नेपालको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्स सिनेमाजका सहसंस्थापक नकिम उद्दिन उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा, समानुपातिक उम्मेदवारको रुपमा सिफारिस भएका छन्।
नकिम समानुपातिक उम्मेदवारको रुपमा सिफारिस भएको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य रीमा विश्वकर्माले पुष्टि गरिन्।
सिर्जनशील उद्योग र सिनेमा प्रदर्शनको क्षेत्रमा लामो समयदेखि सक्रिय नकिमको अनुभवलाई राष्ट्रिय नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उनको नाम सिफारिस गरिएको रिमाले बताइन्।
क्युएफएक्स सिनेमाजले 'जय नेपाल'को जीर्णोद्धारबाट व्यवसायिक यात्रा सुरु गरेको हो। कुमारी हल हुँदै क्युएफएक्स सुन्धारास्थित सिभिल मलमा पुगेको थियो। त्यो नेपालको पहिलो अत्याधुनिक मल्टिप्लेक्स हो। ललितपुरको पुल्चोकस्थित क्युएफएक्स लबिम मल उच्च रिजोल्युसन भएको '४के डिजिटल सिनेमा प्रोजेक्सन सिस्टम' जडान गर्ने नेपालकै पहिलो मल्टिप्लेक्स हो। अहिले नेपालभरका २० भन्दा बढी ठाउँमा क्युएफएक्स पुगेको छ।
उज्यालो नेपाल पार्टीले १ सय १० जना समानुपातिक उम्मेदवारको नाम अहिले फाइनल गरिरहेछ। समानुपातिक सूची बुझाउने आज सोमबार अन्तिम दिन हो।
यो पनि: समानुपातिकको 'अन्तिम घडी': आज निर्वाचन आयोग पुग्दै ठूला दल
Shares

प्रतिक्रिया