वाम विचारकद्वय विश्वेश्वरप्रसाद कोइराला (बीपी) र पुष्पलाल श्रेष्ठले राजा पनि बोल्न नसकिरहेको जहानियाँ राणा शासनका बेला शुरू गरेको समाजवाद र साम्यवादतर्फको यात्रा लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा दिशाविहीन बन्न पुगेको छ।
संघीय संसद्मा सांसदका प्रश्नको उत्तर दिने क्रममा गत जेठ २८ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतका सरकारको भन्दा फरक बजेट भएको दाबी गर्न कम्युनिस्टलाई अघि सारे। अर्थशास्त्रीसमेत रहेका डा. वाग्लेले संसद्को रोस्टमबाट भने, ‘यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको कार्यक्रम हो।’
झण्डै दुई तिहाईको शक्तिशाली सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा गरिब, विपिन्न, सीमान्तकृतका लागि ठोस कार्यक्रम नभएको सांसदहरूले औंल्याएका थिए। निम्न र निम्न-मध्यम वर्गभन्दा मध्यम र उच्च-मध्यम वर्ग केन्द्रित बजेट भएको प्रतिनिधि सभाका सदस्यहरूको विश्लेषण थियो। त्यसको बचाउमा उनी कम्युनिस्ट सरकारको बजेटसँग तुलना गर्न पुगेका हुन्।
त्यसअघि बजेटकै सन्दर्भमा जेठ २२ मा काठमाडौंमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री डा.वाग्लेले त्यस्तै अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनी कम्युनिस्टभन्दा अघि बढेर वामपन्थीको आलोचना गर्न पुगे। ‘विशेषगरी वामपन्थी पृष्ठभूमिका केही साथीहरूलाई गरिबको नाममा राजनीति गर्ने तर व्यवहारमा क्रोनी क्यापिटालिज्म (आसेपासे पूँजीवाद) लाई संरक्षण गर्ने विकृत राजनीतिक मोडलको अन्त्य गर्न खोजिएको कुरा सहज रुपमा स्वीकार्न कठिन भएको हुनसक्छ,’ अर्थमन्त्री वाग्लेले थपे, ‘हामीले त्यही विकृत संरचनालाई भत्काउने प्रयास गरेका छौं।’
जेनजी विद्रोहको बलमा सत्तामा पुग्न सफल भएको रास्वपाका उपसभापतिसमेत रहेका डा.वाग्लेको भनाइले सरकार कहाँ उभिएको छ भन्ने त स्पष्ट पार्छ नै, वामपन्थी दल कहाँ बिराए भन्ने संकेत पनि गर्छ। वाम दलले सैद्धान्तिक रुपमा गरिब, विपन्न, मजदूर, अल्पसंख्यक, सीमान्तकृतलगायत पिँधमा रहेका नागरिकको मुद्दा त उठाए तर व्यवहारमा उनीहरूको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउन सकेनन्।
सत्तामा आउँदा जुन वर्गका लागि काम गर्नुपर्ने हो, त्यो वर्गका लागि काम गर्न नसकिएको वाम दलका नेता तथा कार्यकर्ता पनि औंल्याउँछन्। जसले गर्दा फागुन २१ को प्रतिनिधि सभाको चुनावमा नराम्रोसँग पराजित हुनु परेको उनीहरू ठम्याइ छ। वाम दल कमजोर हुनुको कारण सुनाउँदै पोखरा महानगरपालिका-१७ की वडाध्यक्षसमेत रहेकी नेकपा (एमाले) नेत्री राधिका शाही भन्छिन्, ‘जुन वापमन्थी सिद्धान्त थियो, त्यो सिद्धान्तअनुसार नचल्दा वामपन्थी दल कमजोर भएका हुन्।’
राजनीतिशास्त्री एवं विश्लेषक मानुषी यमी भट्टराई वाम दलले आम नागरिकको जीवनसँग जोड्नुपर्ने अर्थ-राजनीतिलाई ध्यान दिन नसकेको औंल्याउँछिन्। ‘मुख्यतः वामपन्थीहरूको बलियो पक्ष भनेको त अर्थ-राजनीति हो। राजनीतिक अधिकारले मात्रै हुँदैन, आर्थिक अवस्था पनि प्रतिबिम्बित हुनुपर्छ,’ भट्टराई भन्छिन्, ‘नेपालका वामपन्थी दलले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन सकेनन्।’
यससँगै वाम दलका नेताले अंगिकार गरेको सिद्धान्तसँग आफ्नै दैनिक जीवनको तालमेल मिलाउन नसकेको उनको ठम्याइ छ। राजनीतिशास्त्री भट्टराई भन्छिन्, ‘जे वामपन्थी सैद्धान्तिक आदर्श बोेकेका थिए, त्यसलाई व्यवहारमा उतार्न सकेनन्।’
वामपन्थी दल र नेतृत्वले अंगिकार गरेको सिद्धान्तअनुसार, काम गर्न नसकेको लेखक एवं वाम विश्लेषक राजेन्द्र महर्जनको पनि ठहर छ। ‘वामपन्थको सार, दृष्टिकोण बोक्दै काम गरेको भए, व्यवहार देखाएको भए, आफ्नो आचरण या संस्कृति बनाएको भए यो समस्या आउँदैनथियो,’ विश्लेषक महर्जन भन्छन्, ‘एउटै वाक्यमा भन्दा वामपन्थ नभएकाले वामपन्थी हारे, कमजोर भए।’
त्यसो भए, वाम दल र नेतृत्वले व्यवहारमा उतार्न नसकेको त्यो वामपन्थी सिद्धान्त के हो? वामपन्थ र दक्षिणपन्थबारे चर्चा गरौं।
के हो वामपन्थ?
वैचारिक प्रभाव र परिवर्तनका दृष्टिकोणले संसारभरी नै सबैभन्दा सफल मानिने फ्रान्सेली क्रान्तिसँगै राजनीतिमा वामपन्थी र दक्षिणपन्थी विचारको पनि उदय भएका हो। फ्रान्सेली क्रान्तिले गति लिँदै गर्दा आन्दोलनकारीले पेरिसको बास्टिन किल्लामा आक्रमण गरेको दुई महिनापछि सन् १७८९ को सेप्टेम्बरमा फ्रान्समा राष्ट्रिय सभा (नेसनल एसेम्ब्ली) गठन भयो। त्यो राष्ट्रिय सभाको काम नयाँ संविधान लेख्नु रहेको अमेरिकाको हार्वर्ड विश्वविद्यालयका फ्रान्सेली इतिहासका प्राध्यापक पेट्रिस हिगोनेटले केही समयअघि टाइम म्यागजिनसँगको कुराकानीमा उल्लेख गरेका छन्।
फ्रान्सेली राष्ट्रिय सभामा बहसका क्रममा दुवै पक्षका सदस्यबीच चर्काचर्की हुन थाल्यो। त्यसपछि राजा लुई सोह्रौं पक्षका सदस्यहरू सभाध्यक्षको दायाँतिरको लबीमा बस्न थालेको ‘जर्नल अफ ब्यारोन डे गोभिन’मा उल्लेख छ। त्यतिबेलाका राजा पक्षकै सदस्य ब्यारोन डे गोभिनले आफ्नो डायरीमा लेखेका छन्, ‘हामीले एकअर्कालाई चिन्न थाल्यौं। धर्म र राजाप्रति बफादार रहेकाहरूले कुर्सीको दायाँतर्फ स्थान लिए, ताकि विरोधी खेमामा चल्ने होहल्ला, गालीगलौज र अभद्र व्यवहारबाट बच्न सकियोस्।’
दिन प्रतिदिन यो क्रम बढ्दै गयो। राजा पक्षका सदस्य सभाध्यक्षको दायाँतिर बस्न थाले। जो परम्परावादी, राजा र चर्चका समर्थक थिए। उनीहरू राजाको शक्ति कायम राख्नुपर्ने र पुरानै व्यवस्था ठीक मान्ने मत राख्थे।
सभाध्यक्षको बायाँतिर क्रान्तिकारी, परिवर्तनकारी र राजाको अधिकार कटौती गर्नुपर्ने पक्षका सदस्य रहे। उनीहरू पूर्ण प्रजातन्त्र, समानता र परिवर्तन हुनुपर्ने मत राख्थे।

अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका फ्रान्सको प्रारम्भिक आधुनिक इतिहासका प्राध्यापक डेभिड ए. बेल विशेष गरेर राजासँग पूर्ण अधिकार राख्ने कि नराख्ने भन्ने विषयमा विभाजन भएको बताउँछन्। राजासँग पूर्ण अधिकार हुनुपर्छ भन्नेहरू दायाँतिर र राजाको अधिकार कटौती गर्नुपर्छ भन्नेहरू बायाँतर्फ बसेको प्राध्यापक बेलले टाइम म्यागेजिनसँग भनेका छन्।
यसरी राष्ट्रिय सभामा दायाँ र बायाँ बस्ने शैलीलाई फ्रान्सेली पत्रपत्रिकाले ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ भनेर लेख्न थाले। त्यसपछिका फ्रान्सेली संसद् बैठकमा पनि दायाँ र बायाँ बस्ने क्रम चलिरह्यो। झण्डै पौने शताब्दिपछि संसद्को सिटबाट माथि उठेर यसले राजनीतिक विचारधाराको रुप लियो। त्यतिबेला परम्परावादी तथा पूँजीवादीलाई ‘दक्षिणपन्थी’ र प्रगतिशील, परिवर्तनकारीलाई ‘वामपन्थी’ भन्ने गरिएको पाइन्छ।
फ्रान्सबाट विस्तारै संसारका अन्य भागमा पनि फैलियो, वामपन्थी र दक्षिणपन्थी विचार। संसारका अनेक देशमा परिवर्तन खोज्नेहरूले स्थानीय परिस्थिति अनुसार अंगिकार गर्दै गए। २०औँ शताब्दिको शुरुवातामा सोभियत संघमा मजदूर र मालिकको संघर्षको रुपमा प्रयोग गरियो। मजदूरका पक्षमा बोल्ने वामपन्थी र मालिकको पक्षमा बोल्ने दक्षिणपन्थी कहलिए।
त्यस्तै, अफ्रिकामा औपनिवेशिकविरुद्ध लाग्नेहरू वामपन्थी भए भने समर्थक दक्षिणपन्थी ठानिए। अमेरिकामा अस्वेतको अधिकारका लागि लागि आवाज उठाउनेहरू वापमन्थी भए भने स्वेत सर्वोच्चता यथावत रहनुपर्ने पक्षमा उभिनेहरू दक्षिणपन्थी भए। भारतीय स्वतन्त्रता संग्राम सँगसँगै सामाजिक न्याय, जातीय विभेद्को अन्त्य, महिला अधिकारका पक्षमा उभिनेहरू जवाहरलाल नेहरु, सुभाषचन्द्र बोस, ज्योति बसुलगायतका नेताहरू वामपन्थी विचारक बनेर परिचित बने।
नेपालमा कसरी भित्रियो वामपन्थ?
काठमाडौं-पेरिस सात हजार २५९ किलोमिटरको हवाई यात्रा एक दिनमै तय हुन्छ भने नौ हजार दुई सय किलोमिटरको स्थलमार्ग प्रयोग गर्दा पनि पाँच दिनमा पुगिन्छ। तर, फ्रान्सबाट वामपन्थलाई नेपाल आइपुग्न झण्डै डेढ सय लाग्यो।
राणा शासनविरुद्ध नेपाली जुरुमुराउन थालेताका नै वामपन्थी विचार पनि भित्रिएको वाम अध्येताहरू बताउँछन्। ‘नेपालमा दुई तरिकाले वामपन्थ भित्रिएको पाइन्छ, पहिलो वैचारिक रुपमा र दोस्रो संगठनका रुपमा,’ वाम विश्लेषक महर्जन भन्छन्।
उनका अनुसार, राणाकालमै अन्तर्राष्ट्रिय रुपमा विभिन्न विचार सुन्ने, पढ्ने, लेख्ने कामहरू शुरू भएका थिए। नेपालको सम्पर्क, सम्बन्ध र अध्ययन पनि विस्तार हुँदै गएको थियो। ‘राणा शासनविरुद्ध, त्यतिबेलाको सामन्तवादी नीति र कामको विरुद्ध मान्छे संगठित हुन थाले, लेख्न थाले, पढ्न थाले। यो वामपन्थको एउटा वैचारिक प्रभाव भयो,’ उनी भन्छन्।
दोस्रो, १९८८ सालमा अखण्डमान सिंह, मैनाबहादुर खत्री, खड्गमान सिंह, रंगनाथ शर्मा, उमेशविक्रम शाह र लक्ष्मण राजले प्रचण्ड गोर्खा गठन गरे। राणा सरकारले त्यसमाथि प्रतिबन्ध लगाएपछि टंकप्रसाद आचार्य र दशरथ चन्दलगायतले १९९३ सालमा प्रजा परिषद् गठन गरे भने शुक्रराज शास्त्रीलगायतले १९९४ सालमा नेपाल नागरिक अधिकार समिति गठन गरे। ‘राणालाई हटाउने भनेर गरेको त्यो समयको वापमन्थी राजनीति जस्तो लाग्छ,’ महर्जन भन्छन्।

त्यसपछि राणा शासनविरुद्ध लड्न विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतले २००४ सालमा नेपाली कांग्रेस र पुष्पलाल श्रेष्ठलगायतले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे। भारतीय स्वतन्त्रता संग्राममा सहभागी समाजवादी तथा कम्युनिस्ट नेताहरूबाट प्रभावित भएर तथा सहयोग पाएर कांग्रेस र कम्युनिस्ट पार्टी स्थापना भएका थिए।
‘संगठित रुपमा, राजनीतिक दलकै रुपमा नेपाली कांग्रेस वापमन्थको तत्वसहित आएको थियो। रूसी क्रान्ति, लेनिनबाट प्रभावित भएकाहरूले कम्युनिस्ट पार्टीकै स्थापना गरे,’ वाम अध्यता महर्जन भन्छन्, ‘वामपन्थी विचार पहिल्यै आइसकेको थियो। त्यही विचार बोकेर समाजवाद स्थापना गर्ने, गणतन्त्र स्थापना गर्ने भनेर राजनीतिक दल बने।’
नेपाल भित्रिँदासम्म वामपन्थका अनेक आयाम विस्तार भइसकेका थिए। आजको दिनसम्म आइपुग्दा त समय, समाज र समसामयिक घटनाक्रममा उभिने स्थानका आधारमा वामपन्थी र दक्षिणपन्थी छुट्टिन्छन्। फ्रान्समा वामपन्थको उदय हुने बेला राजाको पक्षमा उभिनेहरू दक्षिणपन्थी मानिएका थिए। पछिल्लो सवा दुई सय वर्षमा विविधि आयाम थपिँदै जाँदा हाल अरुको भन्दा आफ्नो राष्ट्रियता, धर्म, भाषा, जात, लैंगिकता, रंगलाई सर्वश्रेष्ठ ठानेर गौरव गर्ने तथा व्यवहारमा प्रदर्शन गर्नेहरू दक्षिणपन्थी सूचीमा पर्छन्। उनीहरू धर्म, भाषा, जात, लैंगिकताका आधारमा अल्पसंख्यकको अधिकारको कुरा गर्दा मौन बस्छन्।
यसको विपरीत गरिब, अल्पसंख्यक, सीमान्तकृतलगायत समाजको पिँधमा रहेका नागरिक तथा समूदायको अधिकारको पक्षमा बोल्नेहरू वामपन्थी हुन्। अझ मानव अधिकारसँगसँगै बाल अधिकार, ज्येष्ठ नागरिकको अधिकार, महिला अधिकारको कुरा गर्नेहरू पनि वामपन्थी कित्तामै पर्छन्। अब त नारीवादी भएर मात्रै पुग्दैन, यौनिक र लैंगिक अल्पसंख्यकको अधिकारको पक्ष वा विपक्षले पनि वामपन्थी र दक्षिणपन्थीको सीमा निर्धारण गर्छ।
राजनीतिशास्त्री भट्टराई भने अधिकारको कुराले मात्रै वामपन्थी र दक्षिणपन्थी नछुट्टिने बताउँछिन्। समाजको पिँधमा रहेका नागरिकलाई स्रोतसाधनको पुनर्वितरण नीतिका आधारमा वामपन्थी र दक्षिणपन्थी हेर्नुपर्ने उनको भनाइ छ। ‘सामाजिक न्याय, कानुनको शानस त जसले पनि बोल्ने कुरा भयो। अधिनायकवादीबाहेक दक्षिणपन्थी र वामपन्थी सबैले बोल्छन् यो भाषा त,’ भट्टराई थप्छिन्, ‘मुलतः स्रोतसाधनको पुनर्वितरणको मुद्दामा कसले के बोल्छ भन्ने नै हो।’
यही विचारको भिन्नताका आधारमा हाम्रा राजनीतिक दल तथा नेतालाई पनि वामपन्थी र दक्षिणपन्थीमा छुट्याउन सकिन्छ। अब नेपालका राजनीतिक दलको आधारभूत चरित्रबारे चर्चा गरौं।
कुन पार्टी कता?
हाल क्रियाशील राजनीतिक पार्टीमध्ये वामपन्थी विचारधारा अंगालेर स्थापना भएको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस नै हो। राणा शासनविरुद्ध संघर्ष गर्न स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसमा समाजवादी र साम्यवादी दुवै विचार बोकेका नेता तथा कार्यकर्ता सहभागी थिए। पछि २००५ सालमा आएर बीपी नेतृत्वको नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशम्शेर राणाको पहलमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेस बन्यो।
समाजवादी विचार बोकेका नेता नेपाली कांग्रेसमा बसे भने साम्यवादी विचार बोकेका नेताहरू अगल भए। उनीहरूले पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेको इतिहास छ। बीपी नेतृत्वको कांग्रेसबाट अलग हुनुको कारण देखाउँदै पुष्पलालले ‘नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास’मा लेखेका छन्, ‘नेपाली राष्ट्रिय कांग्रेसको जुन गठन भएको थियो, त्यसले राणाशाहीका विरुद्ध सम्झौतारहित संघर्ष गर्नुको साटो एक त सम्झौतामा पस्ने बाटो हेर्न लागेका थिए भने अर्को आपसमा नै कलह गर्न लागेका थिए। त्यस्तो अवस्थामा म नेपाली कांग्रेसबाट अलग भएँ।’
कांग्रेसका संस्थापक बीपी कोइराला पनि किशोरावस्थामा कम्युनिस्टबाटै प्रभावित थिए। उनले ‘आफ्नो कथा’मा लेखेका छन्, ‘यसो विचार गरेर ल्याउँदा म एउटा बडो आश्चर्यजनक परिणाममा पुग्छु, आफ्नो सम्बन्धमा। माक्र्स भनूँ, लेलिन या गान्धी भनूँ, केवल बुद्धबाहेक मेरा आदर्श पुरुष एउटा पनि नेपालको इतिहासमा पाइँदैनन्।’
अझ ‘जेल जर्नल’मा त कम्युनिस्टको संगतले नै बीपी कोइराला भौतिकवादी भएको उल्लेख छ। राजा महेन्द्रले प्रधानमन्त्रीबाट अपदस्त गरेर २०१७ पुस १ मा जेल हालेका थिए। सुन्दरीजल जेलमा रहेका बेला २०२० साउन १० मा बीपीले आफ्नो डायरीमा लेखेका छन्, ‘कम्युनिस्टको संगतले हाठत् एउटा नयाँ लोकमा मेरो आँखा खूलाय, जुन लोकमा मानौं यावत् कुराहरू स्पष्ट र धूम-मुक्त थिए। बुद्धिले बडो उत्साहका साथ भौतिकवादलाई ग्रहण ग¥यो र त्यसरी म भौतिकवादी हुँदै गएँ र आज म आफूलाई द्विविधारहित मनले भौतिकवादी भनी स्वीकार गर्छु।’
पछि जवाहरलाल नेहरू, मनोहरलाल लोहियालगायतका भारतीय समाजवादी नेताको संगत र प्रभावले बीपी साम्यवादीबाट समाजवादी विचारतिर मोडिएको पाइन्छ।
बीपीदेखि लिएर गगन थापासम्म आइपुग्दा पनि कांग्रेसको सैद्धान्तिक आदर्श उही छ, राष्ट्रियता, लोकतन्त्र र समाजवाद। के अहिले पनि कांग्रेस बीपीकै पालाको जस्तो मध्य-वामपन्थी धारमै छ? कांग्रेस र बीपीबारे अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं अध्येता जगत नेपाल भन्छन्, ‘कांग्रेसको दर्शन त्यही नै छ, बीपीको पालाकै छ तर व्यवहारमा छैन।’
राजनीतिक दलको यात्रामा नेतृत्वले पनि फरक पार्छ। नेपाल विद्यार्थी संघको महामन्त्री र कांग्रेस सभापति हुँदाका गगन थापा मात्रै होइन, दशकअघि र अहिलेका थापा पनि विचारका हिसाबले फरक देखिन्छन्। विशेष गरेर धर्मलाई लिएर थापाको यात्रा दक्षिणपन्थतिर ढल्किन्छ।

