पदाधिकारीमा समावेशिता झल्कनुपर्ने भन्दै प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा उम्मेदवारी दिएकी छन्।
चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित दर्शनाले महामन्त्री पदका लागि पनि उम्मेदवारी दिएकी हुन्।
उनी केन्द्रीय सदस्य पदमा खुलातर्फ छैटौँ नम्बरमा निर्वाचित भएकी थिइन्।
उनी प्रवासबाट ४४ सहित २२४९ कुल मत ल्याएर बिहीबार केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
१३ वर्षको सांगठनिक राजनीतिको अनुभव रहेकी रञ्जु विवेकशील साझा पार्टीसँगको एकीकरणपछि रास्वपामा जोडिएकी थिइन्।
उनी गएको फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ १ बाट निर्वाचित सांसद हुन्।
रास्वपाको विधानअनुसार महामन्त्री दुई जना रहने व्यवस्था छ। जसमध्ये एक जना निर्वाचित हुने छन् भने अर्का एक जनालाई पार्टी सभापतिले मनोनयन गर्ने प्रावधान छ।
महामन्त्री पदका लागि रञ्जुसहित ९ जनाले उम्मेदवारी दिएका छन्।
जसमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आर्चाय छन्।
पूर्वसञ्चारमन्त्री जगदीश खरेलले भने महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्।
Shares

प्रतिक्रिया