प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ताको तयारी गर्दै बागमती प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका कुन्दनराज काफ्लेले टिकट नपाउने भएका छन्।
भोलि उम्मेदवारी दर्ता गर्ने तयारीका क्रममा काफ्लेले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए। तर, उनी दोलखा पुग्न नपाउँदै नेपाली कांग्रेसले अर्का उम्मेदवारको टुंगो लगाएको हो।
कांग्रेसले एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दोलखाबाट युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका शिवाकोटी यसपटक प्रतिनिधि सभा निर्वाचनमा होमिने भएका हुन्।
पत्रकारिताबाट राजनीतिमा आएका शिवाकोटी कांग्रेस सभापति गगन थापा निकट मानिन्छन्। दोलखाबाट प्रतिनिधि सभा सदस्य पदका लागि शिवाकोटीसहित, अर्का केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कांग्रेसका पूर्वजिल्ला सभापति ताराबहादुर कोइराला र महाधिवेशन प्रतिनिधि प्रभुराम श्रेष्ठले दाबी प्रस्तुत गरेका थिए।
टिकट पाउने बलियो आशामा बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका काफ्लेले बागमती प्रदेश सभा कार्यालयमै पुगेर औपचारिक रूपमा राजीनामा बुझाएका थिए। काफ्ले २०७९ को निर्वाचनमा दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए।
कांग्रेसको विशेष महाधिवेशनलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका काफ्ले कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।
यसैबीच, दोलखामा नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिष्ट पार्टीबाट विशाल खड्कालगायत हेभीवेट नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।
Shares

प्रतिक्रिया