरे। ‘हाम्रो चितवनका थारू समुदायमा भएका होमस्टे, रिसोर्टमा देख्न सकिन्छ, यहाँको उत्पादन, यहाँको लुगा, यहाँको म्युजिक, यहाँको खानेकुरालाई उहाँहरूले कसरी विश्वमा चिनाउनु भएको छ। त्यो हेर्दाखेरी चितवनले देशलाई टुरिज्म प्रमोसन सिकाउनुपर्छ, त्यो देशले सिक्नुपर्छ,’ शाहले भने।
Shares

प्रतिक्रिया