सूचना प्रविधिको विकाससँगै विद्यालयका कक्षाकोठामा सीसीटीभी/क्यामेराको प्रयोग गर्ने क्रम बढ्दो छ। कतै त भ्वाइस ट्यापिङसहितको सीसीक्यामेरा पनि राखिएका छन्।
सीसीक्यामेराको निगरानीबाट विद्यार्थीलाई अनुशासनमा राख्न र उनीहरूको हराएको सामान फेला पार्न सहयोग पुगेको प्रधानाध्यापक तथा शिक्षक बताउँछन्। यस्तै, उनीहरूको भनाइलाई मान्ने हो भने, सीसीक्यामेरा राखेपछि शिक्षकहरू पठनपाठनमा सजग हुने र कक्षाकोठामा समयमा जाने गरेका छन्।
नन्दी माध्यमिक विद्यालय, काठमाडौँकी प्रधानाध्यापक गीता काफ्ले भन्छिन्, ‘विद्यार्थीले हल्ला गरे भने हेड टिचरले हेरिरहनुभएको छ भनेर कक्षा कन्ट्रोल गर्न शिक्षकलाई सजिलो हुन्छ। सीसीक्यामेरा छ भनेर शिक्षक कक्षाकोठामा सजग हुन्छौँ। अनुगमन र सुपरिवेक्षण गर्न सजिलो हुन्छ। अनुशासन कायम हुन्छ।’
प्रशासकले सीसीक्यामेराबाट हेरिरहेका छन् भनेर शिक्षण सिकाइमा बेवास्ता नगरी ध्यान दिन थालेको शिक्षकहरू पनि स्वीकार्छन्। एक शिक्षक भन्छिन्, ‘प्रअले हेरिरहनुभएको छ भनेर शिक्षक शिक्षण सिकाइ प्रक्रियामा सजग हुन्छन्। अर्को फाइदा भनेको सामान हरायो भने विद्यार्थी आफैँ सीसीटीभी हेरौँ भनेर आउँछन्। हराएको सामान भेटिन्छ।’
तर, सीसीक्यामेरामा जोकोहीको पहुँच हुने गरेकोमा भने उनको असन्तुष्टि छ, ‘हेड टिचरले आफ्नो कोठाबाट मनिटर गरिरहेका हुन्छन्। तर, त्यहाँ जसले पनि हेर्न पाउने हुँदा गलत अभ्यास पनि भइरहेको हुन्छ। प्रशासन यसबारेमा गम्भीर हुनु पर्छ।’
ती शिक्षक भन्छिन्, ‘विद्यार्थी चकचक गर्दा फलानोले कक्षा नियन्त्रण गर्न सकेन भनेर कोही शिक्षक खिसीट्युरी गर्छन्। कोही सिधै कक्षाकोठाभित्र छिर्छन्।’
उनले अनुभव सुनाइन्, ‘सीसीटीभी हेरेर एकजना शिक्षक मेरो कक्षामा आए र वास्तविकता नबुझी एक विद्यार्थीलाई हल्ला गरेको भनेर बेस्सरी गाली गरे।’

