राजनीति


पत्रकारले फोन गरेर हैरान पारेपछि योगेश भट्टराई: यत्ति भन्छु- अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु

पत्रकारले फोन गरेर हैरान पारेपछि योगेश भट्टराई: यत्ति भन्छु- अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु

नेपालखबर
माघ ९, २०८२ शुक्रबार १५:१४, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले यसपटक आफूलाई चुनाव लड्ने टिकट नदिइएको विषयमा अध्यक्ष केपी शर्मा ओलीको तर्कले दु:खी र चिन्तित बनाएको बताएका छन्। 

अध्यक्ष ओलीले कान्तिपुर पत्रिकासँगको अन्तर्वार्तामा यसपटक जित्ने स्थिति नदेखिएकाले आफूलाई उम्मेदवार नबनाइएको भनेर गरेको दाबीले दु:ख लागेको गुनासो उपमहासचिव भटटराईले गरेका हुन्। 

यस क्रममा उनले कसैले पनि जित्ने ग्यारेन्टीको कागज गरेर टिकट लगेका होइनन् होला भन्ने टिप्पणी पनि गरेका छन्।

‘अन्तर्वार्तामा अध्यक्षद्वारा व्यक्त कुरा यस्ता छन- 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यसपटक, बिन्दा पाण्डेको कुनै आधारै छैन', 'गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो। त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि’, भट्टराईले लेखेका छन्, ‘यस विषयमा मलाई धेरै सञ्चारकर्मीले फोन गरेर यो विषयमा प्रतिक्रिया मागिरहनुभएको छ।’

उनले अगाडि लेखेका छन्, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ। मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो इफ, नो बट म विचलित र निरास छैन उनले लेखेका छन्,  ‘यत्ति भन्छु- अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु। कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन। यस विषयमा मलाई थप फोन नगर्नुहोला।’

ताप्लेजुङमा २०७४ र २०७९ दुवै सालका चुनाव जितेका योगेशलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ओलीले टिकट दिएनन्। उनको सट्टा एमालेले त्यहाँ पार्टीको युवा संगठन राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad