सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) को कर संरचना परिवर्तन गरेपछि अटोमोबाइल बजारमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। यस अघि मोटर क्षमता (किलोवाट) का आधारमा भन्सार र अन्तशुल्क निर्धारण हुने व्यवस्था थियो। चालू बजेटले त्यसलाई परिवर्तन गरी गाडीको खरिद मूल्य (सीआईएफ) लाई मुख्य आधार बनाएको छ।
बजेटको व्यवस्थाले बजेट सेग्मेन्टका गाडीको मूल्य केही घटे पनि मध्यम तथा लक्जरी इभीको मूल्य भने निकै बढेको छ। अटो व्यवसायीहरुका अनुसार नयाँ व्यवस्थाले ५० लाख रुपैयाँभन्दा माथिको सीआईएफ मूल्य भएका गाडीमा लाग्ने करको दर १४१.९१ प्रतिशतले बढाएर २२७ प्रतिशत पुर्याइएको छ।
मूल्यका आधारमा करका दर घटबढ हुँदा केही गाडीको मूल्य १६ लाखसम्म घटेको छ।
बजेटमा भएको व्यवस्थाका कारण एक करोड ९९ लाख ९६ हजार रुपैयाँको बीएमडब्लु आईएक्स–१ को मूल्य बढेर ३ करोड २९ लाख नाघेको छ। नेपालमा बीएमडब्ल्यु गाडीहरुको आधिकारिक आयातकर्ता ताथ वितरक लक्ष्मी प्रिमियम मोटर्स प्रालिका अनुसार बीएमडब्लु आईएक्स–१ को मूल्य १ करोड ३० लाख रुपैयाँले बढेको हो।
बीएमडब्लु आईएक्स–१ को सीआईएफ ५० लाख रुपैयाँभन्दा माथि छ। यसमा १५० किलोवाट आवरको मोटर भएकाले यसमा बजेटअघि ८५.०९ प्रतिशत कर लाग्दै आएको थियो। बजेट अघिसम्म यो रेन्जमा पर्ने गाडीमा ३० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्थ्यो। नयाँ व्यवस्था अनुसार २० प्रतिशत भन्सार, १३० प्रतिशत स्वच्छ पूर्वाधार लागनी शुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लगाइएको छ। जसले गर्दा ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने गाडीमा लाग्ने कर २२७ प्रतिशत पुगेको छ। नयाँ व्यवस्थाले यो रेन्जमा पर्ने ईभीको कर दर १४१.९१ प्रतिशत बढेको हो। 
यस्तै, ७२ किलोवाट आवर ब्याट्री क्षमताको बीई–११ भेरियन्टको नयाँ मूल्य १५ लाख रुपैयाँले घटेर ७४ लाख ९० हजारमा आएको छ। यसअघि यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ थियो।
कम्पनीले ५२ किलोवाल आवर ब्याट्री क्षमताको बीई–११ भेरियन्टको मूल्य १४ लाख रुपैयाँ घटेको छ। यसअघि यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ थियो। अब नयाँ मूल्य ६५ लाख ९० हजार रुपैयाँ कामय भएको छ।
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले इलेक्ट्रिक एसयूभी एट्टो २ र एट्टो ३ को मूल्य बढाएको छ।
बीवाईडी एट्टो २ को मूल्य ३ लाख ४ हजार रुपैयाँ र एट्टो ३ को मूल्य २ लाख रुपैयाँले बढेको हो।

नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले ई–भिटराको मूल्य ५ लाख रुपैयाँसम्मले घटाएको हो।
ई–भिटरा डेल्टाको मूल्य ४ लाख रुपैयाँले घटेको छ भने ई–भिटरा जेटा, ई–भिटरा अल्फा र ई–भिटरा अल्फा डीटीको मूल्य ५ लाख रुपैयाँले घटेको छ। बजेट अघि ई–भिटरा डेल्टाको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको हाल ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ई–भिटरा जेटाको मूल्य ५७ लाख ९९ हजार रुपैयाँबाट घटेर ५२ लाख ९९ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, ई–भिटरा अल्फाको नयाँ मूल्य ५८ लाख ९९ हजार रुपैयाँ कामय गरिएको छ। बजेट अघि यसको मूल्य ६३ लाख ९९ हजार रुपैयाँ थियो। ई–भिटरा अल्फा डीटीको मूल्य ६४ लाख ४९ हजार रुपैयाँबाट घटेर ५९ लाख ४९ हजार रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ। 
नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले जेको ६टी र आईकार भी२३ को मूल्य बढाएको छ। जेको ६टीको मूल्य एक लाख रुपैयाँ र आईकार भी२३ को मूल्य तीन लाख रुपैयाँले बढेको हो।
बजेट अघि जेको ६टीको मूल्य ६८ लाख ९९ हजार रुपैयाँ रहेकोमा हाल ६९ लाख ९९ हजार रुपैयाँमा कायम छ। यस्तै, ५० लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको आईकार भी२३को मूल्य ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
नेपालका लागि एमजीको आधिकारिक वितरण्क पारामाउन्ट मोटर्सले एमजी आईएम ६ को मूल्य ३ लाख रुपैयाँले बढाएको छ। बजेट अघि ७८ लाख ९९ हजार रुपैयाँ रहेको एमजी आईएम ६ को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
सांग्रिला मोटर्सले लिपमोटर बी१० को मूल्य ५ लाख १ हजार रुपैयाँले घटाएको छ। बजेट अघि ६० लाख रुपैयाँमा बिक्री हुँदै आएको लिपमोटर बी१० को नयाँ मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 
नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले जिली ईएक्स ५ को मूल्य बढाएको छ।
कम्पनीले जिली ईएक्स ५ म्याक्स भेरियन्टको मूल्य ३ लाख र प्रो भेरियन्टको २ लाख रुपैयाँले बढेको हो। नयाँ मूल्य सूचीअनुसार जिली ईएक्स ५ म्याक्सको मूल्य ७३ लाख र जिली ईएक्स ५ प्रोको मूल्य ६२ लाख रुपैयाँ पुगेको छ। यसअघि म्याक्स भेरियन्टको मूल्य ७० लाख र प्रो भेरियन्टको मूल्य ५८ लाख रुपैयाँ थियो।
डिपल एस०५ को मूल्य पनि बजेट पछि बजारमा बढेको छ। चांगन डिपलको नेपालका लागि आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लु) वृद्धि अटोकर्पले डिपल एस०५ प्लसको मूल्य ४ लाख रुपैयाँ डिपल एस०५ म्याक्सको मूल्य ३ लाख रुपैयाँले बढेको जानकारी दिएको छ।
बजेट अघि डिपल एस०५ प्लसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँमा रहेकोमा हाल ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यस्तै ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको डिपल एस०५ म्याक्स ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
Shares

प्रतिक्रिया