प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नको लागि हिजोसम्म १३ जना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनको मनोनयन आज हुँदैछ।
सोमबारसम्म बागमती प्रदेशका पाँच, मधेसका चार, लुम्बिनीका तीन र सुदूरपश्चिम प्रदेशमा एकजना गरी १३ जना सांसदले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा सबैभन्दा बढी नेकपाका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका पाँच जना प्रदेश सांसदले राजीनामा दिएका छन्।
त्यसैगरि एमालेका तीन, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टीका एक-एक जना प्रदेश सांसदले पनि राजीनामा दिएका छन्।
नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बागमती प्रदेश सांसदबाट राजीनामा दिए पनि उनले टिकट भने पाएनन्। उनले दोलखाबाट निर्वाचन लड्ने तयारी गरेका थिए। तर, कांग्रेसले दोलखाको टिकट अजयबाबु शिवाकोटीलाई दिएको छ।
उम्मेदवार बन्ने आशमा राजीनामा, जिल्ला पुग्न नपाउँदै टिकट अर्कैको पोल्टामा
बागमती प्रदेश सभा सचिवालय हेटौँडाका अनुसार एमाले र नेकपाबाट दुई–दुईजना तथा कांग्रेस र राप्रपाबाट एक–एक सांसदले सोमबार राजीनामा दिएका छन्।
बागमती प्रदेशसभाबाट राजीनामा दिनेमा नेकपाका युवराज दुलाल र वसन्त मानन्धर, एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के छन्। त्यसैगरि राप्रपाका सुनील केसीले पनि राजीनामा दिएका छन्।
मधेस प्रदेशका चार सांसदले पदबाट राजीनामा दिएका छन् । मधेसका पूर्वमुख्यमन्त्री एवं जनमतका सांसद सतीश सिंह, मधेसका पूर्वसभामुख तथा एमाले नेता रामचन्द्र मण्डल, नेकपाका सांसदहरू भरतप्रसाद साह र रहबर अन्सारीले पनि राजीनामा दिएका छन्।
त्यसैगरि लुम्बिनी प्रदेशका तीन सांसदले राजीनामा दिएका छन् । राजीनामा दिनेमा लोसपाका कन्हैया बानियाँ, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र नेकपाका धनबहादुर मास्की छन्।
त्यसैगरि सुदूरपश्चिमका स्वतन्त्र सांसद डा.तारा जोशीले पनि राजीनामा दिएका छन्। उनले रास्वपाबाट निर्वाचन लड्न राजीनामा दिएका हुन्।
Shares

प्रतिक्रिया