एघारौँ महाधिवेशन उद्घाटन गरेको नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक सुरु भएको छ।
आज (आइतबार) बिहान काठमाडौँको भृकुटीमण्डमा बन्दसत्र सुरु गर्नुअघि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। बैठक बिहान ११ बजेतिर सुरु भएको हो।
शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोह सम्पन्नपछि आज बिहानै भृकुटीमण्डपमा बन्दसत्र सुरु गर्ने भनेको एमालेले अचानक केन्द्रीय कमिटीको बैठक बोलाएको हो।
सुरुमा बिहान ९ बजे केन्द्रीय कमिटी बैठक राखेर दिउँसो १२: १५ बजे बन्दसत्र थाल्ने भनिएकामा अध्यक्ष केपी शर्मा ओली आउन ढिला गर्दा केन्द्रीय कमिटीको बैठक नै २ घण्टा पछि सरेको हो।
महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार साँझ बसेको सचिवालय बैठकमा पदाधिकारीसहित केन्द्रीय समितिको सदस्य संख्या बढाउन विधान संशोधनको प्रस्ताव पेस गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको विरोधले ‘ब्याक’ भएका अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय कमिटी बैठकमा त्यही प्रस्ताव दोहोर्याउने अनुमान गरिएको छ।
यस्तै ईश्वर पक्षले मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पनि असहमति जनाएको छ।
Shares

प्रतिक्रिया