२०७२ सालमा कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्री उम्मेदवारताका थापाको बाक्लो कपाल र फराकिलो निधार खाली हुन्थ्यो भने विशेष महाधिवेशनबाट सभापति बनेका थापाको निधारमा रातो र पहेलो टीका त थपिएको छ नै, कपाल झरे पनि कपालमाथि फूलका पत्र अड्किरहन्छन्।
समाजवादीभन्दा अझ बढी प्रगतिशील पार्टी बनाउन पुष्पलालले २००६ सालमा स्थापना गरेको कम्युनिस्ट पार्टी पनि दर्शनौं टुक्राटुक्रीमा विभाजित छ। प्रभावका हिसाबले अग्रस्थानमा रहेका नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बोकिरहेको विचारधारामा त त्यतिधेरै फरक आएको छैन, तर नेतृत्वले हिड्ने बाटोले भने फरक देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू राष्ट्रियता र धर्मलाई लिएर वापमन्थी सुनिँदैनन्। राजनीतिक स्वार्थका लागि हिन्दूधर्मको आड लिन खोजेको देखिन्छ।
वाम विश्लेषक महर्जन साइनबोर्ड वामपन्थको लगाए पनि काम चाहिँ दक्षिणपन्थकै गरिरहेको तर्क गर्छन्। ‘जस्तो निकै राष्ट्रवादी भएर चुच्चे नक्साको कुरा गर्छन्। तर, देशका नागरिकको गरिबी, बेरोजगारी, निरासाबारे केही बोल्दैन, उनीहरूका लागि केही पनि काम गर्दैनन्,’ महर्जन भन्छन्।

पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालगायतले २०४७ सालमा स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले त शुरुआतदेखि नै दक्षिणपन्थी विचार बोक्दै आएको छ। चन्द र थापाले मध्य-दक्षिणपन्थी धारमा उभ्याउन खोजे पनि पछिल्लो समय राप्रपा अझ पछाडि फर्किरहेको देखिन्छ। हिन्दूराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वभाविक रुपमा दक्षिणपन्थी विचार बोक्छन्। जस्तो काठमाडौंको थापाथलीबाट बलजफ्ती हटाइएका सुकुम्वासीको भन्दा उनी पूर्वराजा ज्ञानेन्द्रको पक्षमा मुखरर सुनिन्छन्।
जेनजी विद्रोहको बलमा सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ढुलमुलमै देखिन्छ। रास्वपा अझै पनि राजनीतिक अभियानबाट राजनीतिक दल बन्ने प्रक्रियामै रहेकाले विचारमा स्पष्टता आउन समय लाग्छ नै। चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनमा संस्थापक सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा दल बन्ने प्रक्रियामै रहेको स्वीकारेका छन्।
‘स्थापना भएको चार वर्ष पुगे पनि विभिन्न कारणले राष्ट्रिय स्वतन्त्र पार्टी अझै पनि राजनीतिक अभियानबाट संस्थागत राजनीतिक दलमा रुपान्तरण भइरहेको संक्रमणकालमै छ,’ लामिछानेले भनेका छन्, ‘जनमतबाट हाम्रो शानदार संसदीय आधार त तय भएको छ तर दीर्घकालीन राजनीतिक शक्तिको आधार लोकप्रियता मात्र हुनसक्दैन। त्यसका लागि त वैचारिक स्पष्टता, विधिमा आधारित नेतृत्व विकास र प्रभावकारी संगठनात्मक संरचना अपरिहार्य छ।’
यहि संक्रमणबीच वैचारिक स्पष्टता खोज्ने प्रयासमा रास्वपा देखिन्छ। स्थापना हुँदा ‘संवैधानिक समाजवाद’लाई अघि सारेको रास्वपाले चार वर्षमै त्यसलाई छोडेर चितवन महाधिवेशनबाट ‘सामाजिक लोकतन्त्र’लाई पारित गरेको छ। ‘हामी परम्परागत वामपन्थी वा दक्षिणपन्थी होइनौं र जानिबुझी त्यो राजनीतिक ध्रुवीकरणमा सीमित छैनौं,’ लामिछानेले विचारबारे स्पष्ट पार्न खोज्दै राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘राजनीतिक रुपमा हालसम्म प्राप्त उपलब्धिको स्थायित्व र सुदृढिकरण, नेपालको वर्तमान आर्थिक सामाजिक परिस्थिति र नागरिकले आश गरेको राज्यको आधारभूत चरित्रको विश्लेषणका आधारमा हामीले सामाजिक लोकतन्त्रलाई पार्टीको मूल राजनीतिक सिद्धान्तका रुपमा अंगीकार गर्ने निश्कर्ष निकालेका छौं।’
लामिछानेले रास्वपालाई मध्यपन्थी बाटोमा हिडाउन खोजेका छन्। के यस्तो सम्भव हुन्छ? राजनीतिशास्त्री भट्टराई भन्छिन्, ‘यो मध्यपन्थी भन्ने हुँदैन। ऐन मौकामा कि वामपन्थी हुन्छ कि दक्षिणपन्थी नै हुन्छ। सधैभरी सबैलाई रिझाएर राख्ने भन्ने त हुँदैन।’

रास्वपाले मध्यपन्थी बाटो अंगाल्नु खोज्नुमा सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले बोकेको विचारको पनि प्रभाव परेको छ। समाजवाद, सामाजिक न्याय, गरिब, किसान र मजदूूरको कुरा गर्दै आएका लामिछाने मध्य-वामपन्थतिर उभिन खोजेको देखिन्छ भने वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह मध्य-दक्षिणपन्थी विचार बोक्दै आएका छन्।
काठमाडौंको मेयर हुँदा गरिब, किसान, मजदूरलाई लखेटेर मध्य र उच्च-मध्यम वर्गको पक्षमा काम गरेका शाहले प्रधानमन्त्री भएपछि पनि सेना र प्रहरीको बलमा सुकुम्वासी बस्तीमाथि डोजर चलाएर पुरानै बाटो हिडिरहेको देखाएका छन्। अझ संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले संघीयता, राजतन्त्र, धर्मनिरपेक्षतालगायतका विषयमा गरेको छलफलले शाहको दक्षिणपन्थी यात्रा यथावत रहेको संकेत गर्छ।
अर्को, नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीले विचारमा स्पष्टता ल्याउन बाँकी नै छ। श्रम संस्कति पार्टीका संस्थापक अध्यक्ष हर्क साम्पाङले श्रमका कुरा गरे पनि धरान उपमहानगरको मेयर हुँदा श्रमिक, गरिब, सीमान्तकृतलगायत समाजको पिँधमा रहेका नागरिकको पक्षमा काम गरेको देखिएन।
त्यस्तै, अहिले संसद्मा प्रतिनिधित्व नगरेका कम्युनिस्ट पार्टी त वामपन्थी धारमा उभिउँदै आएका छन् नै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि मध्य-वामपन्थी खेमामै देखिन्छन्।
कहाँ बिराए वाम दल?
