गत असारको कुरो हो। विमोचन दवाडीलाई अनिश बुढाथोकीले एक फिल्मको अडिसन दिन बोलाए। विमोचनले यसअघि केही फिचर फिल्मको लागि पनि अडिसन दिइसकेका थिए। तर, छनोट हुन सकेका थिएनन्। त्यसैले अडिसनमा छानिनेमा उनी खासै आशावादी थिएनन्। अझ मुख्य भूमिका पाउँला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा।
तर, यसपटक अप्रत्याशित भयो। उनी अडिसनबाट छानिए, त्यो पनि केन्द्रीय भूमिकामा। र, फिल्म थियो ‘झरीपछिको इन्द्रेणी’। स्क्रिप्ट पढ्दा मुख्य पात्र भन्ने थाहा पाएपछि झसङ्ग भएको सुनाउँछन् उनी।
‘यो क्षेत्रमा आएको २/३ वर्ष भइसकेको थियो। धेरै फिल्मको अडिसन दिए पनि सेलेक्ट भएको थिइनँ। त्यसैले खासै आशा थिएन। अडिसन दिएर घर फर्केँ। फेरि दुइटा भिडिओ बनाएर पठाऊ भन्नुभयो। एकदुई दिनपछि त बोलाएर स्क्रिप्ट पढ्न भन्नुभयो,’ उनले सुनाए, ‘त्यसपछि बल्ल थाहा पाएँ, मेरो त लिड क्यारेक्टर रहेछ भन्ने। अझ ठूलो फिल्म रहेछ। त्यतिबेला म झसङ्ग भएँ। निकै प्रेसर फिल भयो। तर, अर्जुन सरले नियाल्दै जानुभयो। उहाँले मन पराएपछि डेब्यु पक्का भयो।’
फिल्ममा विमोचन आफ्नै उमेरको युवकको भूमिकामा देखिएका छन्। जसको प्लस टु सकेसँगै विदेश जाने सपना हुन्छ। अहिलेका धेरै युवाको साझा सपना पनि यही हो। त्यसैले आफूलाई पात्रमा ढाल्न सहज भएको सुनाउँछन् उनी।
‘क्यारेक्टर एकदमै रिलेट भयो। मलाई लाग्छ, यो कथा सबैलाई रिलेटेबल हुन्छ। त्यो क्यारेक्ट मेरो एकदमै नजिक छ। म पनि त्यही फेजबाट गुज्रिएको थिएँ। त्यही भएर क्यारेक्टरको भावना चित्रण गर्न एकदम सहज भयो,’ उनले भने।

हुन त विमोचनलाई विदेश जान रहर कहिल्यै लागेन। तर, घरपरिवार र वरिपरिको माहोलले कहिलेकाहीँ उनको मनभित्र के गरौँ भन्ने द्वन्द्व चल्थ्यो। कलाकारितामा लागे पनि काम पाउने गाह्रो थियो। त्यसबखत पनि विदेश जाऊँ कि कलाकार बनौँ भनेर द्विविधा चलेको उनले सुनाए।
सिने जगतमा नयाँ अनुहार भए पनि फिल्मसँग विमोचनको साइनो पुरानै छ। लमजुङमा जन्मेका विमोचनको हुर्काइ काठमाडौँमा भयो। ५ वर्षको उमेरमा काठमाडौँ आएका उनलाई सानैबाट फिल्ममा रूचि थियो। त्यसैले किताबभन्दा धेरै समय उनी फिल्म हेरेर बिताउँथे। कयौँ पटक त उनी रातभरि फिल्म हेरेर बिहान स्कुल समेत गएका छन्। त्यतबेला उनी कोरियन, हलिउड र बलिउड फिल्महरू हेर्थे।
फिल्मको किरो भए पनि उनको परिवार कलाकारिता पृष्ठभूमिको थिएन। जसकारण उनलाई यो क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने थियो। साइन्स लिएर उनले प्लस टु त गरे। तर, उनको मन भने फिल्मतिरै ढल्किएको थियो।
विमोचन सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछानेको अभिनयबाट प्रभावित थिए। उनको मनपर्ने अभिनेत्री भने स्वस्तिमा खड्का हुन्। उनी हिरोभन्दा पनि आफूलाई कलाकारको रूपमा हेर्न चाहन्थे। त्यसैले सुरूमा उनले अभिनय सिक्ने सोच बनाए। कान्तिपुर फिल्म एकेडेमी ज्वइन गरे। त्यहाँ उनको भेट संजोक रसाइलीसँग भयो। उनलाई भेटेपछि बिस्तारै फिल्मप्रतिको चासो अनुरागमा परिणत हुन थाल्यो।
‘क्लास लिएपछि जीवनको उदेश्य भेट्न थालेँ। जिन्दगीमा केही गर्नु छ भने यसै फिल्डमा गर्नुछ। अरूले जे भनोस् म चाहिँ अभिनय नै गर्छु भन्ने लाग्यो। केही प्रोजेक्टमा काम गरेँ। पछि एक्टर्स हब पनि ज्वइन गरेँ। त्यहाँबाट सडक नाटकहरू गरेँ,’ उनले भने।
त्यसपछि भने उनी निरन्तर चलचित्र क्षेत्रमै लागिरहे। कहिले सर्ट फिल्म खेले त कहिले फिल्ममा सानो रोलमा झुल्किए। पर्दापछाडि पनि थुप्रै काम गरेको अनुभव उनीसँग छ। ‘के घर के डेरा: घर नं २’ मा उनी सानो भूमिकामा देखिएका थिए। जहाँ गाउँदेखि आएका उनले आर्यन सिग्देलको लागि अचार ल्याइदिन्छन्।
त्यस्तै, उनी सर्ट फिल्म ‘कोठा नम्बर शून्य’ मा पनि मुख्य भूमिकामा देखिए। पाँच महिनाअघि युट्युबमा सार्वजनिक यस सर्ट फिल्मबाट विमोचन नोटिसमा परे। त्यही फिल्म हेरेर अनिशले अडिसन दिन बोलाएको सम्झिन्छन् उनी। अनिश ‘झरीपछिको इन्द्रेणी’का असिस्टेन्ट डाइरेक्टर समेत हुन्।
हुन त एकदिन मुख्य भूमिका खेल्छु भन्ने विमोचनको सपना थियो। तर, यति चाँडै पाइएला भन्ने सोचेका थिएनन्। जसकारण उनी आफूलाई भाग्यमानी ठानिरहेका छन्।
‘एकदिन मुख्य क्यारेक्टर गर्छु भन्ने लोभ त थियो। तर, यति चाँडै पाउँछु भन्ने आशा थिएन। कसैले यसरी अवसर दिन्छ होला भन्ने लागेको थिएन। तर, भाग्यवश पाएँ,’ उनले भने, ‘ठूलो ब्यानरबाट डेब्यु गर्ने पाउँदा सुरुमा गाह्रो भयो। तर, मन परेको फिल्ड भएकाले जसरी नि गर्छु भन्ने लागेको थियो। क्यारेक्टर एकदम राम्रो र मन छुने छ। पात्रको निकै लोभ लाग्यो। त्यसपछि स्क्रिप्ट र चरित्र निर्माणमै लागेँ। सरले भनेजस्तै गर्न थालेँ र काम गर्दा सहज हुँदै गयो।’

विमोचनका अनुसार फिल्ममा विदेश जाने सपनाको कथा छ।
‘अहिलेको समाजमा जे भइरहेको छ, त्यसैलाई पर्दामा ल्याउन खोजेको हो। जहाँसम्म लाग्छ यो क्यारेक्टर सबैलाई रिलेट हुन्छ। किनकि अहिले त जसलाई सोधे पनि १२ पछि कहाँ भन्दा विदेश भन्ने जवाफ आउँछ। जान मन नभए पनि बाहिरबाट प्रेसर आउँछ। जे होस् अहिलेको जे स्थिति छ, त्यो सुन्दर रूपमा प्रस्तुत भएको छ। घरकै कथा हो। पर्दाको कथा आफ्नै कथाजस्तो लाग्छ। मन छुन्छ। लामो समयसम्म मानसपटलमा बसिरहन्छ,’ उनले नेपालखबरसँग भने।
विमोचनको फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ गतेबाट रिलिज हुँदैछ। फिल्म रिलिजको सँघारमा हुँदा उनी उत्साहितसँगै नर्भस छन्। यद्यपि, आफ्नो पात्रलाई दर्शकहरूले मन पराउनेमा उनी ढुक्क सुनिए।
‘मैले केही कुरामा मेहनत गरेको छु भने त्यो देखिन्छ। यस फिल्ममा सबैको उत्तिकै मेहनत छ। सोसल ड्रामामा इमोसन छ। दर्शक एकचोटि हलमा गइसकेपछि माउथ पब्लिसिटीले नै चल्छ भन्ने विश्वास छ,’ उनले भने।
यो फिल्म सिरियल बनाउँदै आएका अर्जुन घिमिरेको (पाँडे) को डेब्यु निर्देशनमा बनेको हो। यस फिल्ममा विमोचनसहित जेसिका पोखरेलले डेब्यु गर्दैछिन्। जो विमोचनको अपोजिटमा देखिएकी छन्। तर, वर्कसप गरेकाले स्क्रिन सेयर गर्दा सहज भएको उनको भनाइ छ।

Shares

प्रतिक्रिया