लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच धक्कामुक्की भएको छ। आइतबार बिहान सो झडप भएको भारतीय सेनाले जनाएको छ।
यसअघि शनिबार सिक्किम सेक्टरको नाकुलानजिकै पनि दुई मुलुकका सैनिकबीच हात हालाहाल भएको थियो। सो क्रममा केही सैनिक घाइते भएका थिए।
चिनियाँ जनमुक्ति सेनाका जवानहरुले हात हालेको र भारतीय जवानहरुले रोक्ने प्रयास गरेको सैन्य स्रोत उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ।
दुवै स्थानमा छोटो समय झडप भएको र केही बेरमा वार्तापछि समाधान भएको सेनाले जनाएको छ।
शनिबार दिउँसो १९ हजार फिटको उचाइमा रहेको नाकुलानजिकै भारतीय र चिनियाँ सैनिक एकअर्कासँग भिडेका थिए।
दुवै स्थानको झडप स्थानीय स्तरमै संवादबाट मिलाइएको बताइएको छ।
यसअघि सन् २०१९ को सेप्टेम्बर ११ मा लद्दाखस्थित पाङगोङ तालमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो।
सन् २०१७ दोक्लममा दुई देशका सैनिकबीच ७३ दिन लामो तनाब भएको थियो।
सो तनावपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको वुहानमा अनौपचारिक शिखर वार्ता भएको थियो।
भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा छ। तर, दुवै देशले स्वीकार्ने गरी सीमा रेखा नकोरिँदा दशकौँदेखि विवाद सल्टिएको छैन।
सीमा विवाद चर्किंदै गएपछि दुई देशबीच सन् १९६२ मा एक महिना लामो युद्ध समेत भएको थियो। सो युद्धमा भारतले हार बेहोरेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया