नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले आलकन नै गरेका थिएनन्, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार लाउन सक्छन्।
त्यही हिसाबकिताबसहित देउवा–शेखर समूहले दुई महामन्त्रीलाई उपेक्षा गर्दै समानुपातिक सांसदको बन्दसूचीमा भागबण्डा गरे। राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बाँडफाँट गरे।
गगन–विश्वले उम्मेदवारका लागि बार्गेनिङ गरिरहेको ठानेका देउवा र शेखर पक्षका नेताहरू यहाँ पनि महामन्त्रीद्वयलाई शून्य बनाएपछि थप उत्साहित थिए। जेनजी आन्दोलनमा कुटपिट भएपछि कार्यवाहक दिएर सानेपाबाट फर्किएका शेरबहादुर त्यसपछि महामन्त्रीद्वयसँग खासै संवादमा थिएनन्।
निकट नेताहरूबाट आफूले सुन्न चाहेजस्ता मात्रै सूचना लिएर देउवा महाराजगन्जको नयाँ डेरामा मस्त देखिन्थे। यसअघि नै पार्टीका ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरे पनि देउवाले थाहै नपाए जस्तो गरिरहेका थिए।
समानुपातिकको बन्दसूचीमा उम्मेदवार छान्न र राष्ट्रिय सभाका उम्मेदवार बनाउन सक्रिय भएका देउवालाई पार्टीभित्र सल्किसकेको आगोको लप्काले भेटेकै थिएन।
पूर्णबहादुरलाई कार्यवाहकको झोला भिराए पनि केही समय पार्टी गतिविधिबाट अलग देखिएका देउवा खास बेलामा आफै सक्रिय थिए। उनको यो सक्रियता सिंगापुरमा उपचार गराएर फर्किएपछि देखिन थालेको थियो।
त्यसअघि अब पार्टीबाट बिदा लिएको भन्दै खुब प्रशंसा पनि पाएथे। यतिसम्म कि उनले कार्यबाहक दिएका तर एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले नदिएको भन्दै उनीहरूको समेत आलोचना भयो। त्यतिबेला कांग्रेसको महाधिवेशन पुसमै गर्ने तालिका आइसकेको थियो।
तर, तालिका ल्याएर पनि कांग्रेसले महाधिवेशनको तयारी गरेन। पहिले जुन अवस्थामा थियो, महाधिवेशनको मिति आइपुग्दासम्म पनि अवस्था त्यही भयो। जबकि, क्षेत्रीय निर्वाचन भइसक्नु पर्ने दिनसम्म कांग्रेसले किन निर्वाचन हुन सकेन र अब के हुन्छ भनेर समेत आफ्ना कार्यकर्तालाई जानकारी दिन आवश्यक ठानेन।
त्यसपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको सम्भावना सकिएको र अबको विकल्प विशेष महाधिवेशन भएको घोषणा गर्दै वक्तव्य निकाले।
त्यसपछि उनीहरूले द्रुतगतिमा विशेषको तयारी अगाडि बढाए। तर, पूर्णबहादुरले यसलाई काउन्टर दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाए। महामन्त्री थापा र शर्मासहितका नेताहरूको असहमतिलाई बहुमतले पेल्दै वैशाख अन्तिमको महाधिवेशन तोके।
- सम्पादकीय : जो कांग्रेसको आयु एक पुस्ता थप्न सफल भए
देउवा समूह अल्पमतमा पारियो, महाधिवेशन चुनावपछिलाई सारियो भन्दै थप उत्साहित भयो। समानुपातिक र राष्ट्रिय सभामा भाग पाएका शेखर कोइराला पनि महामन्त्रीविरुद्ध र संस्थापनकै प्रस्तावमा लागे। पछिल्लो समय उतै सार मिलाउन थाले।
तर विशेष महाधिवेशन पक्षधरहरू थपिँदै गए। सक्रियता बढ्दै गयो। सानो समूहको भेलामा सीमित हुने आकलन गरेका देउवा समूह कर्णालीबाट गाडीका गाडी प्रतिनिधि बाटो लाग्न थालेपछि मात्रै केही सक्रिय हुन थाले। त्यो पनि विशेष महाधिवेशन पक्षसँग संवाद गरेर निचोड निकाल्न होइन, यसलाई असफल पार्नका लागि।
कार्यालय सचिव कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशनमा नआउनू बरु फागुन २१ गतेको निर्वाचनमा लाग्नू भन्दै सर्कुलर नै गरे। अरु नेताले पनि विशेषमा सहभागी भए कारबाही हुनेसम्मका चेतावनी दिए। तर उनीहरूको चेतावनीले न त गगन–विश्वको तयारी रोकियो न त प्रतिनिधि जिल्लातिरै रोकिए।
आइतबार र्यालीसहित जम्मा हुन थालेका प्रतिनिधि र अरु कार्यकर्ताले भृकुटीमण्डप भरियो। विशेष महाधिवेसनको उद्घाटन समारोहमा नेताहरूले नीति र नेतृत्व दुवै बदलेर मात्रै फर्किने अठोट गरे।
विशेष महाधिवेशन पक्षधर नेताहरूको अठोट र कार्यकर्ताको उत्साहले देउवा–शेखर समूहलाई झस्कायो। तैपनि उनीहरू पर्ख र हेरको अवस्थामै थिए।
आइतबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बन्द सत्र कसरी अगाडि बढ्छ भन्ने हेरेर थप निर्णय लिने मुडमा देउवा रहेको बताएका थिए। आफूपक्षका प्रतिनिधिहरू गगन–विश्वले बोलाएको विशेष महाधिवेशनमा सहभागी भएपछि शेखरले पनि एक्लिँदै गएको महसुस गरेका थिए।
आइतबार बिहानै उनले आफ्नो पक्षका नेताहरूलाई बोलाएर छलफल थाले।
सभापतिबाटै निकाल्ने कार्यविधिले झस्कायो देउवालाई
आइतबार बेलुकासम्म पनि विशेष महाधिवेशन पक्षधरले पार नलगाउने भन्दै देउवालाई उनी निकटका नेताहरूले ढाडस दिइरहेका थिए। तर आइतबार नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ हलमा पेस गरियो।
कार्यविधिको दफा ५ (१) (घ) मा चौधौँ महाधिवेशनबाट निर्वाचित कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्य समितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ।
यस्तै केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेत विघटन गर्ने कार्यविधि विशेष महाधिवेशनमा प्रस्तुत गरिएको छ। आफ्नो नेतृत्वको कार्यसमिति नै भंग गर्ने कार्यविधि हलबाट पारित भएपछि भने देउवा र उनी पक्षीय नेताहरू पार्टी जोगाउन भन्दै अन्तिम कसरतमा जुटेका छन्।
बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएको विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति भंग गरे के हुन्छ भनेर देउवाले कानुन व्यवसायीहरूसँग छलफल समेत गरेका थिए। देउवाले बोलाएको छलफलमा उनका पूर्वमहान्यायाधिवक्ता समेत रहेका खम्म खातीसहितका वरिष्ठ अधिवक्ताहरू पुगेका थिए।
यता भृकुटीमण्डपमा भने गगन–विश्वले पेस गरेका प्रतिवेदनमा प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका थिए। भृकुटीमण्डपमा कार्यकर्ताले नीति र नेतृत्वमा छलफल चलाउँदा देउवा निवासमा नेताहरू पार्टी जोगाउन भन्दै दौडधुपमा थिए।
देउवा पक्षसँगै शेखर समूहका नेताहरू पनि देउवानिवास महाराजगन्ज पुगेर देउवालाई भेटेका थिए। भेटमा अधिकांशले पार्टीलाई बचाउन देउवासँग आग्रह गरेका थिए।
छलफलमा सहभागी कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले अहिले देखिएको संकटका विषयमा सभापतिसँग छलफल भएको बताए। वैशाखमा मात्रै नेतृत्व परिवर्तन गर्ने गरी अहिलेलाई पार्टी एकढिक्का बनाउन आवश्यक पहल गर्ने विषयमा सभापतिले नेताहरूलाई भनेका थिए। केही नेताहरूले भने गगन–विश्वलाई तत्काल कारबाही गरेर अगाडि बढ्न देउवालाई सुझाएको छलफलमा सहभागी एक नेताले बताए। त्यसो गरिए पार्टी झनै विभाजनतर्फ जाने देउवाले बताएका थिए।
देउवासँग छलफल गरेर फर्केका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि कांग्रेसको नीति र नेतृत्व १५ औँ महाधिवेशनबाटै परिवर्तन हुने बताउँदै त्यतिञ्जेल एकजुट भएर अगाडि बढ्नु पर्ने र सभापतिसँग यही विषयमा कुरा भएको बताए।
‘अहिले मुलुक गम्भीर अवस्थामा छ र पार्टी पनि गम्भीर अवस्थामा छ,’ विशेष महाधिवशेन पक्षधरलाई इंगित गर्दै कार्कीले भने, ‘सहमति, संवाद र एकताको ढोका सधैँ खुला छ।’
देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनमा लागेका नेता कार्यकर्तालाई एकजुट हुन अपिल गर्न भनेका थिए। खड्काले दिउँसो विज्ञप्ति जारी गर्दै नेताहरूलाई अपिल पनि गरे। यस्तै देउवा र खड्कानिकट नेताहरूले भृकुटीमण्डपमा रहेका आफू पक्षका नेताहरूलाई पनि टेलिफोन गरेर देउवा निवासमा बोलाएका थिए।
देउवालाई भेटेर फर्किएपछि शेखर कोइरालाले पनि महामन्त्रीहरूसँग एकजुट भएर अगाडि बढ्न पहल गरिरहेको उनी निकट नेता बताउँछन्।
‘पार्टीमा जटिल अवस्था आएको छ। पार्टी विभाजनको घडीमा पुग्ने हो कि भन्ने मलाई डर लागेको छ,’ कांग्रेस नेता नैनसिंह महरले देउवाको भनाइ उधृत गर्दै भने, ‘यसमा धेरैको हात हुनसक्छ। तैपनि पार्टीलाई मिलाउनका लागि अझै पनि म लाग्छु, मेरो कोसिस रहन्छ। साथीहरू संयम भएर पार्टीको एकता कायम गर्नका लागि लाग्नुहोला भन्नु भएको छ।’
यसका लागि गगन र विश्वप्रकाशसँग छलफल गरी मिलाउन आफू लचिलो बन्न तयार रहेको देउवाले बताएको महरको भनाइ छ।
बन्दसत्रमा महामन्त्रीहरूबाट आएका प्रस्तावले माहोल खलबलिएको महरको दाबी छ। तर देउवा र उनी पक्षका नेताहरू भने देउवालाई पार्टी सभापतिबाटै निकाल्ने (केन्द्रीय समिति भंग) प्रस्तावपछि मात्रै थप सक्रिय बनेका थिए।
अहिले दुवै पक्षका नेताहरू सहमतिका लागि प्रयास गरिरहेका छन्। विशेष महाधिवेशनले मंगलबार पनि निरन्तरता पाउने छ। मंगलबार नयाँ नेतृत्व चयनसम्मको कार्यतालिका छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि मंगलबार नै बोलाइएको छ। मंगलबारसम्ममा कांग्रेस विभाजन वा मिलन भन्ने बाटो तय हुने देखिएको छ। तर नेताहरूको हठले यी दुवै बाटा जटिल बन्दै गएका छन्।
Shares

प्रतिक्रिया