चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि बुधबार मध्यराति सुरु भएको मतदान बिहीबार मध्याह्न सम्पन्न भयो।
यस क्रममा बिहीबार साँझतिर कर्णाली प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा उठेकामध्ये सर्वाधिक मत ल्याएका भन्दै ५ जनाको नामावली सार्वजनिक भयो। रास्वपा केन्द्रीय सदस्य पदका लागि २ महिला र ३ खुला गरी कर्णाली प्रदेशले पाएको कोटा यति नै थियो। यस हिसाबले कर्णाली प्रदेशका पाँचै कोटामा महिला मात्र निर्वाचित भएको ठानियो।
त्यसबेला सार्वजनिक मतपरिणाममा सीता वादीले सबैभन्दा बढी १ हजार ७५१, बिनिता कठायतले १ हजार ५००, हुम्लाकी टासी ल्हजोमले १ हजार १३५ मत प्राप्त गरेको उल्लेख थियो। यस्तै सर्वाधिक मत ल्याउने अन्य २ जनामा दैलेखकी मेनुका शाहीले ७९८ र सुर्खेतकी गोमा थापाले ६१६ मत ल्याएका थिए।
त्यसैले उनीहरूसँगै गोमालाई पनि रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएको भन्दै साथी-शुभेच्छुकबाट बधाई आयो।
तर रास्वपाको निर्वाचन आयोगले जब शुक्रबार बिहान केन्द्रीय सदस्यमा निर्वाचितको नामावली सार्वजनिक गर्यो तब गोमा तीनछक्क परिन्। अर्थात् त्यहाँ उनको स्थानमा प्रकाश न्यौपानेको नाम छ।
‘निर्वाचन अव्यवस्थित देखियो। हिजो मेरो मत बढी थियो। आज प्रवासको मत पनि जोडेर अरूलाई निर्वाचित घोषणा गरिएको छ’, गोमाले नेपालखबरसँग गुनासो गर्दै भनिन्, ‘हिजो बधाई खाइयो, आज निर्वाचितमा अरूकै नाम छ।’
उनले थपिन्, ‘मलाई प्रवासबाट प्राप्त मत अहिलेसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको छैन। मेरो कति मत छ, हेर्नसमेत पाएकी छैन।’
रातारात फेरबदल गरेर षड्यन्त्रपूर्वक निर्वाचितमा अर्कोको नाम राखिएको आरोप उनले लगाइन्।
आफ्नो मत कति आएको छ भनेर खोज्न निर्वाचन आयोगमा खबर गर्दा पनि कुनै सुनुवाइ नगरिएको दाबी गोमाले गरेकी छन्।
यता रास्वपाको निर्वाचन आयोगले प्रवासको समेत मत जोडेर सार्वजनिक गरेको अन्तिम परिणममा सीता वादीले १८ सय १३, बिनिता कठायतले १५ सय ६०, टासी ल्याङ्गजोमले ११ सय ६०, मेनुका शाहीले ८२२ र प्रकाश न्यौपानेले ६३४ मत ल्याएका छन्।
कर्णालीका लागि छुट्याइएका ५ सिटका लागि ३२ जना उम्मेदवार थिए।
Shares

प्रतिक्रिया