प्रतिनिधि सभामा रास्वपाले एकलौटी जितेको प्रदेश हो, मधेश। मधेशी मुलका वालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपाले मधेशको राजधानी जनकपुरधामबाटै चुनावी अभियान शुरू गरेको थियो। मधेशका ३२ मध्ये ३० सिट रास्वपाले जित्यो भने रौतहट-२ बाट कांग्रेसका मोहम्मद फिरदोश आलम र धनुषा-१ बाट नेकपाका मातृका यादव निर्वाचित भए। काठमाडौं छोडेर मधेश झरेका कांग्रेस सभापति गगन थापा सर्लाही-४ मा रास्वपाका डा. अमरेशकुमार सिंहसँग पराजित भए।
मधेश त कांग्रेसको उद्गमस्थल पनि हो। बीपीले मधेशबाटै राणा शासनविरुद्ध क्रान्तिको बिगुल फुकेका थिए। कसरी मधेशमै नराम्ररी पराजित भयो? सभापति थापा पराजित भएको सर्लाही-४ मा पर्ने बलरा नगरपालिका-७ का वडाध्यक्षसमेत रहेका कांग्रेसका स्थानीय नेता प्रविनकुमार साह चार वटा कारण सुनाउँछन्। ‘आम जनमानसमा कांग्रेस, एमाले, माओवादीले देश डुबाइलियो, भ्रष्टाचार गरिलियो। विकल्पमा रास्वपा छ, यसले केही काम गर्छ भन्ने भाष्यले प्रभाव पार्यो,’ साह भन्छन्।
दोस्रो, बालेनको अनुहारले काम गरेको उनको बुझाइ छ। ‘मधेशीलाई प्रधानमन्त्री बनाउने मौका आएको छ। यो मौका गुम्यो भने जिन्दगीमा कहिल्यै पनि मधेशी प्रधानमन्त्री हुँदैन भन्ने प्रचार भयो,’ उनी भन्छन्।
तेस्रो, पुराना दललाई जेनजी विद्रोहमा ‘बालबालिका मार्ने’का रुपमा चित्रित गरिएको साह बताउँछन्। चौथो, थापालाई बाहिरिया भनेर प्रचार गरिएको उनको भनाइ छ। ‘बहरिया पहरिया भन्ने नारा खुब चल्यो। अमरेश भनेको गाउँठाउँको मान्छे हो, सधै भेट हुने हो। गगनले चुनाव जितेपछि आउँदैन भनेर धेरै प्रचार भयो,’ साह थप्छन्, ‘गगन पहाडी मान्छे हो, अमरेश मधेशी मूलको मान्छे हो भन्नेले पनि काम गर्यो।’
कांग्रेस सभापति थापाजस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा-५ मा रास्वपा वरिष्ठ नेता शाहसँग नराम्ररी पराजित भए। यही निर्वाचन क्षेत्रमा पर्ने दमक नगरपालिका-९ का वडाध्यक्षसमेत रहेका एमाले स्थानीय नेता कुबेर भट्टराईको बुझाइ फरक छ। ‘मान्छेलाई जस्तोसुकै अवस्थामा पनि परिवर्तन चाहिन्छ। अहिले जनताले पनि परिवर्तन खोजे,’ भट्टराई उदाहरण दिन्छन्, ‘धेरैलाई सर्टस् र रिल किन मन पर्छ भने छिनछिनमै फेरिन्छ, लामो भिडिओ मोनोटोनस हुन्छ। जनताले पनि एउटैसँग मोनोटोनस भइरहँदा अर्को हेरे।’
कुनै व्यक्ति विशेषभन्दा पनि समग्र राजनीतिक दलका गतिविधि नै जनतालाई झ्याउँलाग्दो बनेको उनको बुझाइ छ। चुनावअघि र चुनावपछि पनि धेरैले ओलीले यो क्षेत्रमा राम्रै काम गरेको बताएको सुनाउँदै भट्टराई भन्छन्, ‘पार्टी संगठन, तौरतरिका, भाषा, हरेक क्रियाकलाप, गतिविधि, बजेट व्यवस्थापन सबै मोनोटोनस भए। त्यसैले जनताले राम्रो नराम्रोभन्दा पनि नयाँपन खोजे।’
जनतालाई नयाँपन दिनका लागि वामपन्थी दल अहिलेको समय अनुसार अध्यावधिक हुन नसकेको उनको भनाइ छ। ‘वामपन्थी दलले समय कालखण्ड अनुसार आफ्ना कार्यनीति, व्यवस्थापन, नेतृत्वलगायत हरेक कुरामा अपडेटेड हुनुपर्थ्यो,’ उनी थप्छन्, ‘समग्रमा मन नपराएको होइन। अपडेटेड भए यहि नै मन पर्थ्यो, नहुँदा पछि पर्यौं।’
पूर्वका भट्टाराईको मात्रै होइन, सुदूरपश्चिमका नागिसिंह खडायत पनि वाम दलले समयसँग जनताको परख लिन नसकेको सुनाउँछन्। २०७९ सालको स्थानीय चुनावमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट बैतडीको पुर्चौडी नगरपालिका-५ को वडाध्यक्ष निर्वाचित भएका खडायत नागरिकमा पुराना दलप्रति बढ्दै गएको वितृष्णाले पनि काम गरेको बताउँछन्। ‘पार्टीभित्रै पनि अवसरवादी नेता तथा कार्यकर्ता चिन्न नसक्नु पनि कमजोरी भयो,’ उनी भन्छन्, ‘विगतमा कुनै अवसर नपाएका कार्यकर्ता अहिले पनि खटिएकै छन्। नेताको नजिक भएर जसले अवसर पाएका थिए, उनीहरू अझ बढी अवसरका लागि नयाँ पार्टीतिर गए। उनैले जनता र कार्यकर्तालाई भड्काए।’
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा पछिल्ला पाँच चुनावमा कांग्रेस, माओवादी र एमालेले जितेका थिए। वामपन्थी प्रभाव क्षेत्र रहेको बैतडीमा यस पटक कांग्रेस छोडेर रास्वपामा गएका हरिमोहन भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।
अझ कम्युनिस्टको गढ मानिने प्युठानमा पनि यस्तै भयो। वाम पृष्ठभूमिका चार दलका उम्मेदवार प्रतिस्पर्धा गर्दा रास्वपाका ३१ वर्षीय सुशान्त वैदिक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। प्युठानको माण्डपी गाउँपालिका-४ का वडाध्यक्षसमेत रहेका नेकपा (माओवादी)का स्थानीय नेता दिल घर्ती मगर वामपन्थी दलले गरिब, किसान, मजदूरका मुद्दा बिर्सिंदा ‘कम्युनिस्टको जन्मथलो’मा पनि हार्नु परेको बताउँछन्।
‘वाम दलले आफ्नो वर्गलाई बिर्सिए, अनि अरुले मौका पाए,’ माओवादी सेनाका कमाण्डर समेत रहेका मगर भन्छन्, ‘नौकरीका लागि धेरै भारत जान्छन्। रास्वपाका नेताले नौकरीका लागि भारत जानुपर्दैन, देशमै उद्योग खोल्छौं, सय दिनमा कायापलट गर्छौं भनेर जनतालाई फकाए।’
माओवादी सेना समायोजन हुँदा राजनीति रोजेका उनी अहिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)मा संलग्न छन्। २०७९ सालको स्थानीय चुनावमा हसियाँ हतौडा चिह्नबाट निर्वाचित भएका मगर रोजगारी सिर्जना गर्नु नसक्नु नै ठूलो कमजोरी भएको बताउँछन्। ‘डिग्री गरे पनि सर्टिफिकेट सिरानमा राखेर विदेश जानुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘अधिकांश परदेशमा छन्। परदेशमा रहेका मजदूरसँग वाम दल जोडिन सकेनन्। सामाजिक सञ्जालमा फिजाएको हल्लाबाट प्रभावित भएर उनीहरूले घरपरिवारलाई घण्टीमा भोट हाल्न लगाए।’
पछिल्लो समय वामपन्थी दलहरू मजदूरसँग टाढिँदै गएको उनले महसूस गरेका छन्। देशभित्रका मजदूरका हक अधिकारबारे आवाज उठाउँदै आएका भए पनि नयाँ प्रकृतिका मजदूर अर्थात वैदेशिक रोजगारमा जाने युवाका समस्या सम्बोधनका लागि बोल्न सकेका छैनन्। जबकि, आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६३ लाख नाघेको छ।
वामपन्थी दल नयाँ पुस्तासँग नजोडिनुमा पुस्तान्तरणको अभाव देख्छन्, प्युठानकै नौबहिनी गाउँपालिका-८ का वडाध्यक्षसमेत रहेका नेकपाका स्थानीय नेता मानबहादुर केसी। पछिल्लो समय पार्टी गतिविधि ठप्प हुँदा जनताले मत फेरेको केसीको बुझाइ छ। ‘तलदेखि माथिसम्म नेतृत्व जुन तरिकाले नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने हो, भएन। नयाँ पुस्तालाई नेतृत्वमा मौका नै मिलेन,’ केसी भन्छन्, ‘कार्यकर्ता हेर्ने, प्रोत्साहन गर्ने, प्रशिक्षण, स्कूलिङका कुरा ठ्याम्म रोकियो। जसले गर्दा कार्यकर्ता पलायन भए।’
राजनीतिक दलमा प्रशिक्षणको कमि भएको कास्की-२ मा पर्ने पोखरा महानगरपालिका-१७ कि वडाध्यक्षसमेत रहेकी एमाले स्थानीय नेत्री राधिका शाही पनि सुनाउँछिन्। नेता तथा कार्यकर्तालाई जनतासँग जोडिइराख्नुपर्छ भन्ने प्रशिक्षण नपुगेको बताउँदै शाही भन्छिन्, ‘चुनावमा भोट माग्न जाने, जितेपछि फेरि अर्को पटक भोट माग्न जाने परिपाटीको परिणाम हो।’
जनतामाझ पुगेर गरेको कामबारे जानकारी दिने, गर्न सकिने वा नसकिने कामबारे बताउने परिपाटी नहुँदा राम्रो कामको पनि जस लिन नसकिएको शाहीको बुझाइ छ। अर्कातिर जनताका आकांक्षा पूरा पनि गर्न नसकिएको उनी बताउँछन्। ‘जनताको आवश्यकता धेरै छ। त्यसअनुसार, तीनै तहका सरकारले कार्यक्रम ल्याउन सकेनन्। जुन कुरा घरगाउँमै पाउनुपर्ने हो, ति कुरा पनि नपाउँदाका जनताले असन्तुष्ट भएका हुन्,’ शाही थप्छिन्, ‘जहाँ पनि नेतृत्वमा पुगेपछि दोहोरिने-तेहरिने भइरह्यो। अनि कुर्सी खेल धेरै भयो।’
शहरी क्षेत्रमा पर्ने कास्की-२ मा एमालेको दबदबा रहँदै आएको थियो। यही क्षेत्रमा पर्ने पोखरा-१७ मा दुई पटक चुनाव जितेकी वडाध्यक्ष शाही यसपाली भने बेरोजगारी समस्याले पनि भूमिका खेलेको बताउँछिन्। विशेष गरेर वैदशिक रोजगारमा गएका युवामा शासकप्रति आक्रोष बढेकाले नचिताएको परिणाम आएको उनको भनाइ छ। ‘बेरोजगारी बढेकाले धेरै युवा बाहिर छन्। घण्टौं काम गर्दाको दुःख, परिवारबाट दूर भएको पीडा, विदेशको पीर, व्यथाले गर्दा नेपालको शासन प्रणालीसँग रिस उठ्छ। त्यही असन्तुष्टि भोट हाल्दा पोखिएको हो,’ उनी भन्छिन्।
सयौं नागरिकसँग दैनिक ठोक्किने वडाध्यक्ष नै हुन्। अझै नागरिकको सबैभन्दा बढी गुनासो सुन्ने पनि उनीहरू नै हुन्। वडाध्यक्षहरूकै जस्तो स्थानीय सरकार प्रमुखको पनि बुझाइ छ। कैलाली-२ मा पर्ने लम्कीचुहा नगरपालिकाकी मेयरसमेत रहेकी कांग्रेस नेत्री सुशीला शाही पनि जनतामा बढेको असन्तुष्टिकै कारण आशातित चुनावी परिणाम नआएको सुनाउँछिन्। ‘तीन वर्षमा हामीले जति सायदै कुनै स्थानीय सरकारले काम गरेको होला, तर काम गरेर मात्रै नहुँदोरहेछ,’ शाही भन्छिन्, ‘नागरिकमा असन्तुष्टि बढेको थियो, त्यसले हावाहुरी जस्तै उडायो।’
नागरिकमा वाम पृष्ठभूमिका दलप्रति किन असन्तुष्टि बढ्यो? त्रिविका उपप्राध्यापक एवं अध्येता जगत नेपाल राजनीतिक दल र नेताहरू जनता केन्द्रित नभएर शक्ति र पैसाको राजनीतिमा केन्द्रित हुँदा समस्या आएको बताउँछन्। ‘स्थापना हुँदाखेरी जनतालाई हेरेर जाने भन्ने जुन नीति थियो, त्यसमा चुके। सत्ता र पैसा कमाउनेतिर बढी केन्द्रित भए,’ नेपाल भन्छन्।
राजनीतिशास्त्री मानुषी यमी भट्टराई पनि नेताहरू आफू र आफ्ना वरिपरिका मान्छेको उत्थानमा केन्द्रित हुँदा समस्या आएको औंल्याउँछिन्। नेताहरूको जीवनयापन पारदर्शी नहुँदा, सीमित नेतृत्वको आर्थिक हैसियत बदलिँदा आफ्नै पार्टी पंक्तिका मान्छे पनि निरास हुने अवस्था सिर्जना भएको उनी बताउँछिन्। ‘वर्ग उत्थान त भएको छ, केही मान्छेको। नेताकै आसेपासे केही नगरिकनै सम्पन्न भएको, मनमौजी भएको देखे जनताले,’ उनी भन्छिन्, ‘श्रम नगरिकनै वर्ग उत्थान भएको देखेपछि जनताबाट तिरस्कृत भए।’
अर्को, वाम दलले आफूलाई समयसापेक्ष रुपमा ढाल्न नसकेको राजनीतिशास्त्री भट्टराईको बुझाइ छ। सैद्धान्तिक रुपमा पनि आफूलाई सान्दर्भिक बनाउन नसकेको उनी औंल्याउँछिन्। ‘सयौं वर्ष अगाडिको कुरालाई रटान लगाएर मान्छेले सधैं पत्याउँदैन,’ भट्टराई थप्छिन्, ‘नयाँ पुस्ताका आफ्नै किसिमका चुनौती थपिएका छन्। त्यसलाई सम्बोधन गर्न सैद्धान्तिक हिसाबले अपडेट गरिएन। त्यही पनि हस्तान्तरण र पुस्तान्तरण भएन।’
वामपन्थी दलमा आन्तरिक लोकतन्त्र बलियो नहुँदा नयाँ पुस्ता आकर्षित हुन नसकेको राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइ छ। त्यसका लागि नेतृत्वबाट हुनुपर्ने काम नभएको बताउँदै महर्जन भन्छन्, ‘आन्तरिक लोकतन्त्र निकै कमजोर भयो, नेतृत्वलाई देउता जस्तो मान्ने, प्रश्न गर्न नसक्ने खालको संस्कृति विकास भयो। त्यसले पनि डुबायो।’
ब्युतिएलान वाम दल?
जेनजी विद्रोहको ६ महिनापछि २०८२ फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपा १८२ सिट जितेर शक्तिशाली संघीय सरकार बनाउन सफल भयो। लामो समय सत्तामा रहेका पुराना दल कांग्रेस ३८, एमाले २५ र नेकपा १७ सिटमै खुम्चिए। त्यस्तै, नयाँ दल श्रम संस्कृतिले सात, राप्रपाले पाँच सिटमा पाए भने एक जना स्वतन्त्र उम्मेदवार प्रतिनिधि सभामा पुगे।
सरसर्ती हेर्दा नेपालको निर्वाचन इतिहासमा पहिलो पटक दक्षिणपन्थी दल संसद्मा हाबी भएको छ। अझै रास्वपा र राप्रपाको जोड्दा त दक्षिणपन्थी दलले दुई तिहाईभन्दा बढी सिट जितेका छन्।
एउटै चुनावले राजनीतिक दलको भविष्य त निर्धारण गर्दैन। तैपनि के वामपन्थी पृष्ठभूमिका दल ब्युँतिएलान? दैनिक सयौं नागरिकसँग भेटघाट, छलफल र उनीहरूको गुनासो सुनिरहेका स्थानीय नेता भने वामपन्थी दल ब्युतिनेमा आशावादी छन्। तर, त्यसका लागि केही सुधार गर्नैपर्ने उनीहरूको भनाइ छ।
पूर्वी नगर दमक-९ का वडाध्यक्षसमेत रहेका एमाले स्थानीय नेता कुबेर भट्टराई पहिलो सर्त अहिलको समय सान्दर्भिक बन्न अद्यावधिक हुनुपर्ने बताउँछन्। दोस्रो, वामपन्थी दलले आफ्नो संगठनात्मक संरचनामा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ। ‘जसले पनि तिनै अनुहार, तिनै अनुहार भन्छन् क्या। तलदेखि माथिसम्म संगठनमा फेरदबल ल्याएपछि चलायमान हुन्छ,’ भट्टराई थप्छन्, ‘अर्को, माथि नेतृत्वले एउटा कुरा बोलेपछि त्यही बोली, त्यही शब्दशब्द टिपेर टोल कमिटीको अध्यक्षले पनि प्रशिक्षण दिइराखेको हुन्छ। गाली समेत उस्तै हुन्छ। गाली दिनुभन्दा त बरु नबोलेरै पनि हुँदोरहेछ।’
पूर्वमा मात्रै होइन, मधेशमा पनि पुरानै स्थानमा फर्काउन सकिनेमा स्थानीय नेता विश्वस्त छन्। यसका लागि कार्यकर्ताको मूल्यांकन हुनुपर्ने कांग्रेसका स्थानीय नेता प्रविनकुमार साह बताउँछन्। ‘कांग्रेसमा कार्यकर्ताको मूल्यांकन छैन। जो नेताको चाकडी गर्छ, जे भन्यो त्यही गर्छ, उसैले अवसर पाउँछ। जो सत्य कुरामा उभिन्छ, जनताको भलोवाला कुरा गर्छ, त्यसलाई राम्रो मानिँदैन,’ सर्लाहीको बलरा-७ वडाध्यक्ष समेत रहेका साह भन्छन्, ‘असल कार्यकर्ताको मूल्यांकन हुनेवितिक्कै मान्छे आइहाल्छन्, पार्टी बलियो भइहाल्छ।’
पश्चिमका वामपन्थी स्थानीय नेता भने फरक मत राख्छन्। उनीहरू वाम दल ब्युतिनेमा त आशावादी छन्, तर त्यसका लागि सच्चिनुपर्ने बताउँछन्। ‘तलदेखि माथिसम्मका नेता तथा कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्छ। व्यक्तिगत स्वार्थ त्यागेर लाग्नुपर्छ,’ बैतडीको पुर्चौडी-५ का वडाध्यक्षसमेत रहेका नेकपाका स्थानीय नेता नागिसिंह खडायत भन्छन्, ‘हाम्रो हातबाट कमजोरी भयो, सुधार्छौं भनेर जनतामा जानुपर्छ।’
प्युठानको माण्डपी-४ का वडाध्यक्षसमेत रहेका नेकपा (माओवादी)का नेता दिल घर्ती मगर भने आत्मसमीक्षाले मात्रै नपुग्ने बताउँछन्। टुक्राटाक्रीमा विभाजित पार्टीहरू एकढिक्का हुनुपर्नेमा जोड दिन्छन्। ‘कम्युनिस्ट एक नहुँदासम्म केही हुँदैन,’ मगर थप्छन्, ‘वाम पार्टी एक हुन त गाह्रो छ, कम्युनिस्ट एक नभइ सुखै छैन।’
वामपन्थी दल ब्युँतिनेमा त पोखरा-१७ कि वडाध्यक्षसमेत रहेकी एमाले स्थानीय नेत्री राधिका शाही पनि आशावादी छिन्। तर, त्यसका लागि वामपन्थी दललाई जनतासँग जोड्नुपर्ने बताउँछिन्। ‘अरु केही गर्नुपर्दैन, कहिले कहिले टोलटोलमा गएर के छ, सन्चो विसन्चो सोधिदिँदा पनि पुग्छ। जनताले सुखदुःख आफै गरेर खाने हुन्,’ दल र नेता जनतासँग टाढिँदै गएको सुनाउदै शाही भन्छिन्, ‘जनतालाई ठूलो कुरा अरु केही चाहिँदैन, सोधपुछ गरिदिँदा पुग्छ। टोलमा पुगेर उनीहरूका कुरा सुनिदिने, ससाना कुरा पानी, धारा, बत्तीको समस्या सुल्झाइदिने, दुःख बिराम पर्दा सम्बन्धित अस्पतालमा सहजीकरण गरिदिँदा पुग्छ।’
सँगसँगै पार्टीलाई जनमुखी बनाउनुपर्ने सुदूरपश्चिमको लम्कीचुहाकी मेयरसमेत रहेकी कांग्रेस नेत्री सुशीला शाहीको मत छ। अब पुराना नेता र कार्यकर्ताले मात्रै पार्टी नचल्ने बताउँदै शाही भन्छिन्, ‘अबको आवश्यकतालाई ध्यान दिएर युवालाई समेट्ने नीति ल्याउनुपर्छ।’
स्थानीय नेताले भनेजस्तै वामपन्थी दल ब्युँतिएलान? राजनीतिक विश्लेषकहरू पुराना दल ब्युँतिने सक्ने बताउँछन्। तर त्यसका लागि केही सुधार त गर्नैपर्ने उनीहरूको सर्त छ। ‘अब फर्किदै फर्किन्न त भन्ने हुँदैन। भोलिको दिनमा जनता केन्द्रित काम गरे भने फर्किन्छन्,’ राजनीतिक विश्लेषक नेपाल भन्छन्, ‘अब भाषण गरेर, स्टन्ट गरेर मात्रै हुनेवाला छैन।’
राजनीतिशास्त्री भट्टराई भने सिद्धान्त र व्यवहारमै फर्किन्छिन्। वामपन्थी दल जसका लागि काम गर्न, जे सिद्धान्त बोकेर जन्मिएका हुन्, व्यवहारिक रुपमा पनि त्यसमै चल्नुपर्ने बताउँछिन्। ‘कोही जन्मिदैखेरी बेस्सरी धनी छन्, कोही जन्मिँदैखेरी बेस्सरी गरिब छन्। जो गरिब निमुखाका लागि काम गर्छ, त्यो चाहिँ वामपन्थी हुन्छ,’ भट्टराई थप्छिन्, ‘जन्मेदेखि पुख्र्योली रुपमा पाएको स्रोतसाधनमा त हाम्रो मेहेनत त छैन। त्यही ऐतिहासिक पृष्ठभूमि हेरेर स्रोतसाधनको पुनर्विरतण गर्नुपर्छ।’
अर्को, वामपन्थी दलले सिद्धान्तलाई पनि समसापेक्ष अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ। ‘राजनीतिका लागि चाहिने, दिशानिर्देश गर्ने जुन सिद्धान्त हो, त्यो सयौं वर्षअघि जे थियो, त्यस्तै अवस्थामा प्रयोग गरेर त भएन। त्यसलाई विकास गर्नुपर्छ,’ उनी भन्छिन्, ‘सिद्धान्तको विकास सँगसँगै नयाँ पुस्तामा हस्तान्तरण पनि गर्नुपर्छ।’
लेखक एवं वाम अध्येता महर्जन पुराना वामपन्थी दलले आफूूलाई बदल्न नसकेमा पिँधमा रहेका नागरिकका मुद्दा उठाउन, उनीहरूको समस्या सुल्झाउन नयाँ वामपन्थी दल आउने बताउँछन्। ‘पिँधमा रहेका जनताका मुद्दाहरू छन्, समस्याहरू छन्। ति समस्याको निराकरणको लागि शोषित, पीडित मान्छेहरू मुक्तिका लागि विचार खोज्छन्। विचार अनुसारको दल या आन्दोलन खोज्छ,’ उनी भन्छन्।
उनले औंल्याएका मुद्दा भूमिका हुन्, गरिबीका हुन्, मजदूरका हुन्। भूमि आयोगको तथ्यांकअनुसार, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरी १२ लाख ती हजार ५१९ परिवार छन्, करिब ५१ लाख जनसंख्या छ। यो भनेको गत निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ पाएको मत बराबर हो।
गरिबीका आधारमा २०.२७ प्रतिशत नेपालीलाई वर्षभरी खान पुग्दैन। चौथो नेपाल जीवनस्तर सर्वेक्षणअनुसार, करिब ५९ लाख नेपाली गरिबीको रेखामूनि छन्।
श्रमिकका आधारमा हेर्दा ८४ लाख ३० हजार श्रमिक रहेको विश्व बैंक र राष्ट्रिय श्रमिक महासंघको संयुक्त प्रतिवेदनमा उल्लेख छ। जसमध्ये ८४.६ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन्, उनीहरू पर्याप्त सामाजिक सुरक्षाबिना काम गरिरहेका छन्।
अहिले त वैदेशिक रोजगारीमा जाने नयाँ श्रमिक रुपमा आएका छन्। श्रम मन्त्रालयका अनुसार, ६३ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। उनीहरूका छुट्टै समस्या र चुनौती छन्।
यी सबैका पक्षमा काम गर्न पनि वामपन्थी दल आवश्यक रहेको महर्जनको भनाइ छ। ‘जस्तो सुकुम्वासीको जुन संघर्ष भइरहेको छ, उनीहरूका माग उठाउने, संगठित गर्ने, तार्किक निष्कर्षमा पुर्याउने कोही त चाहिन्छ,’ उनी भन्छन्, ‘यो काम कसले गर्छ त भन्दा जो जनमुखी छ, प्रगतिशील छ र वामपन्थी तत्वसहितको विचार बोकेको छ, उसैले मात्र गर्छ।’
काठमाडौंमै सुकुम्वासी बस्तीमा सेना र प्रहरीको बलमा डोजर लगाएर निमुखा जनताको विचल्ली बनाउँदा वामपन्थी विचार राख्नेहरू नै बोलिरहेको उनी स्मरण गर्छन्। दक्षिणपन्थी विचार बोक्नेहरूलाई सुकुम्वासी बस्तीका बालिबाबालि, वृद्धवृद्धा भोकभोकै बसेको, रोएको कुराले नछोएको बरु शहरको सौन्दर्यका लागि सुकुम्वासी बस्ती हटाउने पक्षमा उभिएको उनको विश्लेषण छ।
‘अहिलेसम्म पिँधका मान्छेको समस्या उठाउने, त्यसलाई अगाडि बढाउने काम वामपन्थीबाहेक अरुले कमै गरेको इतिहास छ,’ अध्येता महर्जन भन्छन्, ‘मान्छेहरू सोचिरहेका छन्, बोलिरहेका छन्, लेखिरहेका छन्, चिन्तन गरिरहेका छन्। तिनै मान्छेले नै पिँधमा रहेका जनताका लागि फेरि पनि आन्दोलन उठाउँलान्।’
Shares

प्रतिक्रिया