नेपाली कांग्रेसमा देखिएको विवाद मिलाउन पार्टीका दुई पक्षबिच लाजिम्पाटमा वार्ता चलिरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवशेन स्थल भृकुटीमण्डप पुगेका छन्।
विशेष महाधिवेशनकै कारण देखिएको विवाद समाधानका लागि लाजिम्पाटमा आज (मंगलबार) बिहान साढे ८ बजेदेखि सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन पक्षधरका प्रतिनिधिबिच वार्ता भइरहेको छ।
जारी छलफलमा सभापति देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पाैडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।
कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरे पनि त्यसमा असहति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ।
सोमबार सुरु बन्दसत्रले देउवालाई हटाएर नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ।
सुरुमा पुस २७ र २८ गतेका लागि भनिएको विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो।
महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढ्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्।
विशेष महाधिवेशनमा सोमबार साँझसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको र दर्ता प्रक्रिया आज पनि जारी रहने उनको भनाइ छ।
Shares

प्रतिक्रिया