'...खोरिया फाँड्न जथाभावी डढेलो लगाउनु भएन; प्राकृतिक स्रोतको जथाभावी उपयोग गर्नु हुँदैन। पृथ्वी सबैको साझा हो र भावी पुस्ताले पनि पृथ्वीमा रमाउन पाउनु पर्छ भनेर सोच्नु पर्यो। प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्तालाई पनि ख्याल गर्नु पर्यो,' दिउँसो मञ्चमा बोल्दैथिई– प्रबला।
साँझमा छोरीसँग उसको प्रश्नोत्तर चल्यो :
'आमा हाम्रा बाहरू कति भाइ?'
'पाँच भाइ।'
'दिदीबहिनी?'
'सातवटी।'
'तपाईंका दाजुभाइ?'
'जम्मा चार भाइ।'
'तपाईंका दिदीबहिनी नि?'
'हामी चार दिदीबहिनी हौँ।'
'आमा; कति राम्रो/रमाइलो रहेछ– तपाईंहरू हुर्किएको परिवार! तपाईं र बाका दाजुभाइदिदीबहिनीका पनि छोराछोरी होलान्। कति ठूलो होला त्यो संख्या?... तर किन आफ्ना भन्ने कोही नभएको निर्जन टापुमा ‘रविन्सन्स क्रुसो’मा अनुवाद भएझैँ छ- हाम्रो जीवन? किन हाम्रा नातेदारहरूले हामीलाई बोलाउँदैनन्? किन हाम्रो घरमा तिनीहरू आउँदैनन्? किन तिनीहरू कहिल्यै सम्झेर हामीलाई फोन गर्दैनन्? किन तिनीहरूको मनमा हामीप्रति उम्रिँदैन– माया/ममताको टुसा? भन्नोस् न आमा! ... कि, धन थुपार्ने उन्मादमा हाम्रो भविष्यका बारेमा सोच्नु भएन? कि धनी हुनेबित्तिक्कै बिर्सिनु भयो– पारिवारिक सोपान र मर्यादा ? कि निजी सुखसयलका लागि सामाजिक सम्बन्धमा अन्धाधुन्ध किसिमले लगाउनु भयो– डढेलो ?... किन हाम्रा लागि त्यो पारिवारिक मायाममता र रमाइलो साँचिदिनु भएन आमा?'
दिउँसो दिगो विकासको दह्रो वकालत गरेर घर फर्केकी प्रबला साँझमा आफ्नै छोरीको अनपेक्षित प्रश्नहरूका बीचमा चुपचाप थिई ।
Shares

प्रतिक्रिया