बुढानीलकण्ठ स्कुल, काठमाडौँका शिक्षक मेघविलाश भट्टको विचारमा सीसीक्यामेरा कक्षाकोठामा राख्नु उपयुक्त होइन। आफ्नो स्कुलमा सुरक्षाको दृष्टिकोणले करिडोरतिर भने राखिएको उनी बताउँछन्।
‘शिक्षण सिकाइ प्रक्रिया हुने कक्षाकोठामा चाहिँ राख्नु उपयुक्त हुँदैन,’ उनी प्रस्ट्याउँछन्, ‘शिक्षण र सिकाइ दुवै प्राकृतिक र स्वतःस्फूर्त रूपमा भयो भने मात्र दिगोपन हुन्छ, निगरानीमा हुँदैन । विद्यार्थीको आनीबानी अध्ययन गर्नु र व्यवहार परिवर्तनमा सहयोग गर्नु शिक्षणकार्यको प्रक्रिया हो।’
अधिवक्ता बाबुराम अर्याल पनि कक्षाकोठामा सीसीटीभीको निगरानीमा सृजनशील सिकाइ हुँदैन भन्नेमा जोड दिन्छन्, ‘नियन्त्रणमुखी वातावरणमा शिक्षक र विद्यार्थीबीच खुलेर अन्तरक्रिया हुँदैन। बालबालिकालाई नयाँ र सृजनात्मक ढंगबाट सोच्न सकिने बनाउन सकिँदैन। मेसिनले नियन्त्रण गरेर सर्वाङ्गीण विकास हुँदैन। विद्यार्थीको व्यवहार, आचरण परिवर्तन हुँदैन।’
सीसीक्यामेराको निगरानीबाट चकचक गर्ने, उपद्रो गर्ने वा विद्यार्थीले उमेरअनुसार गर्ने कतिपय व्यवहार निर्मूल नभएको प्रअ तथा शिक्षक स्वयं पनि स्वीकार्छन्। साथै शिक्षण सिकाइ र विद्यार्थीको नतिजामा उल्लेखनीय सुधार नभएको उनीहरूको स्वीकारोक्ति छ।
अधिवक्ता अर्याल भन्छन्, ‘सकारात्मक व्यवहारका लागि शिक्षकले प्रेरित गर्ने हो, गर्नु पर्छ। शिक्षक समयमा कक्षाकोठामा जान सीसीक्यामेरा चाहिँदैन। बच्चालाई पनि चाहिँदैन। चाहिएको कसलाई हो? प्रशासक/व्यवस्थापकले सीसीक्यामेरामा जोड दिनुभन्दा आफ्नो व्यवस्थापन क्षमता विकास गर्नु पर्छ।’
सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार यसको प्रयोगको एउटा उद्देश्य शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउने हो। कार्यविधिमा सीसीटीभीको प्रयोगलाई सार्वजनिक क्षेत्र, व्यापारिक प्रयोजन र निजी प्रयोजनका लागि भनेर तीन वर्गमा वर्गीकरण गरिएको छ। यी तीनै वर्गमा विद्यालय पर्दैन।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐनमा पनि विद्यालयमा सीसीक्यामेरा राख्न पाइने व्यवस्था छैन। वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ मा सार्वजनिक हित, सार्वजनिक सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र सार्वजनिक आवागमनलाई व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयले नजिकको प्रहरी कार्यालयसँग समेत समन्वय गरी सार्वजनिक स्थल वा सवारी साधनमा सीसीटीभी जडान तथा सञ्चालन गर्न सक्ने व्यवस्था छ।
अधिवक्ता अर्याल भन्छन्, ‘कानुनले विद्यालय भनेर कहीँ तोकेकै छैन। सार्वजनिक स्थलमा विद्यालय पर्दैन। विद्यालय सरकारी सेवा उपलब्ध गराउने ठाउँ पनि होइन। कुनै चोक, व्यापारिक कम्प्लेक्स र वित्तीय क्षेत्र पनि होइन। विद्यालय शान्ति क्षेत्र हो। कक्षाकोठामा सीसीक्यामेरा प्रयोग गर्नु अवैध मात्र होइन, अनैतिक पनि हो। संविधानले गोपनीयताको हक दिएको छ।’
सुरक्षाभन्दा पनि विद्यार्थीको व्यवहार र गतिविधिलाई निगरानी गर्न केन्द्रित सीसीक्यामेराको प्रयोगबाट निम्तिन सक्ने परिणामका बारेमा विद्यालयले ध्यान दिएको पाइँदैन। निगरानीभन्दा सहयोगी र प्रेरित वातावरण वा अरू विकल्प हुन सक्छन् कि भन्नेमा ख्याल नगरिएको देखिन्छ।
जस्तो, साथीको सामान लिने विद्यार्थीलाई चोर भनेर सारा कक्षाले बेइज्जत गर्न सक्छन्। शिक्षकले नै विद्यार्थीलाई अपराधीसरह व्यवहार गरेको पनि पाइएको छ। एक विद्यालयको स्टाफ रुममा राखिएको स्यानिटरी प्याड छात्राले तोकिएभन्दा बढी लिइछन्। त्यहाँ सीसीक्यामेरा राखिएको रहेछ। शिक्षकले उनलाई प्याड चोरेको भनेर कक्षामा भनेपछि छात्रामा निकै तनाव पैदा भएको थियो।

त्यस्तै, किशोरावस्थाका विद्यार्थीको दृश्य रेकर्ड हुँदा समस्या आउन सक्ने कतिपय शिक्षक बताउँछन्। विद्यार्थी एक-अर्कासँग नजिकिएको भिजुअल अभिभावकलाई देखाइदिने गरेको समेत पाइएको छ।
कक्षाकोठा र स्टाफ रुममा सीसीक्यामेरा जोडिएका केही विद्यालयका शिक्षकसँग कुराकानी गर्दा उनीहरू आफैँ पनि पढाउँदा असहज महसुस गर्छन्। स्टाफ रुममा क्यामेरा राख्दा शिक्षकमाथि प्रशासनले विश्वास नगरेको उनीहरू ठान्छन्। यसले गर्दा अविश्वासको वातावरण सृजना भएको पाइन्छ।
कतिपय विद्यालयमा सीसीक्यामेराको एक्सेस प्रधानाध्यापकबाहेक सहायक प्रअ र अरूलाई पनि दिइएको हुन्छ। उनीहरूले आफ्ना निजी मोबाइलमा कनेक्ट गरी विद्यालय बाहिरबाट पनि हेर्न सक्छन्।
अधिवक्ता अर्याल भन्छन्, ‘फुटेजको एक्सेस लिनेले बालबालिकालाई गलत बाटोमा लान सक्छन्। आधिकारिक मान्छे को हो? स्कुलहरूले यस सम्बन्धमा कुनै नीति बनाएका छन्? कुनै नियमावलीमा टेकेका छन्? पसलमा गई लिएर आयो, राख्यो। अधिकांशको अभ्यास यस्तै छ।’
बालबालिका कसरी जोखिममा पर्न सक्छन् भन्ने सम्बन्धमा अर्याल उदाहारण दिन्छन्, ‘एक किशोरी स्कुलबाट घर फर्कँदा बाटोमा जंगल पर्दो रहेछ। एक शिक्षक पनि सँगै फर्कँदा रहेछन्। ती शिक्षकले सुरुमा सामान्य फोटो खिचेका रहेछन्। पछि अरू तस्बिर पनि खिचे र बालिकालाई ब्ल्याकमेल गर्न थाले– मैले भनेको मानेनौ भने सार्वजनिक गरिदिन्छु भनेर। ती बालिका उसले भनेको मान्न थालिन्। यो मुद्दा बलात्कार र विद्युतीय कारोबार ऐनअन्तर्गत पनि चल्यो।’
विद्यालय वा कक्षाकोठामा सीसीक्यामेरा प्रयोग सम्बन्धमा कानुनी व्यवस्था के छ? यसमा के सुधार आवश्यक छ? कस्तो अवस्थामा शिक्षक वा विद्यार्थी कानुनी उपचारमा जान सक्छन्? अधिवक्ता बाबुराम अर्यालसँग नेपालखबरले गरेको भिडिओ कुराकानी–

प्रतिक्रिया