राजनीति


केपी ओलीप्रति सुरेन्द्र पाण्डेको टिप्पणी: पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन

केपी ओलीप्रति सुरेन्द्र पाण्डेको टिप्पणी: पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन

नेपालखबर
माघ १०, २०८२ शनिबार १०:४७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटक चुनाव लड्ने टिकट नदिइएका आफूइतरका नेताविरुद्ध गरेको टिप्पणीप्रति सम्बन्धित पक्षबाट असन्तोष प्रकट भइरहेको छ। 

ओलीले हालैको एक अन्तर्वार्तामा हार्ने अवस्था देखिएकाले पार्टीका उपमहासचिव योगेश भट्टराई तथा नेताहरू सुरेन्द्र पाण्डे गोकुल बास्कोटा र बिन्दा पाण्डेलाई उम्मेदवार नबनाइएको भनेका थिए। 

यस विषयमा उपमहासचिव योगेशपछि नेता पाण्डेले पनि असन्तुष्टि व्यक्त गरेका हुन्। 

हालै सम्पन्न एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएर पराजित नेता पाण्डेले शनिबार सामाजिक सञ्जालमार्फत चुनाव नजिकिइरहेका बेला अध्यक्ष ओलीको अभिव्यक्तिले पार्टीमा नकारात्मक असर पार्ने टिप्पणी गरेका हुन्।

‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो; यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्छ। आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो’, उनले लेखेका छन्, ‘टिकट वितरणको 'क्याल्कुलेसन'लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्‍यौँ, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन। तसर्थ टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad