ad ad

राजनीति


‘प्रधानमन्त्रीले बहुमत सांसदको हस्ताक्षर जुटाएपनि पार्टीले फिर्ता बोलाउन सक्छ’

‘प्रधानमन्त्रीले बहुमत सांसदको हस्ताक्षर जुटाएपनि पार्टीले फिर्ता बोलाउन सक्छ’

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ११:१७,

नेकपाभित्रको विवाद बहुमत सिद्ध गर्ने खेलमा प्रवेश गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरूको हस्ताक्षर संकलन गरेका छन्। ।

बुधबार साँझ नेकपा सचिवालयको बैठक बस्नुअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू निकट सांसदहरुलाई बालुवाटारमा बोलाएर हस्ताक्षर गराएका हुन्। बालुवाटारस्थित स्रोतहरूले ओलीको पक्षमा नेकपाका बहुमत सांसदले हस्ताक्षर गरेको दाबी गरेका छन्।

‘मलाई तपाईंहरुले संसदीय दलको नेता चुनेको हो र त्यही हैसियतले मैले तपाईंहरुलाई यहाँ बोलाएको हुँ’, प्रधानमन्त्री ओलीले बालुवाटारमा भेला भएका सांसदहरूलाई भनेका थिए, ‘मप्रति विश्वास छ कि छैन, विश्वास छ भने, हस्ताक्षर गर्नुहोस्।’

नेकपाका संघीय प्रतिनिधिसभामा १ सय ७४ सदस्य छन्। संसदीय दलमा बहुमतका लागि ८७ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रधानमन्त्री ओलीले सांसदहरूको हस्ताक्षर गराएको सूचना आएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आफ्नो पक्षका सांसदहरूलाई आवश्यक परे हस्ताक्षर गर्ने गरी तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रचण्ड–नेपाल समूहका २० जना स्थायी समिति सदस्यहरूले लिखित रुपमा बैठक आयोजना गर्न माग गरेपछि प्रधानमन्त्री ओली दबाबमा छन्। पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन खोजिएपछि ओली बैठक टार्दै आफ्नो शक्ति बलियो बनाउने प्रयासमा छन्।

त्यही क्रममा बुधबार साँझ सचिवालय बैठक बस्नुअघि ओलीले संसदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको देखाउन खोजेका हुन्। तर पार्टीकै अर्को पक्षका नेताहरू तथा कानुन विज्ञहरूले सांसदहरूको हस्ताक्षरले शक्ति प्रदर्शन गरेपनि पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई फिर्ता गर्न सक्ने बताएका छन्।

‘सांसदहरूको हस्ताक्षर संकलन गरेर बहुमत देखाउनुको अर्थ छैन। पार्टी कमिटीले निर्णय गरेपछि संसदीय दलमा ठूलै परिवर्तन भैहाल्छ,’ स्थायी समितिका नेपाल पक्षीय एक सदस्यले भने, ‘शक्ति प्रदर्शन गर्न मात्रै हस्ताक्षर संकलन गरिएको हो, सचिवालय बैठकले धेरै विषय स्पष्ट पार्ने छ।’

पूर्व सांसद तथा कानुनविद खिमलाल देवकोटाले पनि संसदीय दलको समर्थन जता भएपनि पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने बताए।

‘मूल त पार्टी हो नि, पार्टीले प्रधानमन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्यो भने त्यो निर्णय त्यो पार्टीबाट सांसद बनेकाहरूले मान्नुपर्छ’, देवकोटाले भने, ‘संसदीय दलले निर्णय गरेर पार्टीलाई निर्देशन दिन सक्तैन तर, पार्टीले निर्णय गरेर संसदीय दललाई निर्देशन दिन सक्छ।’

प्रधानमन्त्री ओली तत्कालीन एमालेको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए। त्यसैगरी तत्कालीन माओवादीतर्फ पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता निर्वाचित भएका थिए। पार्टी एकीकरणपछि ओली संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .