राजनीति


‘एमाले सचिवालय बैठकमा दुई कार्यकाल र उमेर हदको कुरा उठ्छ उठ्छ’

‘एमाले सचिवालय बैठकमा दुई कार्यकाल र उमेर हदको कुरा उठ्छ उठ्छ’

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १४:१९, काठमाडौँ

एघारौँ महाधिवेशनको अघिल्लो दिन आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। 

बैठकका प्रमुख एजेन्डा विधान संशोधन र महाधिवेशन तयारीलगायत हुन्। 

गत भदौमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीकै चाहनाअनुसार टुंग्याइसकेको एमाले विधान अहिले फेरि संशोधन गर्ने तयारी गरिएको हो। 

शनिबार सुरु हुने महाधिवेशनमा आफ्नै समूहबाट धेरै जनाले पदाधिकारी बन्ने आकांक्षा राखेपछि नेता व्यवस्थापनका लागि ओलीले नै फेरि सचिवालय बैठकबाट विधान संशोधन गर्न लागेका हुन्। 

विधान महाधिवेशनबाट पारित एमाले विधानले पदाधिकारी संख्या १९ बाट १५ मा झारेको छ। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको आकार घटाउने र केन्द्रीय समितिको सदस्य संख्या पनि ३०१ बाट घटाएर २५१ मा झारिएको छ। 

अहिले फेरि विधान संशोधन गरेर बढाउने तयारी अध्यक्ष ओलीले गरेपछि अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने दुई कार्यकाल र ७० वर्षे उमेर हदको कुरा उठाउने तयारी गरेको छ। 

सचिवालय बैठक सुरु हुनुअघि पोखरेल पक्षीय एक पदाधिकारीले नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै विधान महाधिवेशनबाट पारित विधान फेरि संशोधनको प्रस्ताव ल्याए प्रतिवाद गरिने बताए। 

विधान महाधिवेशनका बेला पदाधिकारी र केन्द्रीय समिति संख्या नघटाउन उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायत केही पदाधिकारीले ओलीलाई आग्रह गरेका थिए। तर त्यसको ३ महिनापछि नै अध्यक्ष ओलीले नेता व्यवस्थापन गर्न सकस भएपछि फेरि विधान संशोधन गरेर संख्या बढाउन खोजेका हुन्। जसले ईश्वरपक्षीय नेता सशंकित भएका छन्। 

एघारौँ महाधिवेशनमा अध्यक्ष उठ्ने घोषणा गरिसकेका वरिष्ठ उपाध्यक्ष पोखरेल प्यानल नै बनाउने तयारीमा छन्। यही कारण अहिले सचिवालय बैठकमा विधान महाधिवेशनताका भनेको कुरा स्मरण गराउँदै असहमति राख्न लागिएको ती पदाधिकारीले बताए। 

‘विधान महाधिवेशनमा वास्तवमा हामीले संख्या नघटाऊँ भनेकै हो। तरअध्यक्षले मान्नुभएन। केन्द्रीय कमिटी, सचिवालयमा अलि क्वालिटी भएका मान्छेहरू परून्, अलि ठूला कमिटी हुँदा भद्रगोल भयो, कमिटी घटाऊँ छोटो, छरितो बनाऊँ भन्दै प्रस्ताव ल्याउनुभयो।अध्यक्षले जोड गर्‍या हुनाले विरोध गरिएन, समर्थन गरियो’, उनले भने।

स्मरण रहोस्, विधान महाधिवेशन र त्यसअघि पार्टीका विभिन्न तहका बैठकमा पनि पोखरेल पक्षले पदाधिकारीमा दुई कार्यकालभन्दा बढी र ७० वर्ष नाघेपछि बस्न नपाइने प्रावधान विधानबाट नहटाउन जोडबल गरेको थियो। तर ओलीलाई फेरि अध्यक्ष बनाउने बाटो खुलाउनकै लागि ती प्रावधान बहुमतबाट पास गरिएका थिए।

तर सचिवालय बैठकमा विधान संशोधनको विषय प्रस्तावका रूपमा आए आफूहरूले पनि हटाइएका अरू विषय उठाउने ती पदाधिकारी बताउँछन्। 

‘विधान महाधिवेशनले पास गरिसक्या कुरा ओपन गर्ने हो भने धेरै विषय उठ्छन्। दुई कार्यकालको कुरा उठ्छ उठ्छ। कसैले उमेर हदको कुरा उठाउला’, ती पदाधिकारीले थपे, ‘ईश्वर पोखरेलबाट अवधारणापत्र भनेर आको छ। त्यस विषयमा कुराकानी होला।’  

केही दिनअघि वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव शंकर पोखरेललाई अवधारणापत्र बुझाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad