ad ad

समाज


प्रहरी भन्छ: अब लकडाउन लम्बिए अपराध बढ्छ

प्रहरी भन्छ: अब लकडाउन लम्बिए अपराध बढ्छ

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ११:१५,

झण्डै डेढ महिनादेखि जारी लकडाउनका कारण रोजगारी र आयश्रोत गुमेकाहरुलाई राज्यले अन्य विकल्प दिन नसके आगामी दिनमा आपराधिक घटनामा वृद्धि हुने आकलन प्रहरीले गरेको छ।

लकडाउनका कारण आर्थिक समस्या उत्पन्न हुँदा धेरैको रोजगारी गुमेको र उनीहरु अपराधमा लाग्न सक्ने प्रहरीको भनाइ छ।

यस्तो अवस्थामा कतिपय विद्रोही समूहमा समेत संलग्न हुनसक्ने जोखिम रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए।

‘जतिधेरै लकडाउन लम्बियो उति नै अपराध बढ्ने सम्भावना छ,’ उनले भने।

मुख्य गरी आर्थिक समस्याका कारण अपराध बढ्ने उनले बताए।

कोरोना संक्रमणका कारण डेढ महिना लामो लकडाउन घोषणा भएको छ। लकडाउन अझै थपिने सम्भावना छ। दैनिक ज्यालादारी गर्ने श्रमिक बेरोजगार भइसकेका छन्। साना व्यवसायीहरु, नयाँ व्यवसायी र पर्यटन क्षेत्र बढी प्रभावित भएका छन्।

‘उनीहरुको आर्थिक कारोबारमा समस्या हुन्छ, सम्झौता अनुसार भुक्तानी गर्न सक्दैनन्। लेनदेनको सम्झौता समयअनुसार कार्यन्वयन नभइसकेपछि मुद्दा मामिला सुरु हुन्छ,’ डीआईजी पोख्रेलले भने।

यस्तै कतिपय चोरी, डकैती, लुटपाट जस्ता अपराध संलग्न हुने प्रहरीको भनाइ छ।

लकडाउनमा बढ्यो आत्महत्या
लकडाउन सुरु भएकासँगै राजधानीमा आपराधिक क्रियाकलाप कम भएका छन्। महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार लकडाउन सुरु भएपछि उपत्यकाका तीन जिल्लामा २ सय १७ वटा आपराधिक घटना भएका छन्।

काठमाडौंमा १ सय ७७, ललितपुरमा २८ र भक्तपुरमा १२ वटा घटना भएको प्रहरीले जनाएको छ। यी मध्ये आत्महत्या र भवितव्यका घटना बढी छन्। सबैभन्दा धेरै भवितव्यमा परी ६०, ज्यानसम्बन्धी कसुर ४३, बैंकिङ कसुरका ३३ र २२ जनाले आत्महत्या गरेका छन्।

यस्तै जबरजस्ती करणी ८, चोरीका ७ र अभद्र व्यवहारका ६ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

आर्थिक समस्याकै कारण आत्महत्या अझै बढ्न सक्ने पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन्।

‘आर्थिक समस्याका कारण नागरिकको जीवन तनावपूर्ण हुने भएकाले आत्महत्या अझै बढ्न सक्छ। हुने खानेहरु असुरक्षित हुन्छन्,’ मल्लले भने, ‘यस्ता अपराध कम गर्न राज्यले आर्थिक उपार्जनका विकल्प दिनुपर्छ। मान्छेलाई बेरोजगारी रहन दिनु भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .