विचार


जो कांग्रेसको आयु एक पुस्ता थप्न सफल भए

जो कांग्रेसको आयु एक पुस्ता थप्न सफल भए

नेपालखबर
पुस २८, २०८२ सोमबार २२:४, काठमाडौँ

सम्पादकीय –

नेपाली कांग्रेसको विशेष महाधिवेशनले तेस्रो दिन समापनसम्म प्रतिनिधिहरूले माग गरेझैँ नेतृत्व परिवर्तन गर्छ या गर्दैन, टुंगो लागिसकेको छैन। सभापति शेरबहादुर देउवा र उनका निकटस्थहरू अझै २१ फागुनको चुनावसम्मलाई भए पनि पार्टीमा पकड कायम राख्ने जुक्तिको खोजीमा छन्। तर, अहिलेसम्म एउटा कुरा भने प्रस्ट भइसकेको छ– अबको नेपाली कांग्रेस हाँक्ने गगन थापाले नै हो। संख्याको बलमा युवा चाहनालाई दबाउँदै आएको जीर्ण पार्टी नेतृत्वलाई विशेष महाधिवेशनमार्फत् घुँडा टेकाएर उनी निर्विकल्प बनिसकेका छन्।

र, यो घटनाले एक पटक फेरि पुष्टि गरेको छ– समयको ढुकढुकी सुन्न नसक्ने व्यक्ति नेता बन्न वा रहिरहन सक्दैन। विडम्बना, नेपालका लगभग सबै स्थापित राजनीतिक दलका नेतृत्व अदूरदर्शिता र समयलाई चिन्न नसक्ने दीर्घरोगबाट ग्रसित छन्। शीर्ष भनिएका नेताहरू मार्गदर्शक राजनीतिकर्मीको होइन, ‘पेट्टी ठेकेदार’को जिन्दगी बाँचिरहेका छन्। पार्टी र सरकार चलाउने तिनको तरिकामा विचार, सिद्धान्त, मूल्यको स्थान छैन। लेनदेन, भनसुन, गालीबेइज्जती र नभए ससानो गुण्डागर्दीका भरमा तिनले पार्टी र सरकार चलाउँदै आएका छन्। एमालेदेखि रास्वपासम्मका घटनालाई हेर्दा पार्टी मुखियाहरूलाई दिइने चुनौती माफीयोग्य मानिँदैन। आफूसँग राय बझाउनेलाई हप्काउने, तर्साउने र अन्ततः दस वटा बिँगा लगाएर पार्टीबाट लखेट्ने रीत बसाएका छन्। भ्रष्टाचार व्याप्त छ। फलतः दलहरू नागरिकको आकांक्षाको प्रतिनिधित्व गर्न नसक्ने, राष्ट्रिय संकटका बेला महत्त्वपूर्ण निर्णय लिन नसक्नेगरी थला परेका छन्। नेपाली राजनीतिको यो दुष्चक्र तोड्ने क्रम कांग्रेसबाट गगनले सुरु गरेका छन्।

सूक्ष्म नजरले हेर्ने हो भने गगनले केही असाधारण काम गरेका छन्।

पहिलो, जेनजी आन्दोलनको मर्मलाई उनले बुझेका छन्, स्वीकारेका छन् र आफूलाई बदल्ने तत्परता समेत देखाएका छन्। ओली वा देउवाले जसरी त्यो विद्रोहको आगोलाई निभाउने आत्मघाती कोसिस उनी गरिरहेका छैनन्। बरु, त्यो आगोलाई अन्धकारमा बाटो देखाउने दीप मानेका छन्। विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेजमै उनले त्यसलाई ‘विकृति र विसंगतिविरुद्धको विस्फोट’ र ‘आमूल परिवर्तनका लागि भएको विद्रोह’का रूपमा स्वीकार गरेका छन् र यसको सन्देशलाई ग्रहण गरेर अघि बढ्ने वाचा गरेका छन्।

दोस्रो, राजनीतिक दलमा विद्रोह हुनु असाधारण घटना होइन। दलहरूमा र कांग्रेसमै पनि अनेक पटक यस्तो भइसकेको छ। तर, गगन थापाले कांग्रेसजस्तो पुरातन पार्टीका बहुसंख्यक कार्यकर्तालाई विद्रोहको बाटोमा हिँडाए। दशकौँदेखि पार्टी र सत्तामा जरा गाडेर बसेका समूहहरूलाई सालीन तरिकाले छेउ मात्र लगाएनन्, नेतृत्वको जाम पनि खुलाए। यो असाधारण सफलता हो।

हरेक राजनीतिक विद्रोह वा परिवर्तनपछि दलहरूसामु अस्तित्वगत प्रश्न खडा हुने गरेको छ। जेनजी विद्रोहपछि पुराना राजनीतिक दलहरू यही प्रश्नको सामना गरिरहेका छन्। उनीहरूसामु बदलिएर युवा आवाजलाई सुन्ने या इतिहासमा बिलाउने दुई विकल्प छन्। र, सबैजसो पुराना दलहरू सुध्रिनभन्दा सकिन उद्यत देखिन्छन्। प्रचण्डले एकताको बहानामा महाधिवेशन टारे। ओलीले महाधिवेशन त गरे तर नेता र नीति दुवै नबदलिने सुनिश्चितासहित। देउवाले आफूले छाड्नुपर्ने हुँदाहुँदै नयाँलाई रोक्ने कोसिस गरेका थिए।

यसबाट हरेकजसो कांग्रेसीलाई भविष्यको चिन्ता हुन थालेको थियो। उनीहरूको मुखमा झुण्डिएको प्रश्न थियो– सच्चिने कि सकिने? र, देउवा अनि उनको वरिपरिको ‘संस्थापन’ समूहलाई सच्चिने कुनै रहर देखिँदैनथ्यो। यस्तो अप्ठेरो परिस्थितिबाट गगन–विश्वले कांग्रेसको उद्धार गर्न खोजेका छन्। र, नेपाली राजनीतिको सबैभन्दा दीर्घजीवी यस पार्टीको आयु कम्तीमा एक पुस्ता थप्न सफल भएका छन्।

गगन–विश्वरचित यो जबर्जस्त परिवर्तनले कांग्रेसलाई मात्र बदल्ने छैन। यसले अन्य पार्टीलाई असर त गर्छ नै देशको राजनीतिक दिशा पनि फेर्न सक्छ। विशेष महाधिवेशन उद्घाटन गर्दै गगनले उद्घोष गरेका थिए, ‘कांग्रेस दास र लासको पार्टी होइन। कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो। यहाँ कुनै बा छैन, जसले नबोल भन्दा नबोल्ने कोही छैन।’ एमाले, नेकपा लगायत दलका नेताहरू कांग्रेस विशेष महाधिवेशनलाई मन्त्रमुग्ध भएर हेरिरहेका छन्। म्याद गुज्रेका नेताहरूलाई हटाएर आफ्नो पार्टीमा ल्याउन नसकेको बदलाव गगन–विश्वले कांग्रेसमा ल्याएकोमा उनीहरूको आँत खुसी भएको छ र सायद आँट पनि बढेको छ। उनीहरूले यसबाट सिक्ने कोसिस गरे भने सम्भव छ– कांग्रेसको सुधारको सुरुवात नेपाली राजनीतिकै सुधारमा गएर टुंगिन सक्छ।

गगन–विश्वको विद्रोहले आगामी चुनावको हिसाबकिताब पनि बदल्ने देखिन्छ। जेनजी आन्दोलनको विरासत बोक्ने भरपर्दो राजनीतिक शक्ति जन्मिन नसक्दा बालेन शाहदेखि कुलमान घिसिङसम्म सबै रवि लामिछाने नेतृत्वको रास्वपामा गोलबद्ध हुन पुगेका थिए। आन्तरिक खिचोलामा मग्न कांग्रेस–एमालेले मतदातामा अझ धेरै वितृष्णा जन्माइरहँदा आन्दोलनलाई भरथेग गर्नेहरू, जेनजी अगुवाहरूको सदाशय रास्वपालाई नै थियो। १६ डिजिटको क्यालकुलेटर थिचेर राजनीतिक शक्तिसन्तुलनमा आउन लागेको बदलाव पहिचान गरेका व्यवसायीहरू पनि समानुपातिक सूचीको बाटो रास्वपामै मिसिँदै थिए। त्यसैले रास्वपाले बहुमत नभए पनि सबैभन्दा बढी सिट जित्ने प्रारम्भिक आकलन हुँदै थियो। तर, कांग्रेसमा भरिएको नयाँ ऊर्जाले रास्वपाको त्यो आशावादी परिदृश्यमा केही बदलाव अवश्य ल्याउनेछ। गगनले चुनावमा कसैसँग गठबन्धन नगर्ने उद्घोष गरेका छन्। अब कम्तीमा कांग्रेसजनले आफ्नो उम्मेदवारविरुद्ध मत हाल्ने सम्भावना घटेको छ।

त्यसबाहेक, संरचनागत सुधार गरेर राजनीति र शासनप्रणाली चोख्याउने महामन्त्रीद्वयको वाचा छ। प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा, निर्वाचन प्रणालीमा सुधार, राज्य संयन्त्रको गैरदलीयकरणजस्ता प्रतिज्ञा उनीहरूले गरेका छन्।

कांग्रेसको बागडोर हातमा आइनसके पनि गगनले आफूलाई पार्टीभित्रको मात्र होइन, राष्ट्रिय राजनीतिकै मियो साबित गरिसकेका छन्। मुलुकको भविष्यप्रतिको चरम निराशा चिर्न उनले इमानदार प्रयत्न गर्लान् भन्ने अपेक्षा राख्न सकिन्छ। तर, गगनका लागि भविष्यमा केही जोखिमहरू छन्। बाह्य उथलपुथल र अस्तित्वकै प्रश्न खडा भएको अवस्थामा कांग्रेसमा आज असाधारण जागरण देखिए पनि प्रवृत्तिगत रूपमा पुरानो पार्टी प्रगतिशील शक्ति होइन। खास भन्दा, नेताका रूपमा गगन र पार्टीका रूपमा कांग्रेसको छविमा कहीँ न कहीँ बेमेल छ। त्यसैले भोलिका दिनमा निर्णायक मुद्दाहरूमा पार्टी पंक्तिलाई आफ्नो पछाडि खडा गर्न उनलाई अवश्य कठिन हुनेछ। त्यसमाथि, कतिपय राष्ट्रिय मुद्दामा मौन बसेको र आवश्यक नीतिगत स्पष्टता दिन नसकेको आरोप उनीमाथि लाग्दै आएको छ।

दलका कार्यकर्ताले मात्र होइन, मतदाताले समेत लाभ खोज्ने थिति बसेको छ। त्यसो हुँदा चुनाव हार्नु खतरनाक छँदैछ, जितेर सत्तामा पुग्नु पनि जोखिमरहित छैन। त्यसमाथि, हप्तैपिच्छे नायक फेरिने जमानामा लोकप्रियता टिकाउन सानो मेहनतले पुग्ने छैन। गगनको वास्तविक परीक्षा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad