राजनीति


टिकट वितरणबारे ओलीको अभिव्यक्तिमा बास्कोटाको टिप्पणी: 'आगो छादून् कि बरफ बर्साऊन्'

टिकट वितरणबारे ओलीको अभिव्यक्तिमा बास्कोटाको टिप्पणी: 'आगो छादून् कि बरफ बर्साऊन्'

नेपालखबर
माघ १०, २०८२ शनिबार २०:५१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको टिकट वितरणबारे दिएको अभिव्यक्तिप्रति केन्द्रीय सदस्य गोकुल बास्कोटाले पनि टिप्पणी गरेका छन्। 

ओलीले हालै एक अन्तर्वार्तामा कार्यकर्ता विभाजित बनाएकाले बास्कोटालाई यसपटक उम्मेदवार नबनाइएको बताएका थिए। 

त्यस विषयमा बास्कोटाले शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। 

उनले ओलीको नाम नलिईकन पूर्वाग्रह र प्रतिशोध प्रजातन्त्रिक गुण नभएको टिप्पणी गरेका हुन्। 

‘सत्य जाँचून् कि आफ्नै आग्रह, आगो छादून् कि बरफ बर्साऊन्, त्यो मेरो विषय परेन’, बास्कोटाले लेखेका छन्, ‘मेरो धर्म, कर्तव्य र दायित्व म भुल्न सक्दिनँ। पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण हैन, जननेता मदन भण्डारीको यो भनाइ मेरो राजनीतिक आदर्श हो।’

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पूर्वमन्त्रीसमेत रहेका बास्कोटा काभ्रे-२ बाट एकल सिफारिस भएका थिए। तर अध्यक्ष ओलीले उनलाई टिकट नदिएर धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई दिए। 

ओलीले अन्तर्वार्तामा बास्कोटासहित उपमहासचिव योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डे र बिन्दा पाण्डेलाई चुनाव जित्ने अवस्था नरहेकाले यसपालि टिकट नदिइएको बताएका थिए।  

यसअघि योगेश भट्टराई र सुरेन्द्र पाण्डेले पनि ओलीको अभिव्यक्तिविरुद्ध जवाफ फर्काइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad