आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ-५ मा त्रिपक्षीय भीडन्त हुने भएको छ। यस क्षेत्रका लागि २५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
जसमध्ये मुख्य प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल, नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल र राप्रपाका उम्मेदवार कमल थापालाई लिन सकिन्छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार सस्मित पोखरेल पनि जित्ने सम्भावना भएका उम्मेदवार हुन्।
तर, यसअघिको चुनावी नतिजा हेर्ने हो भने काठमाडौँ-५ एमाले र कांग्रेसले जित्दै आएको क्षेत्र हो। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले नेता ईश्वर पोखरेल विजयी भएका थिए। कांग्रेसका प्रभावशाली नेता प्रकाशशरण महतलाई पराजित गरेका पोखरेल २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रदिप पौडेलसँग पराजित भए।
२०७४ मा महतलाई १० हजार मतान्तरले पछि पारेका पोखरेलले २३ हजार २९ मत प्राप्त गरेका थिए। महतको पक्षमा १३ हजार ६९ मत प्राप्त भएको थियो। २०७९ को निर्वाचनमा महत काठमाडौँ-५ को उम्मेदवार बनेनन्।
कांग्रेसका पदीप पौडेल उम्मेदवार बने। अघिल्लो निर्वाचनमा कांग्रेसकै उम्मेदवार महतलाई १० हजार मतान्तरले पराजित गरेका पोखरेल २०७९ को निर्वाचनमा ५ हजार मतान्तरले पराजित हुन पुगे। पौडेलले १५ हजार २३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १७२ मत मात्रै प्राप्त गरे। २०७४ को निर्वाचनमा २३ हजार मत ल्याएका पोखरेलेल गत निर्वाचनमा १० हजारमै सिमित रहन पुगे।
आउँदो फागुन २१ गतेको निर्वाचनमा पुनः पौडेल र पोखरेल चुनावी भीडन्तमा छन्। गत निर्वाचनको हारको चोट जीतमा बदल्ने रणनीतिसहित पोखरेल मैदान उत्रँदा पौडेल भने विगतको विरासत कायम रहनेमा ढुक्क देखिन्छन्। यसअघि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए। काठमाडौँ-५ मा पोखरेलको पाँचौ पटकको उम्मेदवारी हो।
यता, गृहजिल्ला मकवानपुरमा ५ वटा निर्वाचनमा हार भोगेका कमल थापा छैठौँ पटकको प्रयासमा जीत निकाल्ने आशमा काठमाडौँ-५ को उम्मेदवार बनेका छन्। राप्रपाको राम्रो प्रभाव रहेको यहाँबाट उम्मेदवार बन्दा जित्ने सम्भावनाका साथ थापाले गृहजिल्ला छोडेका हुन्। चुनाव जित्नका लागि थापाले विभिन्न अस्त्र प्रयोग गर्ने गरेका छन्।
गत निर्वाचनमा उनी नेकपा एमालेको उम्मेदवार बनेर मकवानपुर-१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। तर राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी हुँदा उनको यो अस्त्रले पनि काम गरेको थिएन।
पाँचौ पटकको हारलाई जीतमा परिणत गर्ने इच्छाका साथ काठमाडौँ-५ उक्लिएका थापालाई कांग्रेसका पौडेल र एमालेका पोखरेल चुनौतीको रुपमा खडा छन्। तीनदलका हेभीवेट नेताहरु एउटै क्षेत्रको उम्मेदवार बन्दा काठमाडौँ-५ को निर्वाचन रोचक बन्ने देखिन्छ।
Shares

प्रतिक्रिया